शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

यी हुन् आज नियुक्त भएका ४ दलका मन्त्रीहरु

यी हुन् आज नियुक्त भएका ४ दलका मन्त्रीहरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८०, बुधबार

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । माओवादीका संस्कृति, नागरिक तथा पर्यटन उड्डयन मन्त्री हितबहादुर तामाङले सोमवार नै शपथ लिएका थिए । २० सदस्यीय मन्त्रीमण्डलमा माओवादीबाट ५ जना मन्त्री भएका छन् ।

सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) का तर्फबाट नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरि उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले यसअघि नै शपथ लिएका थिए । एमालेबाट ८ जना मन्त्री भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नवनियुक्त मन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले यसअघि नै शपथ लिएका थिए । रास्वपाबाट ४ जना मन्त्री बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीद्वय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थित थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गरेका हुन् । नवनियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->