काठमाडौँ/ सर्वोच्च अदालतको आदेशसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई बाँकेबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।
सर्वोच्च अदालतले आज ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो ।
‘कैद कट्टी गर्नेरकम गर्ने, छोट्याउने वा मिनाहा दिनेजस्ता काम कारबाही र निर्णय गर्दा कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजका अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मञ्जुरी समेत लिई, पीडितलाई सामाजिक पुनस्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरी, यस अदालतको आदेश र प्रतिपादित सिद्धान्तहरुसहित कानुनमा उल्लेख भएका अन्य शर्तहरु समेतको समूचित रुपमा अनुशरण गरी तथा अवस्थाअनुसार सार्वजनिक हित, चासो र सरोकारका विषयतर्फ समेत दृष्टिगत गरी सजाय क मगर्ने वा घटाउने, छुट दिने निर्णय गर्न र यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्र निर्णय गर्नु भनी प्रत्यार्थीहरुका नाममा परमादेश जारी हुने ठहर्छ ।’ आदेशमा उल्लेख छ ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू कुमार चुडाल र सपना प्रधान मल्लको इजलासले शेर्पाका पति चेतन मानन्धरको हत्या गर्ने रिगललाई पुनः थुनामा राख्न आदेश दिएको छ ।





