यतिबेला देशैभरका पालिकाहरु वार्षिक सभाको चटारोमा छन् । केहीले सम्पन्न गरेका छन् भने केही प्रक्रियामा गएका छन् । वार्षिक सभाहरु ल्याइएका कार्यक्रम कार्यान्वनयको समीक्षा,नयाँ नीति निर्माणमा केन्द्रीत हुनुपर्छ । बजेट कार्यान्वयन कस्तो छ, जनताले के खोजेका छन् र काम गर्दा उत्पन्न अवरोध कसरी हटाउने भन्ने बाटो पनि सभाले नै खोज्नुपर्छ ।
पालिकाहरुले आयोजना गर्ने वार्षिक सभाहरु कर्मकाण्डी हुँदै आएका छन् । स्थानीय सरकार संचालन ऐनले कति अधिकार प्रदान गरेको छ र ती अधिकार उपयोग भए/भएनन् भन्ने सामान्य समीक्षासम्म पनि सभाहरुले गरेको देखिँदैन । त्यस्तै कति कानून बनाइयो र कति कार्यान्वयनमा आए भन्नेतर्फ पनि खासै ध्यान दिएको पाइँदैन । संघीय र प्रदेश सरकारले अधिकार नदिएको गुनासो गर्ने त स्वयंले पनि बनाएका कानून अनि अधिकार प्रयोग नहुनुलाई सुखद मान्न सकिँदैन ।
देशमा यतिबेला निराशा चुलिएको छ । दैनिक हजारौं युवाहरु रोजगारीको लागि विदेशतिर लाग्दा यो देशमा बसेर केही हुँदैन भन्ने भाष्य निर्माण भएको छ । यो भाष्य बदल्ने पहिलो दायित्व नजिकको सरकारसँग रहेको हुन्छ । नजिकको सरकारले जनताका आवश्यकता,आफ्नो सामथ्र्य अनि गन्तव्य बुझेको हुन्छ । उसले अगाडि सार्ने योजनाबाट समृद्धि,रोजगारी तथा नागरिकका असन्तुष्टिको संवोधन सम्भव हुन्छ । अतः पालिकाहरु परिणामुखी योजना निर्माण अनि कार्यान्वयनमा होमिनुपर्छ ।
व्यावसायिक कृषि तथा पर्यटनबाट रोजगारी सिर्जना सम्भव हुन्छ । वैदेशिक रोजगारले खेत–पाखा बाँझो भए पनि हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा नै निर्भर रहेको छ । तर, नेपालको कृषि कर्मको व्यावसायिकीकरण भएको छैन । निर्वाहमुखी कृषि प्रणालीका कारण वर्षदिन काम गरेर आधा वर्ष खान नपुग्ने अवस्था अद्यावधि छँदैछ ।
अर्कोतिर राज्यले कृषिलाई प्राथमिकतामा राखेको छ । अनुदानदेखि आधुनिकीकरणसम्मका परियोजना संचालन गरेको छ । तर, यी परियोजनाहरु वास्तविक कृषककहाँ पुग्न सकेको छैन । टाठाबाठा तथा शक्तिकेन्द्रसँग नजिक रहेकाहरुले त्यसको दुरुपयोग गरिरहेका छन् । कृषिलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउनेतर्फ राज्यको खासै ध्यान छैन । जग्गा खण्डिकरण भइरहेको छ । कहाँ कुन फसल लगाउँदा प्रतिफल बढी आउँछ भन्नेतिर पनि कसैको ध्यान छैन । यो अवस्था अन्त्यको लागि कम्तिमा पालिकाहरुले कृषिलाई प्राथमिकतामा राखेर योजनाहरु अगाडि सार्नुपर्छ । गाह्रो–साह्रो कहाँ छ भन्ने बुझेर सभाबाट गाँठो फुकाउने प्रयत्न गरिनुपर्छ ।
