पोखरा/पोखरा १५ कोलपाटनमा निर्माणाधिन पानी ट्यांकी विवादमा राज्यले निर्णय लिन नसक्दा काम रोकिएको छ । पोखरालाई शुद्ध पानी धारामै आउने खबरले हौसियका पोखरेलीले अझै लामो समय पर्खनुपर्ने बाध्यता आइलागेको हो । जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) को०७६ सालमा ३ वर्षभित्र सक्ने गरी शुद्ध खानेपानी सुधार (सुद्धिढिकरण ) परियोजाको शिलान्यास गरिएपनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन् । आयोजनाको ०.७५ प्रतिशत कामले पुरै आयोजनालाई असर गरिरहेको छ । ९८.२५ प्रतिशत काम सम्पन्न भएको परियोजनामा कोलपाटनमा बन्ने ट्यांकीको काम रोक्न परेपनि जाइका चिढिएको छ । आफ्नो योजनाअनुसार ट्यांकी बनाउन नपाएपछि परियोजना नेपाल सरकारलाई बुझाउने तयारी गरिरहेको छ । ४ अर्ब ८१ करोड १३ लाख जापानी यान अनुदान सहयोगमा बन्न लागेको योजना बीचमै अलपत्र पर्दा यतिबेला पोखरा काकाकुल बनेको छ ।
जाइकाले पोखराको ३ क्षेत्रमा ठूला पानी ट्याङकी निर्माण कार्य अघि बढाएको थियो । पोखरा ११ फुलबारी, पोखरा ५ प्रस्याङ र पोखरा १५ कोलपाटन । २०७४ साल फागुन ४ गते जाइका र अर्थ मन्त्रालय बीच मेलम्ची पछिकै ठूलो खानेपानी आयोजना पोखरा खानेपानी सुधार आयोजना निर्माण गर्ने अनुदान सम्झौता भई ०७५ चैत ५ गते जापानकै निर्माण कम्पनी हाज्म एन्दो कर्पोरेसनले ठेक्का पाएको थियो । ०७६ जेठ २९ गते तत्कालीन खानेपानीमन्त्री बिना मगरले आयोजनाको शिलान्यास गरेपछि निर्माणकार्य अघि बढ्दै पोखराका फूलबारी, प्रस्याङ र कोलपाटनमा तीन वटा खानेपानी ट्यांकी निर्माण भएको थियो । प्रस्याङ र फुलबारीमा जमिन सतहमै ट्यांकी बनाइयो भने, पोखरा १५ कोलपाटनमा ३१.८ मिटर अग्लो ओभरहेड ट्यांकी निर्माण शुरू गरियो । यो ट्यांकीबाट पोखरा महानगरपालिका वडा नम्बर १०, १४, १५ र १७ का करिब ३४ हजार जनसंख्यालाई खानेपानी वितरण गर्ने लक्ष्य थियो । ट्यांकी ३४ हजार जनताका लागि भएतापनि निकट भविष्यलाई हेरेर एक लाख जनसंख्यासम्मलाई पानी उपलब्ध गराउने गरी ०७६ कात्तिक १७ गते ट्यांकी निर्माण शुरू गरेपनि सोही वर्षको अन्तिम तिर काम ठप्प भएको हो ।
ट्यांकीको बेस बसाल्दै जाँदा चुपचाप विमानस्थल आयोजना ट्यांकीको अन्तिम चरणको काम सुरु हुन लागेपछि प्रश्न गर्न थालेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभाव पार्ने भन्दै निर्माण कार्य रोक्न ०७८ असार ११ गते खानेपानी संस्थानको शाखा कार्यालय पोखरालाइ निर्देशन दिएको थियो ।
कोलपाटनको ओभरहेड ट्यांकी नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पश्चिमतर्फ १.४५ किलोमिटर टाढा, पोखरा महानगरपालिका–१५ को वडा कार्यालय भवनसँगै छ। विमानस्थल आयोजनाले यो ट्यांकी विमानस्थलको ‘अब्स्ट्रयाकल लिमिटेसन सरफेस’भित्र पर्ने भएकाले हवाई उडान सुरक्षामै गम्भीर असर पर्ने बताउँदै आएको छ। यही दाबीसहित उसले ट्यांकीको निर्माणकार्य रोक्न खानेपानी संस्थानको शाखा कार्यालयलाई पत्र पठाएको थियो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा ट्यांकी भन्दा ठूला घरहरुले असर नगर्दा ट्यांकीले असर गरेको सुनाए । उनका अनुसार वडा १५ मै पनि ठूला घरहरु छन् । ‘ठूला घरहरु पनि छन् । त्यसले असर गरेन यो ट्यांकीले असर ग¥यो यो विषयमा छलफल भइ चाडै टुंगो लाग्नुपर्छ’ मेयर आचार्यले भने, ‘यो केन्द्र सरकारले गर्ने काम हो । छलफलमा ट्यांकी काट्ने कुरा चर्चामा छ जे छ त्यसैमा बनाएपनि नमिल्ने होइन यहाँ रनवेलाई असर गर्छ भनिएको छ असर नै गर्ने भए त हामीले पनि भन्नु केहि छैन होइन भने पोखरालाई पानीमा अन्योल पार्नु हुँदैन ।’ उनका अनुसार जापानी टोली आउने योजना भएपनि मौसम खरावीले फर्किएका थिए ।
वडा नं. १५ का वडाअध्यक्ष तोरण बानियाँले ०७२ सालबाट सुरु भएको कामले अहिले आफहरुलाई दुःख दिएको बताए । उनले नेपाल सरकारले वडा १५ र महानगरलाई यस बारेमा प्रश्न गरिरहेको जानकारी गराए । ‘यो हाम्रो पालामा भएको काम होइन पहिले नै भएको र रोकिएको काम हो’ बानियाँले भने, ‘हाम्रो माग भनेको यो वडासँगै आसपासका वडावासीले पनि पानी पिउन पाउनु प¥यो भन्ने हो ।’
उनका अनुसार गत शुक्रबार नेपाल सरकारका खानेपानी मन्त्री राजेन्द्र कुमार राई, सचिव सुरेश आचार्यसहितको टोलीले अनुगमन गरेर यसका लागि महानगरले निर्माण कार्य गर्न किन अनुमति दिएको भनि प्रश्न गरेका थिए । ठूला परियोजना निर्माणमा दोषिको भन्ने कुरा अनुसन्धान गरेर पानीको समस्या समाधान गर्नुपर्नेमा बानियाले जोड दिए । जाइकाले ट्यांकी निर्माण गर्न नपाउने भएपछि काम छाडेको उनी सुनाउँछन । ‘जाइकाले आफ्नो योजनाअनुसार काम गर्न नपाएपछि अहिले काम रोकिएको छ । बीचमा हामीले निकै अनुरोध गरेपनि पाइप विछ्याउने काम उहाँहरुले गरिदिनुभयो’ उनले भने, ‘अब चाडैनै यसलाई नेपाल सरकारलाई बुझाउने तयारी जाइकाले गरेको छ । यस्तो भयो भने भोलिका दिनमा नराम्रो असर गर्नेछ ।’
०७८ साउन ४ गते अर्को पत्र पठाएर ट्यांकीको उचाइ १५ दशमलव ५७ मिटरमा झार्न अर्को निर्देशन दियो । कोलपाटनको ट्यांकी विमानस्थलको ‘अप्रोच सरफेस’ नजिकैको ‘ट्रान्जिसनल सरफेस’भित्र परेको, ट्यांकीको जमिनको सतह एमएसएल ८१५.४० मिटर रहेको रनवे–१२ को थ्रेस–होल्डको अधिकतम उचाइ जमिनको सतहबाट १५ दशमलव ५७ मिटर भित्र हुनुपर्ने विमानस्थल आयोजनाको तर्क थियो । त्यतिञ्जेल २० मिटर अग्लो ट्यांकी निर्माण गर्दा जाइकाले १४ करोड रुपैयाँ खर्च गरिसकेको थियो। त्यसलाई ३१ दशमलव ८ मिटर उचाइको बनाउन थप ११ करोड रुपैयाँ खर्च गर्ने योजनामा जाइका थियो ।
खानेपानी मन्त्रालयले ०७८ माघ १६ गते खानेपानी तथा ढल व्यवस्थापन विभागका तत्कालीन उपमहानिर्देशक सूर्यराज कँडेलको संयोजकत्वमा अध्ययन टोली गठन गरेपनि उचित निष्कर्ष निकाल्ने भने सकेनन् । समितिको प्रतिवेदनमा कोलपाटनको ट्यांकी काट्दा पोखरा शहरमा गरिने खानेपानी वितरणमा गम्भीर असर पर्ने र ट्यांकीको उचाइ घटाउन नहुने, बरु यसको विकल्प खोज्न मन्त्रालयलाई सुझाव दिइएको थियो ।
प्रतिवेदनमा दिएका सुझावलाई आधार मानेर कोलपाटनमा निर्मित ओभरहेड ट्यांकीको संरचना नकाट्ने, बरु ट्यांकी यो भन्दा थप अग्लो नबनाउनेमा खानेपानी मन्त्रालयसँगै जाइका पनि सहमत भयो । तर क्यानले ट्यांकीको उचाइ घटाउनै पर्ने र ट्यांकी काट्दा करिब ६४ करोड रुपैयाँ खर्च हुने जाइकाको परामर्शदाता याचियो इन्जिनियरिङको निष्कर्ष थियो ।
प्रोजेक्ट म्यानेजर आशिष कार्कीले केन्द्रले निर्णय गर्न नसक्दा अहिले काम रोकिएको बताए । उनले आफुहरुले उक्त ट्यांकी निर्माण नभएपनि पोखरालाई शुद्ध पानी पिलाउन सक्ने अवस्था रहेको सुनाए । ‘यो केन्द्रले निर्णय गर्ने कुरा हो । हामी धेरै बोल्न मिल्दैन । पाँच वटा अप्सनहरु छन् ती मध्ये एउटामा मात्रै निर्णय गरिदियो भनेपनि योजना पुरा हुने स्थिति रहन्छ’ उनले भने । उक्त विषयमा पोखराको होटल ग्रान्डमा उच्चस्तरीय छलफल समेत भएको छ ।





