काठमाडौं / सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आईतवार विहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए ।
उनका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ ।
खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी दिँदै उनले भने, ‘खाद्यान्न वितरण आजदेखि हुँदैछ । कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने छ ।’
‘घर बनाउनेदेखि लिएर खाद्यान्न, त्रिपाललगायतका व्यवस्थाका बारेमा पनि छलफल भएको छ,’ उनले भने, ‘राहतको कुरा पहिले भन्दा बढाउने भन्ने भएको छ तर सबैको छुट्टाछुट्टै प्रस्ताव रहेकाले निर्णय भएको छैन । खाद्यान्न पनि आजैदेखि पठाउछौँ । तीन दिन भित्रमा कुनै पनि कुराको कमजोरी हुन नदिने र बसोबासको व्यवस्था मिलाउने तयारी गरेका छौँ ।’





