शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सांसद मनाङेले छाडे समाजवादी, स्वतन्त्र हैसियतमा रहने

सांसद मनाङेले छाडे समाजवादी, स्वतन्त्र हैसियतमा रहने


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८०, सोमबार

पोखरा/गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी त्यागेका छन् ।
मनाङ ‘ख’ बाट स्वतन्त्र हैसियतमा निर्विरोध निर्वाचित मनाङे चुनावपछि २०७९ मंसिर १९ गते एकीकृत समाजवादीमा समाहित भएका थिए । तर, केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदल र नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको सरकार अल्पमतमा परेपछि उनले आफूलाई पुनः स्वतन्त्र हैसियतमा उभ्याएका हुन् ।
मनाङेले समाजवादी पार्टी त्यागेकाले स्वतन्त्र सांसदकै हैसियता कायम गरिदिन गण्डकी प्रदेश सभा सचिवालयमा पत्र बुझाएका छन् ।
मनाङले पार्टी छाडेसँगै गण्डकीमा नयाँ सरकार निर्माण थप पेचिलो बनेको छ । नेकपा (एकीकृत समाजवादी) अहिलेको सत्ता गठबन्धनमा रहेको छ । समाजवादीमै रहँदा उनी स्वतः एमाले–माओवादी गठबन्धनको सहयात्री रहन्थे । २२ सांसद रहेको एमाले र सभामुखसहित ८ सांसद रहेको माओवादी केन्द्रलाई मनाङे गठबन्धनमै रहँदा सरकार निर्माणको लागि अर्को एक सांसदको समर्थन आवश्यक हुन्छ । दुई सांसद रहेको राप्रपाले समर्थन दिँदा बहुमत सजिलै पुग्थ्यो । तर, मनाङे स्वतन्त्र रहेपछि अब अहिलेको गठबन्धनलाई सरकार निर्माणमा राप्रपाको साथ अनिवार्य देखिएको छ । राप्रपाको समर्थन भएन भने यहाँ मध्यावधिको सम्भावना रहन्छ ।
राजनीतिमा चतुर देखिएका मनाङेले आउँदो दिनमा कसलाई समर्थन गर्छन् भन्ने प्रष्ट त छैन तर उनले गण्डकीमा अस्थिरता सिर्जना हुन नदिन र मध्यावधि रोक्न आफूले समाजवादी छाडेर स्वतन्त्र भएको जिकिर गरेका छन् । कथंकदाचित उनले कांग्रेसलाई समर्थन गरे भने पनि यहाँ कांग्रेसलाई सरकार बनाउन सजिलो चाहिँ छैन ।
२७ सांसद रहेको कांग्रेसलाई राप्रपाका दुई सांसद र मनाङेको समर्थन हुँदा पनि बहुमत पुग्दैन । मनाङले यसअघिको कार्यकालमा पनि स्वतन्त्र नै जितेका थिए । पछि उनी एमालेमा प्रवेश पनि गरे तर पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी पुनः स्वतन्त्र सांसदकै हैसियतमा आए र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारलाई समर्थन गर्दै मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->