बागलुङ/बागलुङ नगरपालिका र सहयात्रा बागलुङको साझेदारीमा वडा तहमा महिला सशक्तीकरण र नेतृत्व विकास कार्यक्रम संचालन भएको छ ।
महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गाउँटोलमा नेतृत्व विकासका कार्यक्रम संचालन गरिएको सहयात्रा बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताइन् । समावेशी र अनिवार्य सहभागीता प्रक्रिया भएपनि नेतृत्व विकासको अभावमा पदमा पुगेर पनि परिणाम दिन नसकेको भन्दै त्यसका लागि महिला सशक्तीकरण आवस्यक भएको शर्माले बताइन् ।
कार्यक्रममा महिला सशक्तिकरण, नेतृत्व विकास, कानुनी सचेतना साथै नगर र वडाबाट प्रवाह हुने सेवा सुविधाबारे जानकारी गराउनुका साथै उनीहरुका समस्याबारे छलफल गरिएको छ । बलेवाबाट शुरु भएको कार्यक्रम अन्य वडामा गरिने छ । कार्यक्रममा कानूनी सचेतना, लैगिंक विभेद, महिला अधिकार, मानव अधिकार, घरेलु हिंसा, द्वन्द्व व्यवस्थापन लगायतका बिषयमा पनि महिलालाई अभिमूखिकरण गराइएको छ ।
कार्यक्रम शुभारम्भ गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले अगुवा महिलाहरुको क्षमता विकास गरी समुन्नत समाज निर्माणमा दरिलो बनाउने अभियानमा नगरपालिका रहेको बताए । उनले महिलाहरु आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा अझै सशक्त ढंगले अगाडी बढ्नका लागि नेतृत्व विकास हुन जरुरी रहेको बताए ।
कार्यक्रममा महिला सञ्जालमा नेतृत्व गर्ने महिला, महिला जनप्रतिनिधि, टोलसुधार समिति र विद्यालय व्यवस्थापन समितिमा आवद्ध महिला, दलित तथा विपन्न समुदायका महिलाको सहभागिता थियो । कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, महिला नेतृ कल्पना हमाल पाठक, स्थानीयय समाजसेवी चन्द्रबहादुर खत्री, डा. रामबहादुर केसी, रेशम बहादुर खत्रीले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण अधिवत्ता गीता श्रीष, बागलुङ नगरपालिकाका महिला विकास निरीक्षक रचना आचार्य, सहयात्रा बागलुङका अध्यक्ष शुकन्तला शर्मा र सचिव हुमा रिजालले गरेका थिए ।





