बागलुङ/ मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्र प्रताव केसीलाई कालो मोसो दलेको छ । आज (आईतबार) कार्यालय जाने समयमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ समितिले स्वास्थ्य शाखा प्रमुख केसीलाई बिच बाटोमै रोकेर मसो दलेको हो ।
म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै कालोमोसो दलेको पार्टिका जिल्ला इन्चार्ज अजनवीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो ।’
गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै कारबाही गरिएको सो पार्टीले जनाएको छ । कारबाही पत्र सार्वजनिक गर्दै क्रान्तिकारी पार्टीले आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न चेतावनी समेत दिएको छ ।
यता बडिगाड गाँउपालिकाका सुचना अधिकारी थम्मन बहादुर रेश्मीले घटनाको सत्यतथ्य छानविनको लागि प्रहरीसंग सहकार्य भईरहेको जानकारी गराएका छन ।
केही समयअघि बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत वितरण भएको १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरन चक्कीको म्याद गुज्रेको विषयमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि बडिगाड गाउँपालिकाले पत्रकार सम्मेलनगरि त्यसको खण्डन गरेको थियोे । यद्यपि स्वास्थ्य शाखाका कर्मचारीले भने गल्ती स्वीकार गरेका थिए ।





