पोखरा/ गण्डकी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेकाले मध्यावधि निर्वाचन रोक्न विश्वासको मत दिनुपर्ने बताएका छन ।
मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा मागेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै चुमानले यस्तैयस्तै कारणले मध्यावधितिर जाने त होइन भन्दै मुख्यमन्त्रीको विश्वासको मत दिनुपर्ने भनेका हुन । प्रदेशसभामा कुनै प्रस्तावको पक्षमा बराबर मत परेमा सभामुखले निर्णायक मत दिनसक्ने भन्दै चुमानले बताए । सभामुखको भूमिका के हुने, कस्तो हुने भन्ने विषयमा पनि अझै व्याख्या हुन जरुरी रहेको जनाए । संसदै नरहने अवस्था आउँदा सभामुखको भूमिका के हुने ? निर्णायक मत भनेको के हो ? त्यसको पनि व्याख्या हुन जरुरी रहेको चुमानले बताए । उनले भने, ‘जोर संख्या भएको प्रदेशमा समस्या छ । व्याख्या हुँदै गएको छ र अझै हुँदै जालान् ।’





