
गलकोट ऐतिहासिक क्षेत्र मात्र होइन, पर्यटनको अथाह संभावना बोकेको स्थान पनि हो । यहाँका हरेक स्थान पर्यटन प्रर्वद्धनको दृष्टिले महत्वपूर्ण छन् । यहाँको घुम्टे मात्र हैन टेउवा, निलुवा, पाण्डवखानीदेखि रिघासमेत पर्यटनको दृष्टीले महत्वपूर्ण छन् । रिघामा गत वर्ष निर्माण सम्पन्न भएको उदय बुद्धबिहारले यहाँको पर्यटन प्रर्वद्धन र धार्मिक क्रियाकलाप बढेको छ । नगरपालिकाले यहाँको उदय बौद्ध गुम्बालाई पर्यटकीय गन्तव्य बनाउन लगानी गरेको छ । वडा नं. ११ को रिघामा रहेको यो गुम्बामा पछिल्लो समय पर्यटकको आगमन समेत बाक्लो भएको छ । पुनर्निर्माण गरिएको उदय रिघा बुद्ध बिहार पर्यटकलाई लोभ्याउने आर्कषक बनेको छ ।
पहिला त यो रिघाको डाँडालाई चिहानडाँडा भनिन्थ्यो । चिहान भएकोले जो–कोही एक्लै जाँदैनथे । तर, यो डाँडामा बौद्ध गुम्बाको परिकल्पना भएपछि धार्मिक स्थल बनेको छ । त्यसपछि त गुम्बामा बौद्धमार्गीहरु पुगेर ध्यान गर्न थाले । पछिल्लो चार वर्षदेखि भने नगरपालिकाले लगानी बढाएर गुम्बाको पुननिर्माण गरेको हो । पुननिर्माणपछि यो गुम्बा आकर्षक देखिएको छ । गलकोट नगरपालिकाको १५ लाख, वडा कार्यालयको ३ लाखसहित वैदेशिक रोजगारीमा काम गर्ने स्थानीयबाट सहयोग संकलन गरेर ८० लाख जुटाएपछि १ करोड लागतमा गुम्बा बनेको हो ।
गुम्बामा खानेपानी, शौचालय, ध्यान गर्ने बिहार लगायतका संरचना बनाइएको छ । अझै ती संरचनालाई बढाएर पर्यटक पुग्दा बस्ने, घुम्ने र रमाउने स्थलहरु बनाउने लक्ष्य राखिएको निर्माण समितिका अध्यक्ष शेरबहादुर काउचाले बताए । मुख्यबस्तीदेखि सिंढी चढेर जाने गरी गुम्बा बनेको छ । यसले गुम्बाको आर्कषण फरक खालको बनेको छ । चालु वर्ष पनि गुम्बामा पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले लगानी गरेको छ । प्रदेश सरकारको १५ लाख लगानीमा पार्क बनाउने, सत्तलको तला थप गर्ने काम हुनेछ । उद्योग तथा पर्यटन कार्यालयले यो गुम्बाको लागत निकालेर काम थालिसकेको छ ।

गलकोट नगरपालिकाको १५ लाख, वडा कार्यालयको ३ लाखसहित वैदेशिक रोजगारीमा काम गर्ने स्थानीयबाट सहयोग संकलन गरेर ८० लाख जुटाएपछि १ करोड लागतमा गुम्बा बनेको हो ।
वडा नं. ११ कै छ्युमा पार्क, चमेरे गुफा लगायतका मठमन्दिर संरक्षणको कार्यक्रम पनि बनाएको वडा अध्यक्ष डम्बरबहादुर श्रीषले बताए । रिघाकै गुम्बादेखि माथी उनाचौर, टापु क्षेत्रलाई गुराँस पार्क बनाउन सकिने स्थानीय गीता श्रीषले बताइन् । उनले घोडेपानी जस्तै पर्यटकीय क्षेत्र बनाउन पदमार्ग निर्माण गर्न सकेमा सयौं आन्तरिक तथा बाह्य पर्यटक लैजान सकिने संभावना आंैल्याइन् । यहाँ बसन्त ऋतुमा दर्जन प्रकारका गुराँस फुल्छन् । सिंगो डाँडा रातै बन्छ ।
गुम्बा बनेको स्थानबाट पाण्डवखानी, सिसाखानी, दगातुम्डाँडा, गुल्मीको वामी टक्सार, मुसिकोट र बागलुङकै गलकोटका अधिकांश स्थान देखिन्छ । त्यसैले यो क्षेत्र पर्यटकीय गन्तब्य बनाउने काममा पहल भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । मध्यपहाडी लोकमार्गको मल्म र मनेवाबाट यहाँ पुग्न सकिने दुइ वटा सडक पनि बनेका छन् । ती सडकलाई नगरपालिकाले स्तरीय बनाउने योजना बनाएको गैरेले बताए । ‘सडक स्तरीय बनाउन सकियो भने लोकमार्गमा यात्रा गर्नेले समय मिलाएर गुम्बामा आएर ध्यान गर्न सक्छन्,’ गैरेले भने, ‘पाहुना आएर रमाउने स्थान भएकोले प्रदेश र संघिय सरकारबाट पनि लगानीको माग गरेका छौं ।’ उनले नगरको गौरवको रुपमा रिघालाई पर्यटकीय गन्तव्य बनाउने काममा लाग्ने उनले बताए ।
हङकङ, बेलायत र युरोपका बिभिन्न मुलुकमा बस्ने स्थानीयले पनि यो क्षेत्रको विकासमा लगानी गर्न तयार भएका छन् । गुम्बामा पुग्दा शान्तिको अनुभव गरेको गुल्मीको मुसिकोटका महेन्द्र पन्थीले बताए । गुम्बालाई स्थानीयले शान्ति स्थापनाको स्वरुप मान्ने गरेका छन् । ‘धर्मले साश्वत सत्य सिकाउने, नैतिकता र अनुशासनमा साथ दिने भएकोले गुम्बामा पुग्दा शान्ति मिल्छ,’ पन्थीले भने, ‘धार्मिक पर्यटक भित्राउने यो गन्तव्य हो ।’ यो गुम्बामा अहिले पनि स्थानीय पुगेर ध्यान गर्छन् ।
गुम्बामा देशविदेशबाट बौद्ध भिक्षुहरु आउने गर्छन् । कपिलबस्तु, पोखरा, नेपालगञ्ज लगायतका स्थानका भिक्षुहरु रिघा आएर ध्यान गर्ने गरेको काउचाले बताए । परापूर्वकालदेखि बौद्धमार्गी आएर तपस्या गर्ने गरेपनि २०६८ सालमा मात्रै यो गुम्बा निर्माण थालिएको थियो । गतबर्षदेखि थालिएको अभियानपछि रकम संकलन गरेर गुम्बाको पुननिर्माण र बिहार बनाइएको वडा अध्यक्ष डम्बर बहादुर श्रीषले बताए । निर्माण समितिले नेपाल भिक्षु महासंघलाई बिहार हस्तान्तरण गरेको छ । महासंघले निर्णय गरेर बिहार संचालनका लागि संचालक पठाउने व्यवस्था छ । तत्कालका लागि भान्ते मेदाङकर लगायतका ३ भिक्षुले उदय रिघा बुद्व बिहारमा दैनिक ध्यान र पूजा व्यवस्थापन गरेका छन् ।
गुम्बा निर्माणसंगै पर्यटन प्रवद्र्धनका लागि रिघामा सती घाँटु, सोरठी र मारुनी गीत तथा नृत्यको संरक्षण पनि गरिएको छ । सती घाँटु रिघामा मात्र जिवित रहेको स्थानीयले बताए । बैसाख पूर्णिमामा सती घाँटु नाच्ने चलन छ । ‘घाँटुको इतिहास र मौलिकता जानेका कलाकार समेत भएकोले रिघामा पर्यटनका क्रियाकलाप संचालन गर्न सहज छ,’ गलकोट नगरपालिकाका निवर्तमान उपप्रमुख रेणुका काउचाले भनिन्, ‘बौद्ध बिहार निर्माणपछि भ्रमण गर्न चाहनेका लागि आर्कषक गन्तव्य बनेको छ ।’
रिघा पुग्ने ६ वटा सडक छन् । ४ सडक त मध्यपहाडी लोकमार्गले जोडेको छ । वडागाउँ मल्मदेखि रिघा जाने सडक मुख्य पहुँच मार्ग हो । यो सडक केही ढलान र चौडा भएको छ । बाह्रै महिना सवारी चल्ने सडकको रुपमा यो चिनिएको छ । काँडेबास रहले मजूवा सडक, मनेवादेखि रहगैह्रा फलाँटे र फेदीदेखि सानो रिघाहुँदै ठूलो रिघा पुग्ने सडक जोडिएकोले पर्यटकहरुले सहजै घुम्न जाने अवस्था बनेको छ । सडकको सहजता भएमा पर्यटक भित्राउन पनि सहज हुने वडाध्यक्ष श्रीष बताउँछन् । रिघादेखि सिसाखानी र पाण्डवखानी जाने सडक पनि छ । स्तरीय सडक, कालोपत्रे चाहना राखिएको र नगरको गौरवको योजनामा पनि बडागाउँ सडक सूचीकृत छ । नगरले बिशेष बजेटमार्फत यो सडकलाई स्तरीय बनाउने लक्ष राखेको हो ।
होमस्टेलाई प्रवद्र्वन गर्ने योजनामा छौं
डम्बर बहादुर श्रीष
वडाध्यक्ष
वडा नं. ११ रिघा, गलकोट नगरपालिका
गलकोटका ११ वडामध्ये पछाडि परेको र दुर्गम वडामध्ये रिघा हो । यहाँ ढीलागरी विद्युत सेवा आयो । खानेपानीको त अझै कतिपय ठाउँमा समस्या छ । त्यसका लागि योजनाबद्ध विकासको काम गरिरहेका छौं । त्यस बाहेक गलकोटला्ई हामीले पर्यटनको हब बनाउन खोजेका छौं । पर्यटनको विकास भनेको जो–सुकैको सहज आउजाउको वातावरण पनि हो । चाहेको बेला आउने, घुम्ने र स्तरीय बसाइको व्यवस्था भएमा मात्र हामीले पर्यटक भित्राउन सक्छौं । त्यसका लागि हामीले भौतिक पूर्वाधार बनाएर मात्र पुग्दैन । बरु होमस्टेजस्ता बसाईँलाई प्रवद्र्वन गर्नुपर्छ । वडाभित्र होमस्टे संचालनका लागि अगाडि बढेकालाई साथ दिने योजना छ ।
पर्यटन कार्यालयले पनि यस्ता क्रियाकलाप गर्न खोज्नेलाई साथ दिएको छ । प्रभावकारी र गुणस्तरीय सेवा दिने होमस्टे प्रवद्र्धन गर्ने योजना बनाएका छौं । गुम्बालाई थप व्यवस्थित बनाएर पर्यटन गन्तब्य बनाउने योजना पनि छ । हेरौं कुनै दिन हामीले पर्यटनकै हब बनाएर गलकोटको पहिचान दिन सक्ने छौं । त्यसबाहेक गलकोटले बालमैत्री नगर बनाइसकेका छौं । तर, बालविवाह रोक्ने काममा पनि पहल गरेका छौं । बालविवाह रोक्दा देशभरमै सभ्य नगरको परिचय पनि दिन सक्ने छौँ ।





