बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेपाल-चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम

नेपाल-चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८१, शुक्रबार

पोखरा/वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल साइन्स सम्बन्धित प्राज्ञिक तथा विज्ञ व्यक्तित्वको सहभागिता थियो । नेपालका प्रा.बालमुकुन्द रेग्मी तथा चीनका प्रा.झीवेन चाङको संयुक्त अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजकी निर्देशक विमला भट्टले यस प्रकारका कार्यक्रमले दुई देशका फार्मास्युटिकल साइन्सेज विषयका विज्ञ तथा अनुसन्धाताहरूबीचका सहकार्यका थप अवसरहरू प्रदान गर्ने विश्वास प्रकट गरिन ।

कार्यक्रममा बोल्दै चीनको साङ्घाइ परम्परागत चिकित्सा विश्वविद्यालयका प्रा.गुओ कियाङ लिङले चिनिया परम्परागत चिकित्सा पद्धतिमाथि चीनमा भैरहेको अनुसन्धानबारे प्रकाश पारेका थिए । साङ्घाइ इन्स्टिच्युट अफ मेटेरिया मेडिकाकी प्रा. होङ लिउले आफ्नो संस्थाले गरेको अनुसन्धान तथा उपलब्धिबारे प्रस्तुतीकरण दिएकी थिइन । कार्यक्रममा सहभागीबीच चीन र नेपालमा औषधि विज्ञानका विभिन्न विशिष्टीकृत क्षेत्रमा भैरहेका अध्ययन अनुसन्धानका विषयमा तथा विशेषगरी चीनमा प्रचलित परम्परागत उपचार पद्धति तथा नेपालमा प्रचलित आयुर्वेद लगायत परम्परागत उपचार पद्धतिमा रहेको ज्ञानको संयुक्त रूपमा आधुनिक पद्धतिबाट खोज अनुसन्धानमा कार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.नवराज देवकोटा, गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोदबिन्दु शर्मा तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजका प्राध्यापकका अतिरिक्त पोखराका वरिष्ठ फार्मासिस्ट डा.चन्दन श्रेष्ठ, गण्डकी मेडिकल कलेजकी फार्मेसी विभाग प्रमुख बिन्दु मल्ल, गण्डकी विश्वविद्यालयका फार्मेसी विभागका प्रमुख प्रकाश पौडेल लगायत विज्ञ फार्मासिस्टको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पोखरा विश्वविद्यालयका उपप्राध्यापक अतिस कौण्डिन्यायनले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->