पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाजको नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो (क्यालेन्डर) बिमोचन कार्यक्रम शनिवार पोखरामा सम्पन्न भयो । समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १३ स्थायी घर भई हाल पोखरामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुको संस्था हो ।
कुश्मा–१३ का वडाध्यक्ष तेजप्रसाद शर्मा, समाजका अध्यक्ष पिताम्बर पौडेल, संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्री, निवर्तमान अध्यक्ष जितेन्द्रबहादुर कुँवर, क्यालेन्डर प्रकाशन संयोजक एवं समाजका वरिष्ठ उपाध्यक्ष लालप्रसाद शर्मालगायत सल्लाहकार एवं पूर्व सल्लाहकारहरुले संयुक्त रुपमा क्यालेन्डर बिमोचन गरेका थिए । वडाध्यक्ष शर्माले क्यालेन्डर धेरै सूचनामूलक रहेको बताए । साथै सम्पर्क समाजले अन्य जिल्लामा रहेका खौलालाँकुरीबासीलाई पनि संगठित भएर जन्मथलो र कर्मथलोमा केही गरौ भन्ने उर्जा थप्ने काम गरिरहेको जनाए । समाजका अध्यक्ष पिताम्बर पौडेलले संस्थाले गर्दै आएका गतिविधि उल्लेख गरे । क्यालेन्डर संयोजक लालप्रसाद शर्माले भित्तेपात्रो प्रकाशन सम्बन्धी जानकारी गराएका थिए । संस्थाका सल्लाहकारद्वय हीरालाल विश्वकर्मा र दुर्गाराज सुवेदी, संस्थापक सल्लाहकार हर्कबहादुर कार्की क्षेत्रीलगायत कार्यक्रममा सहभागी सम्पूर्णले नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।





