पोखरा/गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङले यातायात विभागका कर्मचारीलाई प्रत्येक घण्टा हाजिर गर्न निर्देशन दिएका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात विभाग गण्डकीको अनुगमन गर्दै उनले अब कर्मचारीले प्रत्येक घण्टा हाजिर गर्ने गरी विद्युतीय मेसिन राख्न निर्देशन दिएका हुन् ।
सेवाग्राहीले कर्मचारी भेट्न नै मुस्किल हुने गुनासो गरेपछि मन्त्री गुरुङले अनुगमन गरेका हुन् । हाजिरसँगै उनले सेवाग्राहीलाई झन्झट हुनेगरी कर तिर्ने तरिका परिवर्तन गर्नसमेत निर्देशन दिए ।
‘अहिले प्रयासहरु धेरै राम्रो भएको रहेछ । अलिकति सेवाग्राहीले कर तिर्ने सिस्टममा परिवर्तन गर्नुपर्ने देखियो । स्मार्ट जमानामा पनि यहाँ आएर लाइन बसेर पैसा तिरेर हुँदैन,’ उनले भने, ‘कर्मचारीको अलिकति कम्प्लेन आएको भएर आज आएका हौँ । समयमा कर्मचारी आइदिएन भन्ने गुनासो आयो । त्यसका लागि हामीले अब ८ घण्टासम्म प्रत्येक घण्टा विद्युतीय हाँजिर लगाउनुपर्नेछ ।’ त्यसो गरेमा कर्मचारी १० देखि ५ बजेसम्म काम गर्नेमा आशावादी रहेको उनले बताए ।
ट्याक्सी मिटरमा
उनले ट्याक्सी मिटरमा नचल्दा ट्याक्सी चालक वा धनी आफंैलाई समस्या हुने बताए । मिटरमा चल्दा यात्रु र व्यावसायी दुबैलाई फाइदा हुने बताए ।
‘कस्तो समस्या छ भने पब्लिकहरुलाई चार सय रुपैयाँमा आउने ठाउँमा हजार रुपैयाँभन्दा माथि लिइरहेको छ । हिजोदेखि (आइतबार) मिटरमा नचल्नेलाई समात्न सुरु भइसक्यो । ट्याक्सीको ड्राइभरहरुले पनि के बुझिदिन प¥यो मिटरमा गएर के फरक पर्छ ?,’ उनले थपे, ‘दुई–तीन सय ठगेर केही हुनेवाला छैन । जबकि ट्रफिकले समात्यो भने त तीन–चार हजार फाइन तिर्नुपर्छ । बुद्धि छैन भने समातिन्छ । एक रात बस्छ अनि तीन हजार तिर्छ, बुद्धि हुनुप¥यो नि । सय–दुई सय खानका लागि खोरमा गएर बस्ने ?’
परिवर्तन आफूले ल्याएर नहुने बताउँदै त्यसका लागि व्यावसायी नै परिवर्तन हुन आवश्यक रहेको बताए । काठमाडौंमा भन्दा पोखरामा अलि महँगो भाडा रहेको उनी सुनाउँछन् । काठमाडौंमा ५० रुपैयाँबाट सुरुहुँदा पोखरामा ८० रुपैयाँबाट सुरु हुन्छ । काठमाडौंमाभन्दा पोखरामा सस्तो हुनुपर्ने मन्त्री गुरुङको भनाई छ । भारतहुँदै आउने इन्धन काठमाडौंभन्दा पोखरामा छिटो आइपुग्ने बताउछन् ।
उनले अब पोखरामा नै ट्रक र हेभी गाडीका लागिसमेत ट्राइल दिने व्यवस्थापन गर्न आवश्यकता रहेको औल्याए । गण्डकी प्रदेशको सबैभन्दा बढी कर उठ्ने क्षेत्र नै यातायात भएकाले पोखरामा त्यसको व्यवस्था गरे करसँगै यहाँको पर्यटनमासमेत टेवा पुग्ने उनले सुनाए । साथै कार्यालयमा सेवाग्राहीका लागि शौचालयको समेत अभाव भएको भन्दै त्यसलाई तत्कालै बनाउने गरी अघि बढ्नसमेत अनुरोध गरे । मन्त्री गुरुङले यातायातको क्षेत्रमा हुने गरेका विकृतिको अन्त्य गर्न कार्यविधि संशोधनको पहल कमृचारीबाटै गर्नुपर्नेमा जोड दिए । कार्यविधि देखाउँदै कर्मचारी तर्सिने प्रवृत्ति हटाएर अब नागरिकका लागि काम गर्न सुझाव दिए । उनले यातायात व्यवस्था कार्यालयलाई व्यवस्थित बनाउनका लागि महानगरपालिकाको समेत ध्यान जान जरुरी रहेको सुनाए ।





