बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

चुस्त सेवा, स्वस्थ नागरिक

चुस्त सेवा, स्वस्थ नागरिक

समृद्विका लागि योगदान दिनसक्ने स्वस्थ नागरिक उत्पादन गर्ने जैमिनीको लक्ष्य ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८१, शुक्रबार

कुनै समय रिफर सेन्टरका रुपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा अहिले दैनिक बिरामीको चाप हुन्छ । दरबन्दीका चिकित्सक हाजिर हुने र बिदामा हिँड्दा स्वास्थ्य केन्द्र सधैं स्वास्थ्यकर्मीको भरमा चल्थ्यो । डा. सुलभ शर्मा र कृष्ण सुवेदी सहितको टोलीले सेवा दिन थालेपछि नगर अस्पतालको रुपमा विकास भैरहेको स्वास्थ्य केन्द्र बिरामीको आडभरोसा बनेको छ । अहिले स्वास्थ्य केन्द्रमा आधारभुत तहको सबै स्वास्थ्य सेवा उपलब्ध छन् । उपकरण र प्रविधिले साथ दिँदासम्म चिकित्सकले बिरामी बाहिर पठाउँदैनन् ।

स्वास्थ्य केन्द्रलाई चुस्त व्यवस्थापन र बिरामीमैत्री बनाउन जैमिनी प्रयासरत छ । आधुनिक उपचार पद्धती अनुसारको सेवा प्रवाहमा तत्कालै पुग्न नसके पनि उपलव्ध जनशक्ति र प्रविधिको भरपुर प्रयोग गरेर सेवालाई चुस्त बनाउने काम भैरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन् । करारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको नियुक्तीदेखि उपकरण, औषधि, तालिम र सचेतनामा नगरले लगानी बढाईरहेको छ ।

स्वास्थ्य केन्द्र मात्रै होईन प्राथमिक स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकमार्फत जैमिनीले नागरिकको स्वास्थ्य उपचार गर्ने र रोग नै लाग्न नदिन अनेकौं प्रयत्न गरिरहेको छ । नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना गर्न कार्यविधि बनाएको छ । कोषमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नगरको योजना छ । कोषबाट सबै नागरिकले आधारभुत र विशेषज्ञ स्वास्थ्य सेवा पाउने वातावरण बनाईने नगरप्रमुख नरबहादुर पुनले बताउँछन् ।

चालु आर्थिक वर्ष ८०÷८१ मा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने नीति लिएको जैमिनीले विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायसम्म विस्तार गर्न एकीकृत स्वास्थ्य शिविर, पाठेघरको निशुल्क अप्रेसनको व्यवस्था, किशोरकिशोरीलाई स्वास्थ्य संस्था र विद्यालयसंगको समन्वयमा ‘विद्यालय नर्स’ कार्यक्रम संचालनमा ल्याएको छ । नागरिकको स्वास्थ्यकर्मीबाट समुदाय स्तरमा तथ्यांक संकलन गरी बिरामीको स्वास्थ्य परीक्षण र उपचारको लागि ‘घर घरमा स्वास्थ्यकर्मी सेवा’ कार्यक्रम संचालनमा ल्याएको छ । प्रविधिमैत्री उपचार सेवा कार्यक्रममार्फत नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, गर्भवती आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि ‘गर्भवतीको साथी पोषण’ कार्यक्रम संचालन गर्ने, कालिगण्डकी करिडोरमा सडक शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्न जग्गा प्राप्ति भैसकेको छ ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन जैमिनीले विपन्नको निशुल्क स्वास्थ्य बिमा, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायसम्म विस्तार गर्न एकीकृत स्वास्थ्य शिविर, पाठेघरको निशुल्क अप्रेसन, किशोरकिशोरीका विद्यालय नर्स कार्यक्रम संचालनमा ल्याएको छ ।

खोप सेवाको गुणस्तरियता कायम राख्दै सुक्ष्म योजनासहित पुर्णखोप दिगोपनालाई सुनिश्चित गरिने नीतिलाई नगरले कार्यान्वयन गर्दैछ । नगरमा बहुक्षेत्रीय पोषण कार्यक्रम संचालन भएको छ । गर्भवती आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि गर्भवतीको साथी पोषण लगायतका कार्यक्रमद्वारा पोषणयुक्त नगर बनाउन स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कार्यक्रमलाई निरन्तरता दिईएको छ । गर्भवती भएदेखि १५ महिनासम्म स्वास्थ्यकर्मीको हेरचाहमा पूर्ण पोषण सेवा उपलव्ध गराएको छ । सबै स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको पदपुर्ति र नेपाने शहरी स्वास्थ्य केन्द्रलाई आधारभुत स्वास्थ्य केन्द्रमा स्तरोन्नतिको काम सुरु भएको छ । ‘स्वस्थ नागरिकले मात्रै समृद्ध नगरका लागि योगदान गर्न सक्छन्, हामी स्वस्थ्य नागरिक उत्पादन गर्ने अभियानमा छौं’ शर्मा भन्छन् ‘यो कार्यकालमा स्वास्थ्य क्षेत्र बलियो बनाउने गरी काम भईरहेको छ ।’

नगर अस्पतालको पूर्वाधार विकास, प्रभावकारी सेवा वृद्वि र प्रबिधिमैत्री बनाउने अभियान जैमिनीमा चलिरहेको छ । सुत्केरी महिला, आकस्मिक बिरामी र जटिल दुर्घटनाबाट जोखिममा परेका नागरिकहरुको उद्धारको लागि सबै वडामा पहुँच पुग्ने गरी एम्बुलेन्सको व्यवस्थापन नगरले सुरु गरेको छ । वडामा हेली उद्धारको लागि हेलिप्याड निर्माण भएका छन् । ‘देख्दा मसिना लाग्ने तर जनताका लागि अत्यावश्यक र जीवनसँग जोडिएका स्वास्थ्य पूर्वाधार निर्माणमा हामी चुक्नु हुँदैन्’ उनी भन्छन् ‘जनताको जीवनरक्षा जैमिनीको प्राथमिकता हो ।’ गर्भको जटिलता पहिचान गरी आवश्यकता अनुसार प्रेषण गर्न घुम्ति सेवामार्फत गर्भवतीका लागि ‘ग्रामिण भिडियो एक्सरे सेवा’लाई निरन्तरता दिएको छ । सबै स्वास्थ्य संस्थामा अत्यावश्यकीय औषधी तथा औषधीजन्य सामाग्रीको वर्षभरी नै नियमित आपुर्ति गरेको नगरले प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता र पहुँच बढाउँदै लगेको छ । स्वास्थ्य बिमाबाट प्राप्त हुने औषधिलाई मेडिकल अधिकृतको उपस्थितीमा घुम्ती सेवामार्फत वितरण गर्ने व्यवस्था गरिएको छ ।

जैमिनीले विपन्न नागरिकलाई मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियालगायत ८ प्रकारका रोगको उपचार गर्नका लागि एक लाख सम्मको सहुलियत सहितको विपन्न नागरिक उपचार गराउने सिफारिस तथा मृगौलाको प्रत्यारोपण, डाइलाईसिस, क्यान्सर, स्पाईनल इन्जुरीका बिरामीले प्रतिमहिना पाउने पाँच हजार उपचार खर्च प्राप्त गर्न सहज व्यवस्था गरेको छ । विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदाय स्तरसम्म विस्तार गर्न एकीकृत स्वास्थ्य शिविर संचालन गरेको नगरले एकै पटक कयौं रोगका बिरामीको उपचार गराएको छ । नगरले सञ्चालन गरेको शिविरबाट पहिचान भएका बिरामीले ठुला अस्पताल पुगेर स्वास्थ्य सेवा लिएका छन् । नगरपालिकाले आफ्ना नागरिकलाई सुगर र प्रेसर भएमा निशुल्क औषधिको अतिरिक्त थप दुई प्रकारका औषधिको व्यवस्था मिलाएको छ । स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम बस्ती तथा जोखिमयुक्त स्थानमा क्षयरोग र कुष्ठरोगका बिरामीको खोजपड्ताल कार्यक्रम संचालनको तयारीमा समेत जैमिनी जुटेको छ ।

स्वस्थ्य क्षेत्रमा निधानात्मक र प्रबद्र्धनात्मक कार्यक्रम एकसाथ चलाईरहेको नगरले विद्यालयका किशोरकिशोरी उमेर समुहका विद्यार्थीलाई स्थानीय स्वास्थ्य संस्था र विद्यालयसँगको समन्वयमा विद्यालय नर्स कर्यक्रम, पोषण सेवा, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामुलक स्वास्थ्य शिक्षाका कक्षाहरु संचालन गरेकोे छ । नगरले आयुर्वेद उपचार पद्धतिको उचित प्रवर्धन र प्रयोग गर्दै आयुर्वेद औषधालयबाट प्रदान गरिने सेवालाई चुस्त र प्रभावकारी बनाएको छ । आयुर्वेद पद्धतीमार्फत उपचारात्मक, प्रबर्धनात्मक तथा प्रतिकारात्मक सेवा प्रदान गरिएको छ । प्रभावकारी उपचार हुने रोगहरु तथा नसर्ने रोगहरुको व्यवस्थापनको लागि आहारविहार, दिनचर्या, ऋतुचर्या, जडिवुटी, योग तथा जीवनशैली व्यवस्थापनको उचित प्रयोग गर्न प्रोत्साहन, उपकरण र औषधीको व्यवस्थापनमा नगरले लगानी समेत बढाईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->