पोखरा/मानव विकास सूचकांक हेर्ने हो भने पोखरा देशकै अब्बल ठाउँमा गनिन्छ । यहाँका नागरिकहरुको साक्षरतादेखि आम्दानी पनि राम्रै छ । महंगा गाडीदेखि दुईपांग्रे सवारी चढ्नेमा पनि यो सहर चर्चित नै छ ।
तर, यहाँको न्यूरोड हेर्दा भने उदेक लाग्छ । न्यूरोड भन्छ– पोखरेलीहरु नियम उल्लंघन गर्न अगाडि र विवेक प्रयोग गर्न धेरै पछाडि छन् । त्यसको प्रमाण हो– पोखराको न्यूरोडमा राखिएको जेब्राक्रस र हालै त्यसमा मोटरसाइकल छिर्न नमिल्ने गरी लगाइएको होँचो पर्खाल ।
दुर्घटना न्यूनीकरण गर्न पोखरा महानगरपालिकाले न्युरोडको सडकको बीचमा डिभाइडर नै राख्यो । जेब्राक्रससहित बनाइएको डिभाइडरले त्यसअघि जस्तो दुईतर्फबाट आउने सवारी जुध्ने अवस्थामा कमी गरायो । तर, दुर्घटनामा न्यूनीकरण भएन उल्टै बढ्न थाल्यो । कारण थियो– जेब्राक्रसबाट हुने युर्टन ।
जेब्राक्रस खासमा पैदल यात्रुको लागि हो । जेब्राक्रसबाट सडक पार गर्न कसैले खुट्टामात्र उचालेको छ भने पनि सवारी रोक्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । बुढाबुढी र असक्तहरुको लागि त झन बढी प्राथमिकता दिनुपर्छ । तर, यहाँ त्यस्तो भएन । अझ, पैदलयात्रीको लागि बनाइएको जेब्रा क्रसलाई दुईपाङ्ग्रे सवारी चालकले युटर्न ( अर्को दिशा मोड्ने ) गर्ने ठाउँको रुपमा प्रयोग गर्न थाले । ट्राफिक प्रहरी हैरान बन्यो । सम्झाउँदा पनि नमान्ने । न्यूरोडमा रहेका ७ वटा जेब्राक्रसमा जनशक्ति खटाउन पनि नसक्ने । बाध्य भएर ट्राफिक प्रहरीले हिँड्न मिल्ने तर ह्विलचियर गुडाउन नमिल्ने गरी जेब्राक्रसमा कंक्रिट बार लगाउन महानगर गुहा¥यो । अहिले जेब्राक्रसमा क्रंक्रिटको बार लगाइएको छ । दुईपांग्रे छिर्न नमिल्ने बनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जेब्राक्रसमा बार राख्न नहुने भएतापनि बाध्यताले राख्नुपरेको सुनाए । उनले अपांगमैत्री संरचनासँगै जेब्राक्रसबाट चालकले नै युटर्न लिन नहुने भए पनि युर्टन लिँदा पैदलयात्रीलाई सास्तीसँगै दुर्घटनाको जोखिम बढेको सुनाए ।
‘वास्तबमा सडक सुरक्षाको विषय गम्भीर छ । न्यूरोडमा जसरी अहिले जेब्राक्रसमा कंक्रिट हालेर बन्द गर्न प¥यो । यो दुःखको कुरा हो,’ उनले भने, ‘त्यसरी कंक्रिट हालेर रोक्नै मिल्दैन । मिलेन भनेर के गर्नु ? दुर्घटना बढेपछि न्यूनीकरण गर्नैप¥यो । यो बाध्यताले राखिएको हो ।’
उनका अनुसार कंक्रिटले बन्द गर्नुअघि हिलट्यांकको डिभाइडर राखिएको थियो । तर, दुईपांग्रे सवारीले नियम उल्लङ्घन गरिरहे । जेब्राक्रस पैदलयात्रीको लागि भन्ने बुझेनन् ।
उनका अनुसार न्यूरोडमा युर्टन लिने छुट्टै ठाउँ छ । तर, स्मार्ट बनेर हिड्ने सवारी चालक वा सवारीधनीमा स्मार्ट चेतना नहुँदा बाध्य भएर त्यसो गर्नुपरेको हो । यो समस्या न्यूरोडमात्रै सीमित छैन । ट्राफिक नियम नमान्नेमा पोखरेली अगाडि छन् । सार्वजानिक सवारीले जथाभावी यात्रु ओराल्ने÷चढाउने, त्यसरी नै पार्किङ गर्ने समस्या पनि उस्तै डरलाग्दो छ ।
ट्राफिक प्रहरीले अघिल्लो वर्षजस्तै यो वर्षसमेत ट्राफिक सप्ताह कार्यक्रम सञ्चालन गरेको छ । सवारी चालक तथा पैदलयात्रुलाई सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ ट्राफिक सप्ताह २०८१ को आयोजना गरिएको हो । ट्राफिक नियमको उल्लङघन गर्दा बढी सवारी दुर्घटना हुने गरेको छ र नागरिक सचेत नहुँदा ट्राफिकले सडक सुरक्षा छाडेर नागरीकलाई पढाउँदै हिँड्न बाध्य छ ।
सडक सुरक्षामा स्वयमसेवकको रुपमा काम गर्दै आएको शिव बस्ताकोटी (शिव दाई) ले न्यूरोडमा जेब्राक्रसमा राखिएको बार मापदण्ड विपरीत रहेको बताए ।
स्मार्ट बनेर सवारी हुक्याउँदै हिँड्नेहरुमा विवेकको कमी हुँदा त्यसरी मापदण्ड विपरीतको काम भएको उनको ठम्याइ छ । उनले यसअघि जेब्राक्रसबाट सवारीले युटर्न लिँदा ट्राफिक प्रहरी रमिते बन्ने गरेको पनि आरोप लगाए । ‘चालकले त लापर्वाही गरे– गरे । ट्राफिक प्रहरीकोसमेत उत्तिकै लापरवाहि छ । ट्राफिकको काम भनेको चालकलाई चेतना दिने पनि हो । यहाँ त कतिबेला ट्राफिक नियमको उल्लंघन गर्छन् र चिट काटौँला भनेर बस्छन्,’ उनले भने, ‘न्यूरोडको मात्र होइन पोखरामा कहीँकतै पनि ट्राफिक चिन्हहरु छैनन् । न्युरोडमा ‘भेहिकल युर्टन प्यालेस’ को बोर्ड नै छैन । सडक मार्किङ, जेब्राक्रसको अभाव छ । यसो भन्दैमा चालक उम्कन मिल्दैन । उनीहरुमा चेतनाको स्तर निकै कम देखिन्छ ।’





