
युक्रेनविरुद्ध युद्धमा नेपालीको सहभागिताले हाम्रो देश अप्ठेरोमा परेको छ । मुलुक तस्करहरुको लागी स्वर्णिम स्थल बनेको छ । विश्वले नेपाललाई त्यही रुपमा चिन्न थालेको छ । नेपालीको रुस युद्धमा संलग्नताले हाम्रो कमजोर कुटनीति पनि उदाङ्गो भएको छ ।
सन् २०२४ विश्वका ६४ देशमा निर्वाचन हुँदैछ । अमेरिका भारतजस्ता ठूला लोकतन्त्र भएका मुलुकहरुसहित रुस, ताइवान,बेलायत, मेक्सिको, दक्षिण अफ्रिका जस्तो ठूलो अर्थतन्त्र भएका कैयन अन्य राष्ट्रहरुमा राष्ट्रपति वा संसदका लागि हुने निर्वाचनबाट विश्वको दिशा र दशा तय हुँदैछ । किनभने,यी चुनाव हुने मुलुकहरुमा विश्वका आधा जनसंख्या बसोबास गर्छन् । युरोपियन संघ जस्तो बलियो संस्थाको लागि संसदीय चुनाव र नेतृत्व गर्ने व्यक्तिहरु पनि चुनिँदै छन् ।
विश्वभरका मुलुकहरुमा ध्रुवीकरण हुने प्रवृत्ति बढिहेको छ । विश्वभर बढेको आर्थिक सुस्तता मन्दीतर्फ उन्मुख देखिँदैछ । अर्कोतर्फ, युद्ध झन झांगिने आशंका बढिरहेको छ । विश्वमा अस्थिरता देखिँदै र बढ्दैछ । लोकतान्त्रिक पद्धतिहरु पतनोन्मुख देखिँदै छ । अतिवाद हावी हँुदैछ । सैन्य क्षेत्रमा गरिने खर्चहरु बढ्दै छ । आर्थिक विकासका गतिहरु सुस्त हुँदैछन् । खाद्यान्न उत्पादनको कमीले खाद्य सुरक्षा संकटमा देखिँदैछ । कृत्रिम वौद्धिकता (एआई) जस्ता नविन उपलब्धिले एकातर्फ विकसित मुलुकहरुमा रोजगारी अवसर कम हँुदैछ भने अर्कोतर्फ अल्पविकसित मुलुकहरुमा लगानीको अभावमा बेरोजगारको संख्या बढ्दै छ । कामको खोजीमा गैरकानूनी र जवरजस्ती रुपमा युरोप÷अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या बढ्दो छ । यसले मानवीय सन्तुलनलाई पनि खतरा उन्मुख गराउँदै छ ।
अर्कोतर्फ, जलवायुको प्रभावले सारा विश्वलाई चिन्तामा पार्दै संकट निम्त्याउँदै छ । समुन्द्री सतहमा आँधी तुफानले बाढी आइरहेको छ, हिमालाहरु पग्लिने क्रम तीव्र छ । हिउँ पग्लने र अत्याधिक हिमपातले जीवन कष्टकर बन्दैछ । पानी कम परेर र वर्षा नभएर जमिनहरु बाँझै रहने तथा जमिनहरु चिराचिरा हुने अवस्थामा पुगेको छ । तापक्रम अत्याधिक बढ्दै छ । त्यसै कारणले जंगलहरुमा भिषण आगलागी हुने क्रम बढिरहेको छ । विपदजन्य गतिविधि बढेको हुनाले राष्ट्रहरु त्यसको सामना गर्न अत्याधिक स्रोत साधन खर्च गर्नुपर्ने स्थिति भएको छ । त्यसमाथि धेरैठाउँमा धेरैपटकको भूकम्पको प्रकोप ज्वालामुखी फुट्ने क्रम बढिरहेको छ ।
यी प्राकृतिक प्रकोपसँग प्रत्यक राष्ट्र सामना गरिरहेका छन् । अर्कोतर्फ मानव स्वयंले सिर्जना गरेका प्रकोपसँग संघर्ष गर्नुपर्ने स्थिति बढ्दै छ । लागुपदार्थको खेतीदेखि यसको विश्वभर ओसारपसार गर्ने क्रम संगठित रुपले बढिरहेको छ । युवाहरुलाई कुलत र दिशाहीन बनाउने कुकर्म बढेको छ । मानव तस्करीको क्रम तीव्रतापूर्वक बढेको छ भने संगठित जालो फस्टाउँदै छ । रोजगारीको नाममा यौजन्जय क्रियाकलापमा संलग्न गराउने काममा अत्याधिक वृद्धि, युद्धकार्यमा संलग्न गराउनेदेखि अवैध गतिविधि र गैरकानूनी कार्यमा अन्य मुलुकका नागरिकलाई संलग्न गराउने काम बढिरहेको छ । यस्तो विषम परिस्थितिमा हामी छौं ।
विश्वमा अस्थिरता बढ्नुमा युद्धहरुको भूमिका महत्वपूर्ण छ । सैन्यशक्ति बलियो भएको मुलुकबाट अर्को देशमा प्रभूत्व र प्रभाव जमाउने क्रममा तीब्रता अनि हतियार संग्रह र आफ्नो बढ्दो सैन्यशक्तिको अहम्ता प्रदर्शनले काम गरिरहेको छ । एसिया महाद्धिपको मध्यपूर्व क्षेत्र, अफ्रिका महाद्धिपको मध्य र लाल सागर क्षेत्र, दक्षिण चीन सागर क्षेत्र, दक्षिण अमेरिकी मुलुकहरुमा लागुपदार्थ र थरिथरीका विद्रोहीहरुका कारणले अशान्त स्थिति देखा पर्दैछ । सबैलाई थाहा छ– युद्ध र अशान्तबाट कत्रो ठूलो क्षति हुन्छ ! देश अस्थिर भयो भने, देशमा तानाशाहहरुले शासन गर्न थाले भने, निषेधको राजनीति भयो भने,आर्थिक असमानता बढ्दै गयो भने, धार्मिक र जातीय द्वन्द्व भयो भने कति ठूलो मूल्य चुकाउनु पर्छ ! तैपनि मुलुक भित्रको राजनीति र अतिवादले गर्दा यस्ता घटनाहरु घटिरहेको छ । नेपाल पनि द्वन्दको कारणले र प्राकृतिक प्रकोपको कारणले गर्दा पछाडी परेको हामी सबैले भोगेका छौं ।
छिमेकी मुलुकहरु बीच स–साना कुराले विवादहरु भइराख्छन् तर कुराकानी र समझदारीबीच समाधान पनि भइराखेको हुन्छ । लेबनान जो हिजो अमेरिकी सहयोगका कारण समृद्ध र सुखी थियो । तर, सिरिया लेवनान, इराक अफगानिस्तान जस्ता मुलुकहरुमा धेरै स्वार्थसमूहको उपस्थितिले कहिले नसकिने द्वन्द्वहरु युद्धको रुपमा परिणत भइरहेको पाउँछौँ । सिरियाको कुरा गर्दा राजधानी दमास्कस वरिपरी भूभागमा सिरिया सरकार उपस्थित भएको देखिन्छ तर अन्य क्षेत्रमा इरान–इराक, टर्की समर्पित समूह अनि उनीहरुलाई समर्थन गर्ने रसिया अमेरिकाको उपस्थिति र हस्तक्षेप निरन्तर देखिन्छ । त्यस्तै जहाँ अमेरिकाले सहयोग गरिरहेको अव्यस्थामा एउटा सुन्दर रमाइलो देशमा गनिन्थ्यो, आज इरान, सिरिया, इजरायललगायतका देशहरुको स्वार्थ कायम रहेको हुनाले जहिले पनि अशान्त नै देखिन्छ । यमन त्यस्तै राष्ट्र हो जहाँ साउदी अरेविया युएइ, इरान समर्थित हुरी समुहको स्वार्थले भिन्दाभिन्दै क्षेत्रमा भिन्दाभिन्दै समूह प्रभावित शासन चलिरहेको छ ।
जसरी लिवियाको पूर्वी र पश्चिमी भागमा छुट्टाछुट्टै सरकार देखिन्छ । सुडान, इथोपिया, सोमालियामा पनि यस्तै अवस्था छ भने कैयन मध्यअफ्रिकी राष्ट्रहरुमा सैनिक सरकारको रुपमा र सैनिक सहयोगको रुपमा तानाशाहरुले कयैंन वर्षदेखि शासन गरिरहेको छ । आज प्राकृतिक स्रोत साधन सम्पन्न खासगरी खनिज सम्पदामा धनी महादेश अफ्रिका प्रायः मुलुकहरु अत्यन्तै गरिबी र पछौटे देशको रुपमा बाँच्नु परेको अवस्था छ ।
यो हुनुमा बाह्यराष्ट्रको शक्ति संघर्ष आ–आफ्नो स्वार्थ, जातीय विभाजन र आतंकवादी गतिविधिहरु कारण हुन् । रुसले युक्रेनमाथि आक्रमण गरेको तेस्रो वर्ष भएको छ । शक्तिशाली रुसले ५÷६ वर्ष अगाडी युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई आफ्नो मातहतमा ल्याएपछि बढेको तथा युक्रेनलाई एक महिनामा नै आफ्नो नियन्त्रणमा ल्याउने रुसको घोषणाले सफलता पाउन नसक्दा रुस लज्जितसँगै आक्रोशित छ । अमेरिकालगायत पश्चिमी राष्ट्रको सैनिक र आर्थिक सहयोग पाइरहेको युक्रेन रुसको आक्रमणलाई निस्तेज पार्न संघर्षरत छ । यो युद्ध अझै लम्बिने अवस्था देखिन्छ । किनभने, युक्रेनको हार भयो भने युरोपियन युनियनमाथि ठूलो संकट आउन सक्ने आंकलन छ । त्यसैले युरोपियन, अमेरिकासहित नाटो संगठन जस्तोसुकै सहयोग दिएर युक्रेनलाई साथ दिन तयार देखिन्छ । त्यो शक्ति रुसलाई नाकावन्दी लगाएर भए पनि दबावमा राख्न चाहन्छ ।
अर्कोतफर्, इजरायल र प्लालेस्टाइन क्षेत्रमा रहेको हमास समूहबीचको द्वन्द्व युद्धमा परिणत भएको ४ महिनाभन्दा बढी भइसकेको छ । हमास समूहले इजरायलीहरुको ठूलो संख्यामा हत्या र अपहरण गरी गाजा क्षेत्रमा लागिसकेपछि इजरायलले सुरु गरेको प्रत्याक्रमणले गाजा क्षेत्र तहसनहससहित प्यालेस्टाइनीहरुको अवस्था दयनीय बनेको छ । हमासलाई इरान,यमनी, लेवनानी विद्रोहीले साथ दिइरहेको हुनाले पनि यो लडाइँ लम्बिने देखिन्छ ।
त्यसमाथि लालसागरबाट स्वेज नहरको बाटो हुँदै अन्तर्राष्ट्रिय व्यापारको लागि आवतजावत हुने ठूला पानीजहाजहरुमा आक्रमण गरी अवरोध गर्ने कार्यमा यमनी विद्रोहीहरु संलग्न रहेका छन् भने सोमालियाका समुन्द्री डाँकाहरु पनि सम्पत्ति लुट्ने काममा सक्रिय छन् । यस कार्यलाई हस्तक्षेप गर्न अमेरिकी र बेलायती सरकारहरुले हुथी विद्रोहीहरुमाथि आक्रमण गरिरहेका छन् । उता दक्षिण चीन सागरको ठूलो क्षेत्रमा चीनले हवाइ अड्डासहित जलसेना तैनाथ गरेपछि भियतनाम, फिलिपिन्स जस्ता मुलुकहरुले हाम्रो सामुन्द्रिक सीमाना उल्लंघन गरी टापुहरुमा कब्जा जनायो भन्दै विरोध गरिरहेका छन् । बेलाबखत जहाज र डुङ्गाहरु एक आपसमा भिडन्त भइरहेको छ ।
यस कार्यलाई रोक्न अमेरिकी जलपोत त्यस क्षेत्रमा तैनाथ गरेपछि तनाव बढिरहेको छ । यही बेला उत्तर कोरिया चाहिँ बारम्बार आफ्नो परमाणु शक्तिलाई प्रदर्शन गर्दै दक्षिण कोरिया र जापानजस्ता छिमेकीहरुलाई तसाउँदै लामो दूरीको मिसाइलहरु प्रक्षेपण गर्ने काम गरिरहेको छ । चीन ताइवान आफ्नो भू–भागमा हो भन्दै बाह्य सहयोगको विरोध गर्दै सैनिक अभ्यास साथै बमवर्षक जहाजहरु ताइवानको भूमिमा उडान गर्दै सीमा उल्लंघन कार्यलाई तीव्रता दिइरहेको छ । यस्ता घटनाहरुले विश्वलाई अस्थिरतातर्फ उन्मुख गराइरहेको छ । उसै पनि विश्वमा घट्ने घटनाहरुले सबै देशलाई प्रभावित पारिरहन्छ ।
अन्तर्राष्ट्रिय व्यापारमा कुनै अवरोध भयो भने विश्वको वस्तुहरुमा मूल्य बढ्ने क्रम हुन्छ । प्रविधिहरु हस्तान्तरण हुने क्रममा अवरोध भइरहेको छ । मानिसहरुको आवतजावतमा अवरोध भइरहेका मुलुक विशेषको सम्पत्ति र पैसाहरु रोक्का गर्नै क्रम बढ्दो छ । अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने क्रममा ह्रास भइरहेको छ । अर्थ व्यवस्था प्रभावित हुने क्रम बढिरहेको छ । सबै देशको रक्षा खर्चमा बढोत्तरी भइरहेको छ । यसले गर्दा उत्पादनभन्दा अनुत्पादक खर्च बढ्ने क्रम, शान्ति खल्बलिने क्रम, वार्ता र छलफलमा असमझदारी बढेर टुंगोमा पुग्न नसकेको अवस्था सिर्जना भइरहेछ । यही क्रम बढ्दै जाने हो भने देशहरु बिच ध्रुवीकरण हुँदै जाने कित्ताकाट भइ झन बढी दुश्मनी बढ्ने, हातहतियारको खरिद–बिक्री झन बढ्दै जाने अनि अविकसित मुलुकका गरीबहरुलाई मानवीय सहयोग उपलब्ध हुने क्रममा कमी आइ भोकमरी, स्वास्थ्यसेवा अभाव, आश्रयस्थल अभाव हुने क्रम बढ्ने छ ।
संयुक्त राष्ट्रसंघ (जसमा विश्वका प्रायः सबै मुलुकहरु सदस्य छन् )को भुमिका प्रभावकारी बन्न सकेको छैन । जसरी निष्पक्षता, निडर, निर्भिक भूमिका हुनुपर्नै थियो, त्यो हुन नसकेको आरोप लागिरहेछ । ५ वटा भिटो अधिकारप्राप्त मुलुकहरुको रजगजको कारणले निर्णय कार्यान्वयन हुन नसक्ने अवस्थामा छ । संयुक्त राष्ट्रसंघअन्तर्गतका संस्थाहरुमा कार्यरत मानिसहरु कुनै एक पक्षमा झुकाउ राख्ने आरोप लागिरहेको छ भने खाद्यान्न खरिद र वितरणमा धांँधली गरिरहेको आरोप पनि लगाइरहेको देखिन्छ । देखिएका समस्या समाधान वा मत्थर गर्न युद्ध रोक्ने वा बिराम गर्न दुई पक्ष वा बहुपक्षीय देशहरुको भूमिका प्रभावकारी देखिन थालेको छ । यसले पनि संयुक्त राष्ट्र संघ देखाइने संस्थाको रुपमा चिनिन थालेको छ ।
विश्वमा बढ्दो अस्थिरताको सबैभन्दा ठूलो प्रभाव नेपालजस्ता सानो अर्थतन्त्र भएका विकासोन्मुख मुलुकलाई पर्न जानेछ । विश्वमा देखापर्ने आर्थिक मन्दी वा कम आर्थिक वृद्धिदरले नेपालजस्तो विप्रेषणमा भर पर्नुपर्ने मुलुकलाई प्रभावित गर्छ नै ।
तसर्थ, नेपालको राष्ट्रिय सुरक्षा नीति र कुटनीतिक क्षमतालाई संतुलित ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता छ । नेपालको नियमन गर्ने क्षमताको कमजोरीको कारण रुसको सैनिक भएर युक्रेनविरुद्ध युद्धमा समेत नेपाली सहभागी भएको घटनाले हाम्रो देश अप्ठेरोमा परेको छ । हाम्रो मुलुक तस्करहरुको लागी स्वर्णिम स्थल बनेको छ । विश्वले नेपाललाई त्यही रुपमा चिन्न थालेको छ । नेपालीको रुस युद्धमा संलग्नताले हाम्रो कमजोर कुटनीति पनि उदाङ्गो भएको छ । सरकारमा बस्नेहरुले गम्भीरतापूर्वक यो कुरा मनन गर्न जरुरी छ । भ्रष्टाचार हुने देशको सूचीमा नाम समावेश भइराख्दा, नेपाली पासपोर्ट झनझन कमजोर हुँदासम्म देशको इज्जत बढ्दैन । देशमा सुशासन र कानूनी राज्य व्यवस्थालाई कायम गर्न सक्यौँ भनेमात्र चुनौती सामना गर्न सकिनेछ । अन्यथा, अस्थिरताको खाडलबाट मुक्ति मिल्नेछैन ।
(मुल्मी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष,सुशासनकर्मी एवं स्वतन्त्र आर्थिक÷सामाजिक विश्लेषक हुन् । )





