पोखरा/ उखानै छ, धन देखेपछि महादेवका पनि तीन नेत्र । धन पैसाका लागि मानिसले आफ्नो सबै बिवेक गुमाउँदै गएको छ । धननै सबैथोक ठानेर आफन्त, इष्टमित्र, छरछिमेक, साथीभाइ केही पनि भन्न छाडेको छ समाजले । तर पनि यो समाजमा अझै इमानजमानका व्यक्ति छन भन्ने कुरा बिहीबार पोखरामा भएको एक घटनाले पुष्टी गरेको छ ।
आज बिहीबार पोखराको पृथ्वीचोकस्थित माता श्री ज्वेलर्सका कालीगढ ४३ वर्षीय मनोहर पवँरले नयाँबजारस्थित कृषि बिकास बैंकमा नगद जम्मा गर्न भनि लिएर हिडे । मोटरसाइकलको लेगार्डमा कालो रंगको झोलामा उक्त पैसा झुन्डाएका थिए । तर बैंकमा पुग्दा झोला हराएको पत्ता लाग्यो । दिउँसो साढे १ बजेको समयमा उक्त रकम हराएको भन्ने जानकारी कास्की प्रहरीलाई पुग्यो । तत्कालै डिएसपी बसन्तकुमार शर्माको कमाण्डमा र मातहतका प्रहरी कार्यालयबाटसमेत प्रहरी परिचालन भयो । पैसाको खोजतलास गरियो । खोजतलासका क्रममा उक्त पैसा भारत घरभई हाल पोखरा–३ पालिखेचोक बस्ने ६५ वर्षीय छोटुलाल शर्माले फेला पारेको पत्ता लागेको प्रहरीले जनाएको छ । ‘छोटुलालले पैसा फिर्ता गर्न प्रहरीको फोनको खोजीमा रहेछन’ डिएसपी शर्माले भने, ‘हामी संभावित स्थानमा खोजी गर्ने क्रममा छोटुलाल सम्पर्कमा आएर पैसा दिए ।’
उक्त पैसा माता श्री ज्वेलर्सका संचालक ध्रुवकुमार सुनारलाई बुझाइएको प्रहरीले जनाएको छ ।





