सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

८ वर्षपछि दोहोरियो विपत्ति, ठूलो जनधनको क्षति, बढ्दो त्रासदी

८ वर्षपछि दोहोरियो विपत्ति, ठूलो जनधनको क्षति, बढ्दो त्रासदी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८०, आइतबार

पोखरा/पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भूकम्पका कारण घाइते हुनेहरुको संख्या शनिबार साँझसम्म १६१ पुगेको छ ।

शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बताए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए ।नेपाल भूकम्पः विगत ८०० वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो ।

उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू खटिएका छन् भने हेलिकोप्टरसमेत परिचालन गरिएको छ । अमेरिकी निकाय यूएसजीएसले उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाभन्दा ४२ किलोमिटर दक्षिण रहेको र त्यसको म्यागनिच्यूड ५.६ रहेको जनाएको छ ।

सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि सबैभन्दा घातक भुइँचालोका रूपमा शुक्रबार रातिको भूकम्पलाई लिइएको छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने, ‘स्थानीय क्षेत्रमा रहेका सबै फौजहरू भूकम्प गएका ठाउँमा खटाइएका छन् । आठवटा प्लाटुन र सुर्खेतमा रहेको हेलिकोप्टर पनि उद्धार तथा खोजमा केन्द्रित छ ।’

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टरसहित सुरक्षाकर्मी खटाइएको बताए ।
उनले भने, ‘अहिलेसम्म सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको विवरण छ । त्यहाँ धेरै घरहरू भत्किएका छन् भने ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या पनि बढी छ ।’
उनले सुर्खेतमा रहेको गणबाट पनि सुरक्षाकर्मी खटाइएको र केन्द्रमा परिचालन हुनका लागि स्वास्थ्यकर्मीहरूको टोली तयार भएर बसेको पनि बताए । स्थानीय समय अनुसार राति ११ः४७ मिनेटमा गएको सो भूकम्पको धक्का राजधानी काठमाण्डूमा पनि महसुस गरिएको थियो । त्यसबाहेक छिमेकी भारतको दिल्लीसहित कतिपय सहरहरूमा पनि उक्त भूकम्पलाई महसुस गरिएको थियो ।
भूकम्पमा परेर जागकोटको नलगाड नगरपालिका–१२ की गीताकुमारी विष्टले एक छोरी गुमाइन् भने उनी पनि घाइते भएकी छन् । अस्पतालमा उपचाररत विष्टले भनिन्, ‘हामी तीन जना आमाछोरी माथिल्लो तलामा एउटै कोठामा सुतेका थियौँ । पहिले जेठी छोरीलाई मैले बाहिर निकालेर तल लगेर उद्धार गरे । सानी छोरीलाई बचाउन सकिएन ।’

‘एक्कासि आयो । मेरो चेत नै हराएको थियो । केही थाहा छैन । वरपर मान्छे कराए । मेरो होटेल नजिकै सशस्त्र प्रहरी थिए । उनीहरू आए । ‘म पनि जिउँदै छु’ भनेर कराएँ । ठूलो छोरीलाई बचाउन सकेँ, सानी छोरीलाई सकिन । १४ वर्षकी थिइ । अहिले उपचार गराइरहेकी छु । दाइने हात र दाइने खुट्टामा चोट लागेको छ । अवस्था ठिकै छ ।’

धेरै घरहरू भत्किएका अधिकारीहरूले जनाएका छन । भेरी अस्पतालमा मात्रै गम्भीर घाइतेहरूको उपचार सम्भव नभए नेपालगन्ज नर्सिङ होम र मेडिकल कलेज कोहलपुरमा समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

राँझास्थित नेपाली सेनाको अस्पताल, नेपालगन्जको प्रहरी अस्पताल र भेरी अस्पतालमा घाइतेहरूको उपचारका लागि १०५ वटा शैया खाली गराइएको अधिकारीहरूले बताएका छन् ।
बिरामीलाई आवश्यक रगतको व्यवस्था गर्नका लागि सुरक्षाकर्मीलाई रक्तदानका लागि तयारी अवस्था राखिएको छ । उक्त भूकम्पको केन्द्रबिन्दु जाजरकोट रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले भूकम्पलगत्तै प्रभावित क्षेत्रमा प्रहरी लगायतका सुरक्षाकर्मीले घाइतेलाई उद्धार गर्ने काम थालेको जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धारका लागि ५६ जनाको टोली पठाइएको छ । प्रहरी अस्पतालबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ हिँडिसकेको डीआईजी ढकालले बताए ।

उनले भने, ‘ठाउँ–ठाउँमा सुक्खा पहिरो गएको हुँदा उद्धारमा कठिनाइ भइरहेको छ । हवाई उद्धारका लागि पनि प्रयासहरू भइरहेको छ ।’
जाजरकोटको छिमेकी जिल्ला जुम्लामा पनि भूकम्पले क्षति पु¥याएका विवरणहरू आइरहेका छन् ।जाजरकोटसँग सिमाना जोडिएको तातोपानी गाउँपालिकाका धेरै घर चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार क्षतिबारे विवरण सङ्कलन गर्न प्रहरी टोली घटना स्थलतर्फ गएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्ड भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका छन् ।

उनले उक्त भूकम्पबाट भएको मानवीय एवं भौतिक क्षतिले मर्माहत भएको र घाइतेहरूको तत्काल उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको उनको समाजिक सञ्जाल फेसबुकको खातामा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीसहित ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको टोली उद्धार, स्वास्थ्य सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ लागेको उनको सचिवालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पु¥याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

‘यो दुःखको घडीमा भारत नेपालसँगै छ र सक्दो सबै सहयोग गर्न तयार छ,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन् ।
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवार–उल–हक काकड ले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन् ।

एशोसिएटेड प्रेस अफ पाकिस्तानले जनाएअनुसार उनले सामाजिक सञ्जालको वेबसाइट एक्स मा राखेका सन्देशमा भनिएको छ, ‘नेपालमा अमूल्य जीउधनको नोक्सान हुने गरी गएको भूकम्पबाट प्रभावितहरू हाम्रो मन र प्राथर्नाहरूमा छन् ।’

उनले भनेका छन्, ‘यस्तो अप्ठ्यारो समयमा पाकिस्तान नेपालको साथमा छ र जे जस्तो सहायता आवश्यक पर्छ त्यसका लागि तयार छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->