पोखरा / रौतहटमा एकै अस्पतालबाट तीन जना नक्कली डाक्टर पक्राउ परेका छन्। पक्राउ पर्ने मध्य दुई भारतीय र एक नेपाली हुन्।
रौतहटको यमुनामाई गाउँपालिका-१ सुकदेव चोकमा रहेको सगरमाथा तराई अस्पताल प्रालिमा कार्यरत उनीहरूलाई प्रहरीले फागुन १ गते नै पक्राउ गरी सोमबार मात्र सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माले अनुसार उनीहरुकाे घटनाको अनुसन्धान सकिएपछि मात्र सार्वजनिक गरिएको बताए।
उनका अनुसार पक्राउ पर्ने भारत बिहारको पूर्वी चम्पारण जिल्लाको ढाका थाना वडा नम्बर-१४ का ४५ वर्षीय हसिन अख्तर, बिहारकै पूर्वी चम्पारण जिल्लाको थाना सिकारगंज वडा नम्बर ३ का २७ वर्षीय मो. तबरेज आलम र रौतहटको यमुनामाई गाउँपालिका-२ भेडियाही टोलका २७ वर्षीय कलाम मन्सुरी रहेका छन्।
नक्कली चिकित्सकले जोखिमपूर्ण उपचार गरिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको हो।
नक्कली डाक्टरहरुले अस्पतालमा बिरामीहरूको एपेन्डिस, पायल्स, युट्रेसलगायतका शल्यक्रिया गर्ने गरेको सूचना प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यालय रौतहटको टोली अस्पतालमा पुगेर डाक्टरहरूसँग निर्धारित शैक्षिक योग्यताको प्रमाणपत्रबारे छानबिन गरेको थियो।
फागुन १ मा तीन जनालाई नियन्त्रणमा लिई कागजपत्र माग गरिएको तथा हालसम्म उपलब्ध नगराएकोले रौतहट जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान कार्यलाई थप अगाडि बढाएको प्रहरी निरीक्षक शर्माले बताए।
यस घटना बाहिरिएसँगै रौतहटका अन्य बजार तथा अस्पतालमा पनि नक्कली डाक्टरले उपचार गरिरहेको अनुमान प्रहरीको छ।





