गाउँको विकास गरिसक्दा त्यहीं गाउँमा बसिदिने जनता नहुने हुन् की भन्ने चिन्ता बढी छ । त्यसैले अबका दिनमा स्थानीय सरकारले बनाउने योजना जनतालाई गाउँमै बस्ने वातावरण सहितको हुनुपर्छ । त्यसका लागि गाउँमा गुणस्तरीय शिक्षा र प्रभावकारी स्वास्थ्य सेवा आवस्यक छ । त्यसबाहेक सहज सडक संजाल र गाउँघरमा उत्पादित कृषि फसलको बजारीकरण आवस्यक छ । युवाहरुले गाउँमै रोजगारी पाउनुपर्छ । पर्यटकहरु घुम्न आउने वातावरण बन्नुपर्छ ।
यी आवस्यकता पुरा गर्न नेपाल सरकारले सकेको छैन । स्थानीय तहबाट यो आस गर्नु केही महत्वकांक्षी हुन्छ । तर, पनि कतिपय पालिकाले थालेका काम तथा सेवाबाट बसाइसराइ रोकिएका छन् । गाउँमा बस्ने युवा तथा महिलाले रोजगारी पाएका छन् । गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानी त्यसको नमूना हो । पाण्डवखानीबासीले शिक्षा, स्वास्थ्य र स्थानीय उत्पादनमा केही सुधार गरेका छन् । केही बिषयमा भने फड्को नै मारेका छन् भन्दा फरक पर्दैन । बिशेषगरी शिक्षालाई गुणस्तरीय र ग्रामीण क्षेत्रमा स्वास्थ्यको आधारभूत सेवा दिने काममा नगरपालिकाको लगानी छ भने वडाबासीले गाउँमै गुणस्तरीय शिक्षाको अभियान चलाएका छन् ।
गाउँमै प्राविधिक शिक्षाको कक्षा संचालन गर्न सकेमा बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाउँछन् । त्यतिमात्र होइन त्यो शिक्षालाई आफ्नै बस्ती र समुदायमा अबलम्बन गर्न सक्नेछन् । त्यसको लागि पाण्डवखानीबासीले धेरै मेहेनत गरेको देखिन्छ । नगरपालिकाले पनि यो अभियानलाई साथ दिएको छ । पाण्डवखानी माबिमा प्राविधिक बिषयको अध्ययन÷अध्यापन गराउने लक्ष्यमा सबैको चासो बढेको हो । सोही अभियान स्वरुप पाण्डवखानीबासीले विद्यालयमा १० करोडको अक्षयकोष स्थापनाको अभियान चलाएका छन् । अक्षयकोषका लागि रकम संकलन भैरहेको छ । अहिलेसम्म ३ करोड ५२ लाख संकलन भएको वडा अध्यक्ष भक्त काउचाले बताए ।
शैक्षिक महायज्ञमार्फत विद्यालयले थालेको अभियानका लागि पाण्डवखानीबासी र पूर्व विद्यार्थीले साथ दिइरहेका छन् । विद्यालयले पूर्व विद्यार्थी डा. शेरबहादुर पुनको नेतृत्वमा आर्थिक संकलन अभियान थालेको हो । यो अभियानमा देशविदेशमा बस्ने सबैजना जोडिएको प्रधानाध्यापक नरबहादुर सुनारले बताए । यो अभियानलाई पूर्णता दिएर एकडेढ बर्षभित्रै १० करोडको अक्षयकोष बनाएर विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष उनले सुनाए ।
गुणस्तरीय र प्राविधिक शिक्षा अभियानका लािग स्थानीय मानसिंह छन्त्यालले मात्रै विद्यालयको २ कोठे भवन बनाइदिएका छन् । यो उदाहरण मात्रै हो । महिला जागरण केन्द्र पाण्डवखानीले पनि यहाँको खुलामञ्च र कार्यालय कोठा बनाइदिएको अध्यक्ष राधिका पुनले बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीका अनुसार यहाँका दर्जनबढी कोठाका लागि अभिभावक नै दाता आइसकेको बताए । हाल कक्षा १२ सम्म पढाइ भैरहेको यो विद्यालयमा प्राविधिक धारको कक्षा संचालन गर्न सकेमा बसाइसराइ रोक्ने र आत्मनिर्भर वडा बन्ने घर्तीले बताए ।
विद्यालयले संकलन गर्ने १० करोड भने खर्च नगर्ने योजना बनाएको छ । अक्षयकोषमार्फत आउने व्याजबाट प्राविधिक शिक्षाको कक्षा संचालन, शिक्षक तथा कर्मचारी दरबन्दीको काम पुरा गर्ने उनले बताए । यो विद्यालय सदरमुकाम बागलुङ देखि ७० किमी पश्चिममा पर्छ । नगरपालिकाको केन्द्र रहेको गलकोट पुग्न मात्रै यहाँबाट ३ घण्टा लाग्छ । ‘पालिका मुकाम पुगेर पढ्न नसकेका विद्यार्थीले गाउँघरमा पढ्न पाउने र प्राविधिक बिषय पढेर गाउँघरमै रोजगारी पाउन सक्छन्’ घर्तीले भने, ‘यो अभियानले दुर्गम गाउँलाई नमूना बनाउने हाम्रो लक्ष हो’ विद्यालयले ६२ औं वार्षिकोत्सवमा साताव्यापी हिरक महोत्सव समेत संचालन गरेको थियो ।
गाउँमै सुरक्षित सुत्केरीसहित आधारभूत स्वास्थ्य सेवा
नगरपालिका र वडाले पनि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको छ । त्यसबाहेक सहज सडकको काम प्राथमिकतामा परेका छन् । पाण्डवखानी स्वास्थ्य चौकीमा सुत्केरी सेवासहित आधारभूत सेवा संचालनमा छ । नगरपालिकाले बिशेष पहल गरेर पाण्डवखानीकै रमुवामा पनि आधारभूत स्वास्थ्य इकाई स्थापना गरेको छ । हजारौं रकम खर्चेर सदरमुकाममा सेवा लिनुपर्ने महिलाले गाउँमै सुरक्षित सुत्केरी सेवा पाएका छन् । ‘कोही पनि महिलाले सामान्य स्वास्थ्य परीक्षण गर्न समय र पैसाको बर्बादी गर्न नपरोस् भनेर रमुवामा स्वास्थ्य इकाई गठन गरेका हौं’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘यो अवस्थालाई अभैm सुधारको रुपमा लैजान्छौं ।’ नगरभर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष उनले सुनाए । वडा अध्यक्ष काउचा दुर्गम वडा भएकोले स्वास्थ्य सेवालाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिन्छन् । ‘नगारिकको स्वास्थ्य सेवालाई सहज बनाउन सकेमा अरु विकास बिस्तारै बढ्दै जान्छ’ काउचाले भने, ‘अधिकतम सेवा प्रवाहका लागि पहल भैरहेको छ ।’

अप्ठ्यारो भूगोलमा सडक स्तरोन्नती
सबैभन्दा अप्ठ्यारो भूगोलमा रहेकाले रमुवाको विकासमा नगरपालिकाले विशेष योजना ल्याउनुपर्ने वडाबासीको माग छ । नगरपालिकाले गण्डकी प्रदेशको सहकार्यमा मल्मदेखि पाण्डवखानी जाने सडकको स्तरोन्नतीको काम थालेको छ । यद्यपी यो सडक निर्माण ढीलाई भएपछि पालिकामार्फत पहल भैरहेको हो । पूर्वाधार विकास कार्यालय बागलुङमार्फत यो सडक निर्माण भएपनि ठेकेदार पक्षले एक करोड बढी रकम पाउन बाँकी छ । त्यसैले काममा ढीलाई भएको हो । तर समयमा भुक्तानी प्रक्रिया मिलाएर कामलाई अगाडि बढाउनेमा सबै सहमत छन् ।
कृषिलाई व्यवसायिकीकरण गर्दै महिला उद्यमी
पाण्डवखानीका महिला उद्यमीले कृषिलाई व्यवसायिकीकरण गरेका छन् । औषधिकै रुपमा प्रयोग हुने फापरलाई व्यवसायिक बनाउन स्थानीय उद्यमीले खेती बिस्तार गरेका हुन् । ‘मैले मात्रै यो वर्ष ५ मुरी फापर पलाएँ’ स्थानीय पवित्रा पुनले भनिन्, ‘आफ्ना उत्पादनको अर्गानिक ब्राण्ड बनाउने संस्थाको खोजी गरेका छौं ।’ मधुमेह लगायतका रोग भएकालाई औषधिकै रुपमा प्रयोग हुने फापर रोटी खान बढी प्रयोग हुन्छ । उच्च पहाडी क्षेत्रमा मात्रै फापर उत्पादन हुन्छ । पाण्डवखानीमा दशकदेखि रसायनिक मल भित्रेको छैन । रसायनिक मल नभएको, उपयुक्त हावापानीमा फलेको र पर्याप्त कम्पोष्ट मल प्रयोग भएकोले ब्राण्ड बनाउन सजिलो हुने अध्यक्ष काउचा बताउँछन् । पाण्डवखानीमा रैथाने बाली संरक्षणको योजना समेत बनेको छ ।
पाण्डवखानी र रमुवा उपत्यका जोड्न सहज सडकको पहल गरिरहेछौं
भक्त काउचा
वडा अध्यक्ष
वडा नं. १० गलकोट नगरपालिका
पाण्डवखानी गलकोटको दुर्गम तर सुन्दर क्षेत्र हो । पाण्डवखानी र रमुवा दुइवटा उपत्यका रहेको यो वडालाई सहज सडकको पहुँचमा जोड्ने हामीले पहल गरिहेका छौं । यो पहलसँगै केही खण्ड सडक बनिसकेको छ भने केही खण्डमा बन्दैछ । स्तरीय सडकलाई रमुवासम्म जोड्न सकेमा पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि बढाउन सकिन्छ । रमुवामा भीरमौरीको मह काढ्ने मेला समेत लाग्छ । यो मेलामा पर्यटक भित्राउन सकिन्छ । त्यस्तै रमणीय दृश्य, गुराँसका वनको दृश्यावलोकन, स्थानीय उत्पादनको रुपमा राडीपाखी, निगालोका सामान समेत बजारीकरण गर्न सकिन्छ ।

स्तरीय सडक भएमा पाण्डवखानी, रमुवाहुँदै बडिगाड गाउँपालिकाको रणसिंकिटेनी पुग्न सकिन्छ । यो सडकले पुनः भिमगिठेमा पुगेर मध्यपहाडी लोकमार्गलाई जोड्छ । पहाडी भूगोलको सडकले पर्यटक आर्कषण गर्न सकिन्छ । त्यसबाहेक पाण्डवखानी आँफैमा ऐतिहासिक बस्ती हो । महाभारत कालमा पाण्डवहरु बसेको स्थान भनेर चिनिने भएकोले अध्ययन अबलोकन गर्न चाहनेहरुका लागि यो उपयुक्त स्थान हो ।
पाण्डवखानी एकै स्थानमा गुजुमुज्ज परेको पहाडी गाउँ भएकोले आर्कषक देखिन्छ । यहाँको तस्बिर खिच्ने, सिद्दथानमा घुमेर रमाउने, घुम्टेलेक चढ्ने जस्ता काममा पनि पर्यटकको चाहना देखिन्छ । घुम्टे साइला, घाँटु तथा मगर संस्कृतिका विभिन्न गीत संगीतका लागि पनि पाण्डवखानी प्रख्यात छ ।





