शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

गौ सेवाका लागि सञ्चालित महायज्ञमा ४६ लाख बचत

गौ सेवाका लागि सञ्चालित महायज्ञमा ४६ लाख बचत


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८१, आइतबार

पोखरा/ राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा ७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जनाए । महायज्ञ सञ्चालनका क्रममा २३ लाख ७२ हजार ७२७ खर्च भई ४६ लाख ३५ हजार ४० बचत भएको छ । सङ्कलित दान रकममा १ लाख ६६ हजार ६६६ बराबरको चेक नसाटिएको आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्र स्थलका रूपमा विकास गर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए । भौतिक विकासका अलवा सामाजिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय र मानव संसाधनको विकास समेत अपरिहार्य रहेको उल्लेख गर्दै उनले परम्परागत संस्कार र संस्कृतिको समेत रक्षा गर्नुपर्ने बताए ।

कुनै पनि पशुचौपायाअनुत्पादक भएपछि त्यसलाई सडकमा छोड्ने कार्य दण्डनीय हुने भन्दै त्यस्तो कानुन विपरीत र अमानवीय कार्य नगर्न.नगराउन आचार्यले आग्रह गरे । फोहोरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला महानगरको सहयोग तथा राष्ट्रिय परोपकार महासंघको व्यवस्थापनमा गोकुलधाम सञ्चालनमा आएपछि पोखराको सहरी सौन्दर्यीकरण र सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुगेको उनको भनाई थियो । गोकुलधाम (गौशाला) व्यवस्थापनका सन्दर्भमा पोखरा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने उनले बताए । पोखरा महानगरपालिका वडा नं १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले धार्मिक रूपमा महत्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने भन्दै त्यसका लागि गोकुलधाम नै काफी हुने बताए । वर्षौँदेखि फोहोर फ्याँक्ने स्थलका रूपमा परिचित पोखरा १४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्र स्थलका रूपमा विकसित हुँदै गएको उनको भनाई थियो ।

राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत आदिशास्त्र बाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले गोकुल धामको प्रारम्भ गरिएको बताए । उनले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापलाई जोड्न यो महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे । ‘‘यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठ मात्र होइन, नजरले हेर्‍यो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चीकै गौशाला हुन्छ,’ गौतमले भने, ‘यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउस होइन यो, कान्जी हाउस पहिला थियो, अव यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।’ गोबर र गौमुत्रको प्रशोधनको प्रक्रिया सुरु गरिएको र जसको उपयोग मार्फत दशौँ रोपनी बन्जर जमिनलाई अर्गानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उनले बताए ।

गौशाला परिसरमा ३६५ प्रजातिका डाले घाँसका बिरुवाहरू रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले जानकारी दिए । गो बंस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन भन्ने कुरा जगलाई स्मरण गराउनका लागि यो अभियानको थालनी गर्न लागिएको उनको भनाई थियो । गौशालाले विशुद्ध गौ मातासँग जोडिएर गर्न सकिने उपचारका पद्धतिहरू, अध्ययनका विद्याहरू, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामाग्रीहरू उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशा तर्फ लैजाने योजना समेत गौतमले सुनाए ।

राष्ट्रिय परोपकार महासंघको १६ औँ वार्षिक उत्सवका अवसरमा गत पुस २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा माघ ४ गतेसम्म सञ्चालित ज्ञान महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनहरूले कथा श्रवण गरेका थिए । महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिनेछ । हाल गौशालामा ३५० बढी गाईवस्तुहरु संरक्षित छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->