
३० को बहुमतले मान्यता पाउने सत्तापक्षको दाबी
पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले २३ गते विश्वासको मत लिने तयारी गरेका छन । गत चैत २५ गत मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संविधान अनुसार वैशाख २५ गते विश्वासको मत लिनैपर्ने हुन्छ । त्यसको लागि प्रदेशसभा सचिवालयमा २१ गतेभित्र जानकारी गराइसक्नुपर्ने हुन्छ ।
‘२४ गतेसम्म लिनैपर्ने हुन्छ, त्यो भन्दा अगाडि नै लिने कि भन्ने छ,’ सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले भने । गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया विवादित बनेर सर्वोच्चमा मुद्ध परेको थियो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख सहितलाई गणना गरेर मुख्यमन्त्री नियुक्त गरेको भन्दै नियुक्ती प्रक्रिया नै खारेज गर्न माग गरेका थिए । तर, सर्वोच्चले उक्त रिट खारेज गर्दै अधिकारी सरकारलाई विश्वासको मत लिने प्रक्रियामा जान आदेश दिएको थियो ।
सर्वोच्चले गण्डकीका ६० प्रदेश्सभा सदस्य मध्ये सभामुखलाई गणना नगर्दा पनि ३० जनाको समर्थन देखिएको उल्लेख गरेको छ । तर, विश्वासको मत पाउनको लागि ३१ सांसदको समर्थन चाहिने वा ३० ले नै बहुमत पुग्छ भन्ने अर्को बहस गण्डकीमा चलेको छ । सत्तारुढ दलले चाहिँ ३० ले नै बहुमत पुग्ने दाबी गरेका छन ।
‘सर्वोच्चले नै बहुमत पुग्छ भन्ने आदेश गरेको छ । तर पनि हामीले अरु दलसङ्ग सरसल्लाह गर्दैछौँ,’ चुमानले भने । प्रतिपक्षी काङ्ग्रेसले भने ३१ जनाकै समर्थन चाहिने संवैधानिक व्यवस्था नै रहेको बताउँदै आएको छ । यदि ३० सांसदकै बहुमत देखाएर विश्वासको मत लिएको खण्डमा पुनः यो विषय सर्वोच्च पुग्ने सम्भावना छ ।





