बागलुङ/प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० भोटले पछि पार्दै सुहाङले विजयी भएका हुन् ।
सुहाङले २७ हजार ७ सय ७२ भोट प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ भोटमा रोकिए ।
पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४ सय ५७ भोट ल्याएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गर्दै चौथो बने ।आज बिहान ११ बजे मतगणस्थलमा सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको कान्छा छोरासमेत रहेका सुहाङले विजयी हुँदै बुवाको विरासत कायम राखेका छन् ।





