पोखरा/पोखरा महानगरपालिका र जापानको कोची युनिभर्सिटीबीच प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्रान निकाल्ने प्रविधिका बिषयमा बिहीबार छलफल भएको छ । युनिभर्सिटीका प्राडा ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डल र पोखरा महानगरप्रमुख धनराज आचार्यबीच यस्तो छलफल भएको हो ।
फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदीजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोर निकाल्ने प्रविधि तथा उपकरणका विषयमा छलफल भएको हो । उक्त अवसरमा नगरप्रमुख आचार्यले हालैमात्र पर्यटनको राजधानी घोषणा गरिएको पोखराको गहनाका रूपमा रहेको फेवातालको संरक्षणका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । यसमा थुप्रिएको माटो लगायतका नदीजन्य तथा फोहोर वस्तुहरू निकाल्न उपयुक्त प्रविधिको खोजीमा रहेको उनको भनाइ थियो । यसका लागि प्रविधिमा निकै फड्को मारेको जापानको प्रविधि र विज्ञहरूसँग आवश्यक परामर्श सहित सहकार्य गर्न सकिने उनले बताए ।
हारा नेतृत्वको प्रतिनिधि मण्डलले फेवातालको संरक्षण र सौन्दर्यीकरणका लागि आफूहरू काम गर्न तयार रहेको र यसका लागि आफूहरूसँग विज्ञता सहित अत्याधुनिक उपकरणहरू रहेको बताएको छ । फेवातालमा माथिबाट बगेर आउने माटो तथा गेग्रानका कारण यसको भविष्य माथि नै अनिश्चितता उत्पन्न भएको भन्दै आफूहरू स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको जापानी टोलीले बताएको छ । फेवातालको संरक्षणका लागि माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गरी माटो लगायत नदीजन्य सामाग्रीहरू रोक्ने र तालको सौन्दर्यीकरण गर्दै थुप्रिएको पानी मुनिको माटो समेत निकाल्ने योजनामा महानगरपालिका रहेको छ ।





