बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरि अस्पताल : दुईपटक उद्घाटन, काम अझै बाँकी

धौलागिरि अस्पताल : दुईपटक उद्घाटन, काम अझै बाँकी


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८०, शनिबार

बागलुङ/ जिल्लाबाट अञ्चल अस्पतालमा बढोत्तरी भएपछि धौलागिरि अस्पतालमा केही संरचनात्मक सुधार भएका छन् । क्रमशः यो अस्पताल प्रदेश तहको बनिसकेको छ । तर। अञ्चल अस्पतालका लागि सुरु भएका संरचना अझै पूरा भइसकेका छैनन् ।

तत्कालीन जिल्ला अस्पताल बागलुङलाई २०६६ सालमा धौलागिरि अञ्चल अस्पताल बनाइएको थियो । त्यसपछि भवन डिभिजन कार्यालय बागलुङले यहाँ तीनवटा भवन बनाउने ठेक्का लगायो । पहिलो भवन बनेपछि २०६८ साल बैसाखमा तत्कालिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ए ब्लक उद्घाटन गरे ।

सँगैको बी ब्लकको भवन बन्न ९ वर्ष लाग्यो । २०६७ सालमा सक्ने गरी सम्झौता गरेको आशिष मिलेनियम, भीमज्योति, जयबाबा गोरख नयाँबाटो संयुक्त निर्माण कम्पनीले ९ वर्ष ढिलागरी बनाएको बी ब्लक २०७६ असोज २४ गते सकियो । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले पुनः दोश्रो भवन उद्घाटन गरिन् । तर अझै यहाँको तेस्रो भवन सम्पन्न भएको छैन । ‘मिलेनियम विल्डर्स’ निर्माण सेवाले १० करोड रुपैयाँमा ठेक्का लिएको यो भवन अझै नसकिएको हो । जिम्मा अनुसार काम गरेको भए २०६८ सालमै भवन हस्तान्तरण भैसक्नुपथ्र्यो तर ठेकेदारले पूरा नगरेका हुन् ।

तीनतले यो भवनको पहिलो र दोश्रो तलामा झ्याल ढोकासमेत राखिएको छैन । अस्पतालका लागि चाहिने भित्रि साजसञ्जालगायतका काम बाँकी छ । तेस्रो तलामा भने अस्पताल विकास समितिले केही कोठा आफ्नै खर्चमा बनाएर प्रशासन र सभाहल संचालनमा ल्याएको छ । कामको ठेक्का दिएको तत्कालीन भवन डिभिजन कार्यालय हाल सघन सहरी तथा भवन निर्माण कार्यान्वयन इकाइ भएको छ । इकाइ प्रमुख सुनिता श्रेष्ठले काम केही मात्रै बाँकी रहेको दाबी गरिन् ।

‘ठेकेदारले छिटै काम सक्छु भनेका छन्, त्यसैले पर्खेका छौं,’ उनले भनिन्, ‘काम सकिने बित्तिकै अस्पताललाई हस्तान्तरण हुन्छ ।’ चार पटकसम्म म्याद थपेको ठेकेदार कम्पनीले अब भने सक्ने आश्वासन दिएको उनले बताइन् । ‘म्याद त सकिएको छ, काम पनि छिटै सकिनेवाला छ’ उनले भनिन्, ‘काम सकेपछि अन्तिम भुक्तानी दिन्छौं ।’ भवनको अगाडि पार्किङस्थल बनाउने, ग्यारेज लगायतको काम समेत बाँकी रहेको उनले बताइन् । अस्पताल भित्रका कोठाको डेकोरेशन पनि बाँकी रहेकोले कहिले सकिन्छ भन्ने यकिन गर्न भने उनले सकिनन् ।

भवन पुरा नहुँदा बिशेषज्ञ सेवा दिनुपर्ने अस्पतालमा उपचार सेवा समेत प्रभावित हुने गरेको छ । अस्पतालमा अहिले पनि १६ जना विशेषज्ञ डाक्टरसहित २२ को दरबन्दी छ । तर काम गर्ने कोठा, उपकरण नभएको देखाएर कतिपय विशेषज्ञ आएर फर्कने गरेका छन् । अहिले पनि अपरेशन र आइसीयू कक्ष काम चलाउ अवस्थामा छन् । २ सय बेड संचालन गर्ने भनेपनि ल्याइएका बेड स्टोरमा थन्केका छन् ।

लामो समय मेडिकल सुपपिरटेण्डेन्ट कक्षसमेत छाप्रोमा थियो । अहिले पनि अस्थायी रुपमा बनाइएको कोठामा मेसुको काम हुने गरेको छ । ‘आफ्नै भवन पुरा नहुँदा सेवा प्रवाहमा पनि असर पर्ने नै भयो,’ मेडिकल सुपरिटेण्डेन्ट डा. रविरन्जन प्रधानले भने, ‘पर्याप्त भवन बनेपछि मात्र सहज सेवा हुनेछ ।’ आफ्नै अक्सिजन प्लान्ट भएपनि भवन बनिनसक्दा सबै स्थानमा जडान गर्न नसकिएको उनले बताए । मेसु प्रधानको लागि छुट्टै कार्यालय तेस्रो तल्लामा बनाइएको छ । तर ढिला गरी बने पनि अझै सोही भवन बनिसकेर हस्तान्तरण हुने दिनको टुंगो नलागेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->