पोखरा/ गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका मृगौलापीडितको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष सो जानकारी गराइएको हो । मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले यो तथ्यांक प्रस्तुत गरेका हुन ।
‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतिक्षारत अवस्थामा कोही पनि हुनुहुन्न, डायलाइसिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ’ शर्माले भने । २०७९ साल माघको अध्ययन प्रतिवेदन अनुसार सरकारी १० र निजी ६ वटा गरी जम्मा १६ वटा संस्थाबाट डायलाइसिस सेवा दिने गरिएको थियो । त्यतिबेला ५ सय ७६ जना बिरामीले डायलाइसिस सेवा लिइरहँदा ३ सय ३ जना डायलाइसिस सेवाको पर्खाइमा थिए ।
अधिकारी पहिलोपटक मुख्यमन्त्री हुँदा भएको मन्त्रीपरिषदको निर्णय अनुसार डायलाइसिस सेवा विस्तार गरेर, २५ शैया क्षमताको डायलाइसिस केन्द्र स्थापना, अन्य अस्पतालको क्षमता विस्तार गरेको कारण सेवाको लागि पर्खाइमा रहनेको संख्या शुन्यमा झार्न सफल भएको सचिव डा.शर्माले बताए । ‘माननीय मुख्यमन्त्रीज्यूकै निर्णयबाट गण्डकी प्रदेशमा डायलाइसिस गर्नुपर्ने प्रतिक्षारत व्यक्तिको संख्या शुन्यमा झार्ने प्रण गरिएको थियो, त्यसमा गण्डकी प्रदेशले विशेष फड्को मारेको छ । जुन राष्ट्रिय रुपमा चर्चाको रुपमा आएको छ’ उनले भने, ‘डायलाइसिसका लागि हाल प्रदेशमा १ सय ३६ वटा मेसिन सञ्चालनमा रहेका छन् ।’ शर्माले स्वास्थ्यतर्फको मन्त्रालयले हासिल गरेका उपलब्धी, कार्यगत संरचना, आगामी दिनमा गर्नुपर्ने कार्य लगायतका विषयमा जानकारी गराएका थिए ।
विस्तारित ओपीडी सेवा बेनी अस्पताल म्याग्दी, लमजुङ अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, दमौली अस्पताल, स्याङजा अस्पताल र गोरखा अस्पतालमा सञ्चालनमा रहेको डा.शर्माले जानकारी दिए ।जनशक्तिको अभावमा सुचारु हुने नसकेका धौलागिरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल कास्की, मातृशिशु मितेरी अस्पताल, मुस्ताङ अस्पताल र मनाङ अस्पतालमा सुचारु गर्ने प्रक्रियामा मन्त्रालय रहेको उनको भनाई छ । मन्त्रालयगतरुपमा भएका गतिविधिको बारेमा जानकारी लिएपछि मुख्यमन्त्री अधिकारीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । ‘प्राविधिक रुपमा तपाईहरु मुख्य भएकोले उच्च मनोबलका साथ आफ्ना समस्या सेकेन्ड भरमा समाधान गर्ने गरी मन्त्रालयको स्रोत साधनलाई ध्यान दिँदै काम गर्नुहोस्’ मुख्यमन्त्री अधिकारीले भने ।
मुख्यमन्त्री अधिकारीले आफू संघिय सरकारको स्वास्थ्यमन्त्री हुँदा तथा यस अगाडि मुख्यमन्त्री हुँदा सुरु गरेका महत्वपूर्ण कार्यक्रमको बारेमा समेत अवगत गराएका थिए ।





