काठमाडौं \ नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् ।
शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन । उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो ।
नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाएको छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै नेकपा माओवादी (केन्द्र)ले नुवाकोट–१ बाट निर्वाचित सांसद हितबहादुर तामाङलाई अघि सारेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बनेका छन् । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए ।





