बागलुङ/बागलुङ बजारको मरेपिपलमा तरकारी तथा फलफुको व्यापार गर्ने शंंकर रेग्मीले बाह्रै महिना पर्वतको नाङलीवाङको तरकारी बेच्छन् । हिउँदमा रायोको साग होस् वा बर्षामा घिरौंला, उनको फसलमा नाङ्लीबाङको ताजा तरकारी पाईन्छ ।
पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा बाह्रै महिना तरकारी फल्छ । कुश्मा बजार, बागलुङ सदरकुमाम र म्याग्दीको बेनी बजार पुग्न उत्तिनै समय लाग्थ्यो । ठुलो बजार, मुल्यसमेत पाईने भएकाले यहाँका किसानले तरकारी बागलुङ बजारमा ल्याउँथे । तर कालिगण्डकीले खोँच बनाएर छुट्टाएको बागलुङ बजार र नागलीवाङको पैदल यात्राको दुरी झण्डै साढे दुई घण्टा र सवारीकै प्रयोग गर्दा एक घण्टा लाग्ने ।
कालिपारी उत्पादन र कालिवारीका उपभोक्ता छुट्टाएर बगेको कालिगण्डकी पार गरेर घण्टौं डोको बेकेर बजार आउने यहाँका किसानको अब भने दैनिकी फेरीएको छ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएपछि उनीहरुको दैनिकी फेरिएको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ नागलीवाङको ओडारे जोड्ने गरी कालीगण्डकीमाथि ५२३ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो ।
‘अहिले पनि गाडीमा तरकारी आउँथ्यो, आलु, बन्दा र काउली धेरै फल्ने र झट्ट नबिग्रिने तरकारीलाई समस्या थिएन्’ तरकारी व्यवसायी शंकर रेग्मी भन्छन् ‘पुल बनेपछि किसानले एक मुठो साग पनि सजिलै बजार पु¥याउन सक्छन् ।’ भरिया लगाएर तरकारी ल्याउँदा लाग्ने समय र खर्च दुवैको बचत भएको रेग्मीले बताए ।
लामा र अग्ला झोलुंगे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि ५ सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण भइसकेको छ । ७ करोड लागतमा उक्त झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए ।
‘पुलबाट वारिपारि गर्न थालेको केही दिन भयो । निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन भने भएको छैन,’ उनले भने, ‘पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ । यसअघि यहाँका नागरिक आउजाउ गर्न घण्टौं लाग्नेमा अब १० मिनेट लाग्नेछ ।’





