हाँडिकोट टापु
प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रले धनी छ जैमिनी नगरपालिका । जैमिनी धाम, गाईथुने, थन्थापीमाई जस्ता प्रसिद्ध धार्मिक पर्यटकीय स्थल जैमिनीमा छन् । हाँडिकोट टापु, गाजाको दह, पुरानो गाउँ, शंखेपहरा प्रकृतिले दिएका अनुपम उपहारलाई जैमिनीले जोगाएको छ ।
प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चर्चा कमाएको जैमिनी धामकै कारण पालिकाको नाम पनि जैमिनी राखियो । वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न नगरको न्वारन गरियो । जैमिनीमा धार्मिक र प्रकृतिले दिएका प्राचिन सम्पत्तिहरु जिवित छन् ।
सदरमुकाम बागलुङ बजारबाट दुरीका हिसाबले निकट भएपनि जैमिनी नगरक्षेत्र सधैं पछि पर्यो । यहाँ सडक पूर्वाधार विकास गर्न लामो समय र बजेट खर्चिनुप¥यो । आर्थिक विकाससँग जोडिने पर्यटन क्षेत्रको विकासमा नगरले समय दिन पाएन् । पूर्वाधार विकास गरिरहेको नगरले पछिल्लो समय आर्थिक विकासलाई महत्वका साथ अघि बढाएको छ ।
जैमिनी धामको प्राचीन महत्व छ तर त्यसको उजागर हुन सकेको छैन् । जैमिनी धामको महत्व उजागर गर्न कै लागि पर्यटनसम्बद्ध संघ संस्थासँगको सहकार्यमा यसको प्रवद्र्वन र विकास गर्न खोजिरहेको छ । प्रसिद्ध बागलुङ कालिका भगवति मन्दिर र जैमिनी धाम क्षेत्रको महत्व कुनै समयमा एकैनासको थियो । चैतेदशैंमा कालिका मन्दिरमा मेला लाग्दा माघेसक्रान्तिमा जैमिनी धाममा मेला लाग्थ्यो । जुन मेला नेपालको मध्यपश्चिम भागकै महत्वपूर्ण व्यापारिक मेला थियो भन्छन् बुढापाकाहरु । जुन मेलाबाट कयौं स्थानीय उत्पादन गर्नेहरुले बर्षभरी खान पुग्ने कमाउँथे । बर्षभरी उत्पादन गरेका बस्तु बिक्री गर्थे ।

जैमिनी धाम
तस्बिर : सुरेश छन्त्याल
पछिल्लो समय आधुनिकताले छोप्दा जैमिनी धाम बिस्तारै ओझेलमा पर्यो । प्रचार प्रसार र पूर्वाधारको अभावमा यसको महत्व आम सर्वसाधारणमा पुर्याउन सकिएन् । ‘हामी जैमिनी धामसँगै नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटकीय गन्तव्यलाई संरक्षण एवं प्रवद्र्वन गरी पर्यटकीय स्थलका रूपमा विकास गर्दैछौं’ नगर उपप्रमुख हरिहर शर्माले भने ।
स्थानीय तह गठन पछिको पहिलो कार्यकाल नगरलाई नगरजस्तो बनाउन खर्चिएको नगरपालिकाले दोस्रो कार्यकालको पहिलो बर्षबाटै ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन थालेको छ । धार्मिक र प्राकृतिक हिसाबले महत्वपूर्ण रहेका ठाउँहरु एकअर्कामा जोड्ने र पर्यटकलाई त्यहाँ पुग्न प्रेरित गर्नेगरी रचनात्मक कामहरु भैरहेको शर्मा बताउँछन् । ‘सम्भावनाका हिसाबले हामी धनी छौं, प्रकृतिले दिएको, पूर्खाले आर्जेका कयौं आस्थाका धरोहर छन्’ शर्मा भन्छन् ‘ति सम्पदाको महत्व बिक्री भैरहेको छैन्, हामीले छिट्टै पर्यटन क्षेत्रमा फड्को मार्छौं ।’ नगरभित्र जैमिनी धामसँगै थन्थापीमाई मन्दिर, गाजाको दह, पुरानो गाउँक्षेत्र, हात्तीढुङ्गा, पुतलीगरा छिस्ती, कमलजैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देविमन्दिर चोखेक, सतिमन्दिर जैदी, रिठेडाँडा, कोट, मर्नास टापु, नागढुङ्गा र जनै मन्तर्नी पोखरी, कालापाताल राङखानी, खानी निर्मित सुरुङ, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतको संरक्षण र सम्वद्र्वनलाई नीति तथा कार्यक्रममा समेटेर संरक्षण र विकासको प्रयास गरिएको छ ।
नगरमा दुई हजार चार सय मिटर उचाइमा रहेको गाजाको दह जैमिनीको पानीको मुख्य स्रोत हो । गाजाको दहका बिषयमा कयौं किम्बदन्तीहरु पाईन्छन् । २४ सय मिटरको उचाईमा रहेको दहमा बाह्रै महिना पानी रहनु, दहको मध्य भागबाट पानी निस्कनु प्राकृतिक हिसाबले आश्चर्यहरु दहसँग जोडिएका छन् ।
गण्डकी प्रदेश सरकारले राजधानी पोखरालाई गलकोट दरबारसँग जोड्नेगरी रणनीतिक सडक निर्माणको योजना अघि बढाएको थियो । चार बर्षअघि त्यो योजना पुरा नहुँदै कयौं सरकार परिवर्तन भए । योजनाले मुर्त रुप लिन सकेन् । यो सडक तयार हुँदा जैमिनी धाम र गाजाको दह जोडिन्थ्यो । पर्यटकका लागि एक दिनको प्याकेज हुनसक्थे यी दुई मत्वपूर्ण क्षेत्र । अहिले कम्तिमा जैमिनी धामदेखि गाजाको दहसम्म पर्ने खण्डलाई महत्वका साथ काम अघि बढाएको छ । दुवै पर्यटकीय क्षेत्र सहज सडक सञ्जालले जोडिँदा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने वडा नं. १ का वडा अध्यक्ष विष्णु आचार्य बताउँछन् ।

थन्थापीमाईको मन्दिर
तस्बिर : सुरेश छन्त्याल
दुई हजार एक सय ९५ मिटर उचाइको हाँडिकोट शिर यहाँको सूर्योदय हेर्ने अर्को धार्मिक पर्यटकका लागि आर्कषक गन्तव्य हो । हाँडिकोट भुरे टाकुरे राजाको पालाको प्रशासनिक केन्द्र थियो । शासन चलाएको ठाउँमा अहिले अवषेशहरु समेत मेटिन थालेका छन् । नगरले हाँडिकोटलाई आफ्नो महत्व जोगाई राख्नेगरी विकास गर्ने र नगरक्षेत्रमा विसं १८६५ मा निर्मित माईको थान (थन्थाप भगवती मन्दिर)सँग जोड्ने अभियान थालेको छ । सडक मार्ग र पदमार्गले हाँडिकोट र थन्थापी माई जोड्दा पर्यटकका लागि अवसर हुनसक्छ । यी दुई स्थानसँगै पुरानो गाउँ जोड्ने योजनामा नगर छ ।
विसं १९५७ मा निर्मित ऐतिहासिक चौतारी तथा पोखरी, दुर्गा भगवती मन्दिर लगायतका संरचनाको आ–आफ्नै धार्मिक एवं पर्यटकीय महत्व रहेको शर्मा बताउँछन् । नगरपालिकाले यहाँको मौलिकताको जगेर्ना गर्ने उद्देश्यका साथ ऐतिहासिक पोखरीसँगै चौतारा र वरपिपल संरक्षणलाई पनि जोड दिँदै आएको उपप्रमुख शर्माले बताए । धरोधरको संरक्षण र प्रवद्र्वनले यहाँको पर्यटकीय विकासलाई थप उजागर गर्न मद्दत गर्ने उनको बुझाई छ ।
सांस्कृतिक मौलिकता जोगाउन रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटु संरक्षण र प्रवद्र्वनमा जोड दिइएको छ । प्राचीन जैमिनी मेला, माघेसङ्क्रान्ति मेला, गाजादह मेला, वैकुण्ठ चर्तुदर्शी मेला, ठूली एकादशी मेला, हाडीकोट मेला र पुरानो गाउँ मेलालाई संरक्षणसँगै उचित व्यवस्थापन गरी निरन्तरता दिँदै आइएको छ ।
माछिचरणदेखि डाँफे चरण क्षेत्र समेटिएको जैमिनी कृषि पर्यटन र पुराना खानीका लागि समेत प्रसिद्ध क्षेत्र मानिन्छ । यहाँ वडा अनुसारको उत्पादन हुन्छ । रैथाने बाली, पशुपंक्षीको संरक्षण र प्रवद्र्धन गरेर कृषि पर्यटनको सम्भावनालाई समेत सँगै उजागर गर्ने योजना जैमिनीले बनाएको छ । जुनेलो, टिमुर, सिस्नो, धकायो, भाँगो, अलैचीजस्ता बहुगुणी उत्पादनलाई पर्यटनसँग जोड्न सकिने शर्मा बताउँछन् ।





