पोखरा/विवादित बनिरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–हरिचोकमा ठेकेदारले सडकको मापदण्ड नै घटाउन खाजेका छन् । पोखरा महानगरपालिका १ हरिचोकदेखि याम्दीसम्मको २.२ किमी सडक बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी मोदी दाङ कन्ट्रक्सन कम्पनीले हरिचोकमा सडकको मापदण्ड नै घटाएर व्यक्तिको आँगन बढाउन खोजेपछि पोखरा महानगरपालिकाले डोजर चलाएको छ ।
विगत दुई महिनादेखि अलपत्र राखिएको हरिचोकमा बुधबार नगरप्रहरी सहितको टोली पुगेर डोजर चलाएको हो । मध्यपहाडी लोकमार्ग आयोजना पर्वतअन्तर्गत रहेको उक्त सडकको नाली बनाउने जिम्मा निर्माण कम्पनीको थियो । तर, निर्माण कम्पनीले पेट्रोलपम्प लगायतका घरहरुमा सडक मापदण्ड विपरीत नाली बनाउने चलखेल गरे पनि स्थानीयको पहलमा महानगरले डोजर लगाएको हो ।
ठेकेदार कम्पनीले स्थानीयलाई सास्ती दिँदै कछुवा गतिमा निर्माण कार्य अगाडि बढाउँदा स्थानीय आजित छन् । काम ढिला गर्नुको कारण अर्को पनि रहेको भर्खरै खुलेको छ । सो क्षेत्रको निर्माणको काम लम्ब्याउने र त्यहाँ बाटोकै लागि भनेर खोलिएको क्रसरबाट ठेकेदारले निर्माण सामग्री बेच्ने गरेको पनि स्थानीयले पत्ता लगाएका छन् । पछिल्लो समय प्रहरीकै संलग्नतामा सडक निर्माणका लागि खोलिएको क्रसरबाट निर्माण सामग्री बिक्री भएको पनि स्थानीयको जिकिर छ । केही समयअघि प्रहरीले छाडेको क्रसर बोकेको टिपरलाई स्थानीयले नियन्त्रणमा नै लिएका थिए । सो घटनाले चलखेलकै कारण नाला बनाउन ढिला गरिएको प्रमाणित भएको स्थानीयको भनाइ छ ।
स्थानीय रामभक्त पाठकले ठेकेदारले पाँच घरअघि नाला बनाउनै नखोजेको र पछिल्लो समय जति सडकको मापदण्ड राखेर छाड्नुपर्ने त्यति नछाडेको जिकिर गरे । हरिचोकमा रहेको पेट्रोलपम्पको छेउका पाँच घरमा नालाको मापदण्ड नै घटाएर सडक विभागले मापदण्डका लागि मार्किङ गरेका थिए ।

‘हरिचोकमा दुई छेउमा नाला बनाउँदा काम चाँहि छिटो गरेको थियो । पहिला काम थलानी गर्न ढिला गरे पनि पछि काम छिट्टै भ्यायो । तर, अचम्मको कुरा पाँच घरलाई छाड्यो । दुई महिनासम्म पनि त्यो रोकियो । यहाँ खन्ने जिम्मा ठेकेदार कम्पनीको थियो । पैसा कमाउने उसले हो तर यहाँ महानगर आएर डोजर लगाउन बाध्य भएको देखियो,’ उनले भने, ‘यहाँ दुःख सास्ती धेरै भयो । जनताको साथ पाउँदा पनि ठेकेदारले काम गरेन ।’ उक्त स्थानमा ९ आना सार्वजानिक जग्गा रहेको र व्यक्तिले जग्गा मिच्ने चलखेल हुँदा हाल रोकिएको बताए ।
स्थानीय निर्मला सुवेदीले ठेकेदारले लामो समयदेखि काम नगरिदिँदा नालाबाट दुर्गन्ध फैलिएको बताइन् । उनले ठेकेदारले काम नगर्नुमा स्वार्थ लुकेको सुनाइन् । ‘स्थानीयले पूर्ण समर्थन गरेकै हो । ठेकेदारले यहाँ पैसा खाएर हो या डरले हो कामै गरिदिएन,’ उनले भनिन्, ‘आखिर मार्किङ गरेपनि किन खनेन त ? याम्दीबाट हरिचोक कति नै किलोमिटर छ र ? काम त अहिलेसम्म सकिनुपर्ने तर सकिएको छैन ।’
मध्यपहाडी राजमार्गका सूचना अधिकारी इन्जिनियर पवन सुवेदीले ठेकेदार कम्पनीको ढिलासुस्तीले अपेक्षित रुपमा कामको प्रगति हुन नसकेको बताए । उनले सडकका लागि संरचना हटाउने जिम्मा सडक विभागकै रहे पनि विवादका कारण महानगरलाई गुहारेको सुनाए । ‘जिम्मेवारी हाम्रै हो । सडकको ‘राइट अफ वे’भन्ने हुन्छ त्योभित्रको संरचना हटाउने, त्योभित्र सडक निर्माण गर्ने कार्य हाम्रै हो । यहाँ के भयो भने अलिकति सार्वजानिक जग्गा अनि चोक फराकिलो होस् भन्ने चाहना भएको तर जग्गा अन्य काममा प्रयोग भएको देखियो,’उनले भने, ‘हामीले जग्गाको चारकिल्ला कताकता हो, सडक उपभोग गर्न मिल्ने हो त्यो किसिमको चारकिल्ला बनाइदिन महानगरलाई अनुरोध ग¥र्यौँ, त्यस बमोजिम महानगरले मार्किङ गरिएको हो ।’ मार्किङ बमोजिम नालीको फाउन्डेसन खन्ने क्रममा अवरोध भएको उनले बताए । काम गर्न अवरोध भएपछि महानगर आएर हटाउने काम गरेको र भित्री रहस्य केही नभएको उनले जिकिर गरे । तर, ठेकेदार कम्पनीलाई आयोजनाले नै बारम्बार ताकेता गरे पनि वेवास्ता गर्दै आइरहेको छ । मोदी दाङ कन्स्ट्रक्सन कम्पनीले २०७९ साउनमा ४१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताको अवधि लागि दुई महिना बाँकी रहँदा ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । उक्त सडक चार लेनको बन्नेछ ।





