पाेखरा/एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएको बिरुद्ध सर्बोच्च अदालतमा परेको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ । उक्त रिट निवेदनमाथि आजदेखि सर्वोच्चमा सुनुवाई सुरु भएको थियो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो । सोमबार वकालतनामा गरेका कानुन व्यवसायीकाे बहस नसकिएकाले मुद्धालाइ हेर्दाहेर्दैमा राखिएको हो । अर्काे पेशी बैशाख १७ गते ताेकिएकाे छ ।
निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अधिकारीको नियुक्ति असंवैधानिक भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्ट विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
गत चैत २५ मा अधिकारीको नियुक्ति भएपछि त्यसको पर्सीपल्ट चैत २७ गते मंगलबार पाण्डेले सर्वोच्चमा रिट दिएका थिए । रिटमा अधिकारी सरकार गठनलाई बदरको माग गरेका छन् । चैत २८ मा न्यायाधीश विनोश शर्माको एकल इजलासले अधिकारी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश गरेको थियो । उक्त इजलासले ७ गते लिखित जवाफ दिन पनि भनेको थियो । सोही अनुसार लिखित जवाफ पनि पेश भइसकेको छ ।
मुख्यमन्त्री अधिकारीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, रमेश बडाल, टीकाराम भट्टराई, श्रीकान्त बराल, ईश्वरी भट्टराई, सानुराज पोखरेल, कृष्णभक्त पोखरेल, महेश नेपाल र गण्डकीका मुख्य न्यायाधिवक्ता कृष्णप्रसाद अधिकारी र अधिवक्ता गुरुभक्त निरौलाले बहस गर्दैछन् । रिट निवेदक पाण्डेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु पूर्णमान शाक्य, खम्बबहादुर खाती, हरिहर दाहाल र गण्डकीका पूर्व मुख्यन्यायाधिवक्ता चिरञ्जीवी शर्मालगायतले बहस गर्ने छन् ।





