बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यकः प्रमुख आचार्य

स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यकः प्रमुख आचार्य


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८१, बिहिबार

पोखरा/पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त छन्, भन्ने विषयमा केन्द्रित थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थालगायत महानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण हस्पिटल तथा सेवा प्रदायक संस्थालाई किशोरकिशोरी मैत्री सेवायुक्त बनाउन निर्देशन दिए । स्वास्थ्य सेवामा सबै वर्गको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले दावी गरे । यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले किशोर किशोरीमा उमेर नपुग्दै हुने गरेको विभिन्न क्रियाकलापका कारण उनीहरूको स्वास्थ्य अवस्था जोखिममा पर्दै गएकोप्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गरे । स्वास्थ्य सम्बन्धी सचेतनाको अभावका कारण किशोरकिशोरीमा देखिएको यस प्रकारको समस्याले भविष्यमा गम्भीर असर गर्ने उनले बताए ।

पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहदेखि नै उपयुक्त शिक्षा दिनुपर्ने आवश्यकतामा जोड दिइन । किशोर अवस्थाको असावधानीले भविष्यमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या आउन सक्ने भएकाले समयमा नै यससम्बन्धी सेवालाई पहुँचयुक्त बनाउनु पर्ने उनले बताइन ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जनसमुदायमा मास स्केलमा स्वास्थ्य सचेतना सम्बन्धी वकालतको आवश्यक रहेको बताए । यससम्बन्धी सेवा प्रदान गर्ने सरकारी निकायमा जनशक्तिको अभाव, कम उमेरमा हुने विवाह र सामुदायिक रूपमा जनचेतना अभिवृद्धि चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा.डमरु पनेरुले स्वास्थ्यका सन्दर्भमा मानिसको जीवनशैली चिन्ता गर्नुपर्ने अवस्थामा रहेको बताए । मानिसहरू आफ्नो स्वास्थ्यको नियमित चेकजाँच र स्वस्थ जीवनशैलीमा आधारभूत सवालमा सचेत रहन नसकेको उनले उल्लेख गरे । किशोरावस्थामा हुने स्वास्थ्य सम्बन्धी लापरबाही र कमजोरीहरू भविष्यमा गम्भीर चुनौतीका रूपमा देखिन सक्नेप्रति सचेत रहन उनले सुझाए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सिनाले आफूहरू महानगरद्वारा सञ्चालित अस्पताल लगायत संस्थालाई किशोरकिशोरीमैत्री सेवायुक्त बनाउन लागि परेको दावी गरे । महानगरको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रमका फोकल पर्सन सत्यराज साँखीले महानगर क्षेत्रमा यस प्रकार सेवाको विस्तारमा जोड दिइएको बताए ।

राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार १५–१९ वर्षका १४ प्रतिशत किशोर किशोरी गर्भवती हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा कुल प्रजननको १.४ प्रतिशत प्रजनन दर यही उमेर समूहका किशोर किशोरीमा छ । करिब ३१ प्रतिशतले चाहेको बेला परिवार नियोजन सेवा प्राप्त गर्न नपाउने अवस्था छ । गत आर्थिक वर्ष २०७९/८० मा २० वर्षमुनिका झण्डै २ हजार किशोर किशोरीहरू गर्भवती भएको तथ्याङ्क स्वास्थ्य कार्यालय कास्कीको अभिलेखमा छ । गर्भपतन गराउने २० वर्षमुनिका किशोर किशोरीहरूको सङ्ख्या पनि डरलाग्दो रहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।

किशोर किशोरीहरूको स्वास्थ्यका सन्दर्भमा विभिन्न कार्यक्रम मार्फत काम गरिरहेको मोमेन्टम परियोजनाका कार्यक्रम संयोजक सुदिप अर्यालका अनुसार सामुदायिक स्वास्थ्य सचेतना अभिवृद्धि र किशोर किशोरीहरूलाई आफ्नो स्वास्थ्य प्रति प्रतिबद्ध बनाउन सरकारको स्वास्थ्य सम्बन्धी नीति र संयन्त्रहरूमा व्यापक सुधारको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->