पोखरा/गत बैशाख ३० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा आउजाउ गर्ने सार्वजानिक सवारीको यान्त्रिक परीक्षण ग¥यो । डिजेलबाट चल्ने सर्वाजानिक यातायातको परीक्षण गर्दा एक प्रशितशमात्रै पास भए बाकीँ सबै फेल । ‘ट्राफिक सप्ताह’को अवसरमा सवारीको यान्त्रिक परीक्षण गरिएको थियो । त्यसको ठ्याक्कै एक वर्षपछि पुनः ट्राफिक प्रहरी कार्यालय कास्कीले निकै गुनासो आएपछि पोखरामा चल्ने सार्वजानिक यातायातको यान्त्रिक परीक्षण गरेको छ । परीक्षण गरिएको सवारीमा ८० प्रतिशत सवारी फेल खाएका छन् । अर्थात यान्त्रिक परीक्षणका दौरान सवारीमा व्यापक खराबी देखिएको छ ।
बुधबार ट्राफिक प्रहरी, यातायात कार्यालय र महानगरको टोलीले ३५ वटा सवारीको यान्त्रिक परीक्षण गर्दा ३० वटा फेल भएको भेटियो । एक वर्ष अघि जसरी फेल भएका सवारीलाई सर्भिसिङ गरेर आउन भनिएको थियो त्यसरीनै छाडियो । तर, अचम्मको कुरा चाँहि जति पनि यान्त्रिक परीक्षणमा फेल भएका छन् ती सबैसँग यातायात कार्यालयले यान्त्रिक परीक्षण पश्चात दिने कागजमा कुनै खराबी छैन् । यातायात कार्यालयले दिएको जाँच पासमा उनीहरु फेल भएका छैनन् ।
‘हामीलाई व्यापक गुनासो आएपछि सवारी परीक्षण गरायौं । परीक्षण गराउँदा ८० प्रतिशत सवारी फेल भए’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले भने– ‘हामीले हेर्ने भनेको सवारी जाँच पास छ छैन हो त्यसमा फेल वा पास के छ त्यो हेर्छौ तर, यहाँ सबैको कागज छ सबै पास छन ।’ ट्राफिक प्रहरीले रोडमा नियमित चेक जाँच गर्ने काम गरिरहेको छ । रोडमा ट्राफिक प्रहरीले सवारीको जाँच पास हुन्छ त्यो ठीक छ की छैन, समयमा त्यो नवीकरण गर्नुभएको छ की छैन भन्ने कुरा हेर्छौ । यातायात कार्यालयबाट सवारी जाँच पास गर्नुपर्ने हुन्छ त्यो छ छैन भनेर हामीले नियमित हेरिरहेका हुन्छौं ।’ पछिल्लो समय ट्राफिक प्रहरीले सवारीको कागजपत्र चेकजाँच गर्दा समस्या नै भेटाएका छैनन् । कागजमा पास भएका सवारी साधनको पनि धुँवा अत्याधिक कालो फाल्ने देखिएको उनी सुनाउँछन । बुधबार परीक्षणसँगै सवारीको कागजपत्र नियन्त्रणमा लिएर आवश्यक कारवाहिका लागि यातायात कार्यालयमा पठाउने उनले सुनाए । उनका अनुसार सबै सवारीसँग जाँच पास छन् । कालो धुँवा पर्यावरणका लागि निकै प्रतिकुल रहेको छ । यसले गाडी सँगै अघि पछि हिड्ने सावरीलाई समेत निकै असर गर्ने गरेको छ ।
यातायात व्यवस्था सवारी कार्यालय कास्कीका प्रमुख डिल्ली रिज्यालले कार्यालयमा प्रदुषण जाँच भएपनि फिल्डमा पहिलो पटक परीक्षण गरिएको बताए । ‘प्रदुषण जाँच गर्ने प्रक्रिया कार्यालयमा त निरन्तर भइरहेकै हो तर, यसरी फिल्डमा जाचेको पहिलो पटक हो यो अब नियमित हुन्छ’ उनले भने । बुधबार डिजेलबाट चल्ने सवारीको परीक्षण गरिएको हो । परीक्षणमा अब निरन्तरताको आवश्यकता रहेको उनले सुनाए ।अब सवारी जाँच पास गर्दा प्रदुषणको जाँच पनि अनिवार्य गराउने उनी सुनाउछन् । उनका अनुसार बढी प्रदुषण हुने गाडीलाई कारवाहि र जफत गरिनेछ । पहिलो चरणमा चेतावनी दिने र पुनः परीक्षण गर्दा पनि कैफियत पाएमा रुट खारेजीदेखी चल्न नसक्ने अवस्थासम्म बनाउने उनले सुनाए ।
वायुमा प्रतिकुल असर
विशेषगरी पोखराको सडकमा गुड्दै गर्दा सार्वजानिक सिटीबसले अत्याधिक कालो धुँवा फालेको देखिन्छ । पोखराको सभागृदेखि न्युरोड हुँदै विपिचोकसम्मको सिधा सडकमा बढी गतिमा हुइँक्याउने हुँदा कालो धुँवा कति फाल्छ भन्ने प्रस्ट हुन्छ । सवारीले फाल्ने यो कालो धुँवा अहिले पोखरामा देखिएको जुन प्रदुषित तुवाँलो छ त्यसको कारक हो ।
यान्त्रिक परीक्षणमा गाडीको ओपासिटी परीक्षण हुन्छ । ओपासिटी भनेको गाडीको धुँवामा हुने कालोको मात्रा हो । गाडीको आयू,इन्धन वा अवस्थाले ओपासिटी निर्धारण हुन्छ । जसको मापनले धुँवा कति प्रदुषित भन्ने यकिन हुन्छ । ओपासिटि अनुसार कालो धुवाँ ३० प्रतिशत भन्दामाथि गयो भने त्यो फेल हुन्छ ।
सवारीको कन्डिसन ठीक नहुनु भनेको इन्जिनमा खराबी आउने हो । अधिकतम ठूला गाडीमा तेल राम्रो नहाल्नु, समयमा सर्भिसिङ नगर्ने र एयरफिल्टर समयमा परिवर्तन नगर्दा खराबी देखिन्छ । पोखरामा डिजेल सवारी र पेट्रोल सवारी जाँच गर्ने मेसिनको अभाव रहेको छ । यातायात कार्यालयमा सेवाग्राहीले निवेदन दिएको खण्डमा मात्रै सवारी परीक्षण गर्दै आइरहेको छ । यसको समाधान भनेको समयमै सवारी मर्मत तथा सर्भिस गर्नु हो । कालो धुँवा फाल्दा नाइट्रस अक्साइड, कार्बनमोनो अक्साइड, हाइड्रोकार्वन जस्ता ग्यास निस्कन्छ । जसले वायुमा प्रतिकुल असर गरिरहेको छ । उसो त पोखरा उपत्यका क्षेत्र भएकाले तुँवाले लाग्नु सामान्य हो तर, तुवालेमा देखिएको प्रदुषण भने निकै असामान्य छ ।





