पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेका छन । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्नसके सबैको जीवन सुरक्षीत हुने भन्दै उनले यस्तो आग्रह गरेका हुन । ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उनले भने ।
शरीरमा रोग लाग्न नदिनका लागि आहार विहारमा ध्यान दिए जस्तैगरी ट्राफिक नियमहरू पालना गर्न झन्झट नमानी सरल रुपमा लिनुपर्नेमा उनको जोड थियो । दुर्घटनाको मूख्य कारण मानवीय लापर्बाही हुने तथ्यांकले देखाएको भन्दै यसलाई घटाउन सबैजना सचेत बन्नुपर्ने उनले बताए । कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारीचालकको लापर्बाहीका कारण हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । यसैगरी यात्रुका कारण ८ दशमलव ८२ प्रतिशत, यात्रीका कारण ६ दशमलव ६८ प्रतिशत र सडकका कारण ६ दशमलव ९५ प्रतिशत दुर्घटना भएका छन् ।
‘प्रस्तुत तथ्यांकले दुर्घटनामा प्रतिशतका आधारमा मानवीय लापर्बाही नै प्रदान देखियो, नियम उल्लङ्घन कुराले धेरैं क्षती भइरहेको हुन्छ, नियम र पद्धतीमा चल्यौँ भने कहिल्यै समस्या हुँदैन’ मुख्यमन्त्री अधिकारीले भने ।
विद्यालयमा अध्ययनरत भाइबहिनीले जागरणको रुपमा लिएर सचेतना प्रदान गर्न भूमिका खेल्न सकेको खण्डमा सभ्य समाज निर्माणमा सहजता हुने उनले बताए । आफ्नो अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन, किशोरीको आत्मरक्षा लगायत सम्बन्धमा कक्षा ८ र ९ का विद्यार्थीलाई जानकारी दिन पाठ्यक्रम बनाउन सुरु गरेको भन्दै त्यसलाई अब पूर्णता दिएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत मुख्यमन्त्री अधिकारीले जनाए । ट्राफिकका सबै नियम पालना गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रहरीको अभियानमा आफ्नो सदैव साथ रहने उनले बताए ।
गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा ३ सय २२ वटा सवारी दुर्घटना हुँदा १ सय ५५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ । ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म चल्नेछ । शुभारम्भ कार्यक्रम अगाडि पोखराको चिप्लेढुंगाबाट सभागृहहलसम्म मुख्यमन्त्री अधिकारीसमेतको सहभागितामा प्रभातफेरी कार्यक्रम भएको थियो ।





