पोखरा/जनावरप्रतिको मान्छेले कहिलेदेखि प्रेम दर्शाउन थाल्यो ? कहिलेदेखि केही जनावरलाई उसले घरपालुवा बनायो ? प्रश्नमा घोत्लिने फुसर्द छैन । तर, सहजै अनुमान लगाउन सकिन्छ, हात्ती–घोडालाई रत्याएर घरपालुवा बनाउने परम्परा सदियौँ पुरानो हो । हात्ती–घोडा सबैले पाल्दैनन्,सानो क्षेत्रफलमा बनेको घरमा बस्ने सहरीयाको लागि त्यो व्यवहारिक पनि छैन । तर, कुकुर–बिरालाजस्ता जनावरप्रतिको माया भने ‘व्यस्त सहरीया’ले पनि छाड्न सकेका छैनन् । कतिले सुरक्षा र कतिले सोखले यी जनावर पालिरहेका छन् ।
तर, हेरचाह नि ? यो प्रश्नमा भने सहरीयाहरुले सोच्नुपर्ने भएको छ । कुकुर पाल्ने तर सार्वजनिक ठाउँ र सडकमा शौच गराउने,अर्कालाई दुःख दिने प्रवृत्तिबाट सहरीयाहरु मुक्त छैनन् । आफैले पालेका घरपालुवा जनावरलाई पनि उनीहरुले न्याय दिन सकेका छैनन् । दिनभर साँघुरो ठाउँमा थुनेर राख्ने, भनेको बेला खान नदिने अनि उचित स्याहार–सुृसार नगर्ने प्रवृत्ति बढ्दो छ । पशु अधिकारको पक्षमा भएका कानून कार्यान्वयनमा आउँदा त उनीहरुलाई आपत नै पर्ने सम्भावना पनि छ ।
त्यसो भए गर्ने के त ? उपायको पनि खोजी भएको छ । त्यस्ता पशुप्रेमीलाई सघाउने गरी युवाहरुको एक समूहले त्यो समस्या समाधान गरिदिने भएको छ । नेपाल युवा उद्यमी मञ्च पोखराले आयोजनामा वैशाख १७ देखि २८ गतेसम्म चलेको ‘लिडर प्रोजेक्ट’ मा सहभागी युवाहरुले यस्तो नूतन व्यावसायिक विचार जन्माएका हुन् । सो कार्यशालामा उनीहरुले उनीहरुले घरपालुवा जनावरको हेरचाह र सुरक्षा कसरी गर्न सकिन्छ भन्ने योजनामात्र प्रस्तुत गरेनन्, त्यसलाई व्यावसायिक बनाउन सकिने तर्क पनि प्रस्तुत गरे । त्यही योजना र तर्कलाई स्वीकार्दै युवा उद्यमी मञ्च पोखराले १० जनाको ‘पब्ज हेभन’ समूहलाई विजेता घोषणा ग¥यो । उनीहरुलाई प्रोत्साहनस्वरुप ५० हजार रुपैयाँ नगदले सम्मान गरिएको युवा उद्यमी मञ्च पोखराका अध्यक्ष निरन केसीले जानकारी दिए । उनका अनुसार ४० जना युवाहरु सहभागी सो कार्यशाला क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयसँगको सहकार्यमाआइभी बिजनेश स्कूलका विद्यार्थीद्धारा संचालित थियो ।
कार्यशालामा सहभागीहरुलाई विभिन्न १० समूहमा विभाजन गरी नूतन व्यावसायिक योजना बनाउन लगाइएको कार्यक्रम संयोजक तथा मञ्चका कार्यसमिती सदस्य निकेश द्वाले जानकारी दिए ।
पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ, गोसेली समूहका निर्देशक सुनिलकुमार गोसेली र कर्माचार्य ग्रुपका निर्देशक विक्रम कर्माचार्य सम्मिलित निर्णायक समूहले प्रस्तुत योजनामध्ये उत्कृष्ट छनोट गरेको उनले बताए ।





