पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा नेपाल औषधी व्यवसायी संघ कास्की र पद्मा नर्सिङ होम अस्पताल नदीपुरको सहयोगमा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा विभिन्न मुद्धामा अनुसन्धानको क्रममा रहेका थुनुवाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । आज भएको कार्यक्रममा औषधीसमेत निशुल्क वितरण गरिएको थियो ।
कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माको प्रमुख आतिथ्यतामा नेपाल औषधी व्यवसायी संघ कास्की जिल्लाका अध्यक्ष धिरज गौतम, पद्म नर्सिङ होमका संचालक एवं सुपरभाईजर यादव गौतम, वरिष्ठ फिजिसियन डा.सुदर्शन सुवेदी, मेडिकल अफिसर डा. विज्ञान कोइराला, नर्स प्रेम लामिछाने लगायतको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । ८ महिलार ५० पुरुष गरी ५८ थुनुवाको स्वास्थ्य परीक्षण गरिएको थियो । साथै हिरासतमा रहेका महिला र महिला प्रहरी कर्मचारीलाई निशुल्क सेनेटरी प्याडसमेत वितरण गरिएको थियो ।
कार्यक्रममा औषधी व्यवसायी संघ अध्यक्ष धिरज गौतमले जुनसुकै कारण वा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा आउनु भएका व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वास्थ्यप्रति सचेत रहुन भन्ने उद्देश्यले निस्शुल्क रुपमा स्वास्थ्य परीक्षण, उचित परामर्श र औषधी समेत दिईएको बताए । डिएसपी शर्माले प्रहरी हिरासतमा धेरै जना एकै ठाउँमा रहँदा बस्दा विभिन्न किसिमका सरुवा रोग, अन्य व्यक्तिगत रोगको सिकार हुन सक्ने हुँदा यस्ता कार्यक्रमले व्यक्तिगत स्वास्थ्य, सुविधामा ठूलो सहयोग पुर्याउने धारणा राखे ।





