शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिकाः प्रदेश प्रमुख भट्ट

नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिकाः प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८१, बुधबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको भूमिका अहम् रहेको बताएका छन । भट्टले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस जगतलाई थप प्रेरणा र हौसला मिलोस् भन्ने कामना पनि गरे ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै भट्टले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको जनाए । ‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय रहेको उनको भनाई थियो । ‘सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी पनि हो,’ उनले भने । उनले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताए ।

पत्रकारिताका नयाँ आयाम र प्रविधिको प्रयोगबारे पत्रकारलाई दक्ष बनाउनका लागि राज्यको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रदेश प्रमुख भट्टले सत्य तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी रहेको उल्लेख गरे । विश्वव्यापी आर्थिक संकटको संवेदनशील घडीमा सञ्चारजगत र पत्रकारिता पेशालाई पारेको असरबारे आफू जानकार रहेको र आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको बताए । नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस् भन्ने शुभेच्छा राखे । गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलो विधेयक प्रमाणिकरण पत्रकार सम्बन्धित आमसञ्चार ऐन २०८० रहेको स्मरण गर्दै उनले यो ऐन पत्रकारहरुकै प्रत्यक्ष सहभागिता र आवश्यकताका आधारमा निर्माण भएको उल्लेख गरे ।

साधारणसभाको उद्घाटन सत्रमा विशेष अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकार महासंघमा कुनै समस्या भए मिलाएर अघि बढ्नुपर्ने बताए । पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानीद्वय कोमलनाथ बराल र विश्वबन्धु भण्डारी, महासंघ केन्द्रीय प्रतिनिधि छविलाल तिवारी, केन्द्रीय सदस्यहरु सरीता तिमिल्सिना पंगेनीर प्रदीप काफ्लेले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी महासंघ म्याग्दी शाखा अध्यक्ष प्रकाश पौडेल, प्रेस युनियन केन्द्रीय सदस्य घनश्याम बगाले, प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्र पौडेल, प्रेस सेन्टर गण्डकी अध्यक्ष अर्जुन काफ्ले, समाजवादी प्रेस संगठन गण्डकी अध्यक्ष गणेश पौडेल र प्रगतिशील पत्रकार संघका केन्द्रीय सल्लाहकार किरण आचार्यले पनि शुभकामना दिएका थिए । आचार्यले केन्द्रले प्रदेश र प्रदेशले जिल्ला शाखामा हस्तक्षेप गरेको आरोप लगाउँदै संघीयतासंगै महासंघको प्रदेश समिति पनि खारेज हुनुपर्ने बताए । अधिकांश बक्ताले महासंघको सदस्यता शुद्धीकरण अभियानप्रति असन्तुष्टी जनाएका थिए ।

कार्यक्रममा म्याग्दी शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको थियो । यसैगरी महासंघ गण्डकीका संस्थापक अध्यक्ष स्वर्गीय त्रिभूवन पौडेललाई पनि मरणोपरान्त सम्मान गरिएको थियो । कार्यक्रममा खेलकुद पत्रकार मंच गण्डकीले स्वर्गीय त्रिभूवन पौडेल स्मृती अक्षय कोषमा १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष दीपक भट्टराईले वागत र अर्का उपाध्यक्ष सोनी शर्माको धन्यवाद मन्तव्य दिएका थिए । अध्यक्ष शर्माले पत्रकार साथीहरुबाट आएका गुनासोलाई केन्द्रसमक्ष पुराउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->