काठमाडौं / नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे लिखित सहमति भएको छ । सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो । उपाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी दिने भएको छ ।
हाल राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छैन । माओवादी केन्द्रबाट निर्वाचित उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष छिन् । माओवादी केन्द्रले अर्याललाई राजीनामा गराएर अध्यक्ष लिने भएपछि उपाध्यक्षमा एमालेले उम्मेदवारी दिने भएको छ ।
यसअघि राष्ट्रिय सभाको अध्यक्षमा एमालेबाट निर्वाचित गणेशप्रसाद तिमिल्सिनाको आइतबार पदावधि सकिएको छ । गठबन्धनमा सहमतिपछि माओवादी केन्द्रले उपाध्यक्ष अर्याललाई राजीनामा गराएर अध्यक्षमा उम्मेदवारी दिने भएको हो । राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्ष एकै दलबाट हुन नपाउने व्यवस्था छ ।






