पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको आज सोमबार शिलान्याश गरेका छन् । पूर्व पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत बन्ने पुलले गण्डकी प्रदेशको गैडाकोट र बागमती प्रदेशको भरतपुर (नारायणगढ) लाई जोड्नेछ ।
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत उपस्थित थिए ।
अवको ३ वर्षभित्र ४ सय २० मिटर लम्बाईको अत्याधुनिक सिग्नेचर पुल निर्माण हुने पुल महाशाखाले जनाएको छ । पुल २ खम्बे हुनेछ भने साइकल लेनसहित चौडाइ १२ मिटर हुनेछ । पुल निर्माणमा १ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
तुंदी कन्सट्रक्सन प्रालिले पुल निर्माणको ठेक्का पाएको छ । नयाँ पुलमा दुई ठाउँमा टावर राखिनेछ भने दुई वटा पिल्लर रहनेछन् ।
नारायणगढ र गैंडाकोटको बीचमा रहेको नारायणी नदीमा यसअघि २०३८ सालमा बनेको पुलबाट हाल सवारी साधन ओहोरदोहोर गरिरहेका छन ।





