२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत बागलुङ नगरपालिकामा दोस्रो पटक निर्वाचित भै पदबहाली गरेको आजको यस पावन दिनको सु–अवसरमा आयोजित गरिमामय एवं उल्लासमय ‘हाम्रो दुई वर्ष’ कार्यक्रममा हामी उपस्थित भै रहेको छौं । यस अवसरमा देशलाई आजको लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पु¥याउन आफ्नो जीवनको उत्सर्ग गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुप्रति भावपूर्व श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।
बागलुङ नगरको विकास, समृद्धि र सुशासनको लागि हामीलाई विश्वास गरेर सो अभिभारा पूरा गर्नको लागि आफ्नो मताधिकारमार्फत जिम्मेवारी सुम्पने समग्र नगरबासी आदरणीय व्यक्तित्वहरुप्रति हार्दिक धन्यवादसहित कृतिज्ञता ज्ञापन गर्दछु ।
नेपालको संविधानले राज्यको पुर्नसंरचना गरेसंगै स्थापित स्थानीय तहको दोस्रो कार्यकालको लागि हामीलाई आदरणीय नगरबासी आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो अमूल्य मतदान गरी यो जिम्मेवारी सुम्पनु भएको आज दुई वर्ष पूरा भएको छ । हामीले निर्वाचनका समयमा आम नगरबासीका माझ सार्वजनिक गरेका नगरका समृद्घि र आदरणीय नगरबासीका हित एवम् सरोकारका विभिन्न विषयका योजना सहितको प्रतिवद्घता पूरा गर्नका लागि यो दुई वर्षमा सम्पन्न गरेका काम र आगामी योजनाहरुलाई यसै समारोहबीच सार्वजनिक गर्न गइरहेका छौं । आदरणीय नगरबासीका असीमित चाहना, नगरले खोजेको विकास र समृद्धिको सपनालाई पूरा गर्नको लागि सीमित बजेट, अव्यवहारिक कानुनी व्यवस्था, संघ र प्रदेशमा स्थायी सरकार जस्ता चुनौतीको बावजुद पनि हामी हाम्रा संकल्पलाई पूरा गर्ने गरी दृढ संकल्पका साथ अगाडि बढेका छौं । यस नगरको विकास र समृृद्धिका लागि संस्थापक नगर प्रमुख ऋषिराम शर्मालाई प्रेरणाको श्रोतको रुपमा लिई उहाँले शुरु गरेका संस्थागत कुरा र यस पूर्वका जनप्रतिनिधिहरुले थालनी गरेका असल अभ्यासहरुलाई प्राथमिकतामा राखी हाम्रा नीति तथा कार्यक्रमहरुलाई त्यसतर्फ लक्षित गरेका छौं । हामीले शुरु गरेका हाम्रा नीति तथा कार्यक्रम र समग्र कार्य प्रणालीमा सुधारका प्रयासको नतिजा हाम्रो कार्यकालमा आउने कुरामा हामी विश्वस्त छौं ।
नीतिगत व्यवस्था तथा संस्थागत सुशासनतर्फ
–हामीले नगरबासी प्रतिको जवाफदेहीतालाई आफ्नो कर्तव्य ठानी पद बहाली गर्दाको अवस्थामा नगरपालिकाको भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, प्रशासनिक लगायतका सम्पूर्ण विषयको यथार्थ अवस्था सार्वजनिक रुपमा जानकारी गराउने उद्देश्यले श्वेत पत्र जारी गरेका थियौं । श्वेत पत्र नगरपालिकाको संस्थागत सुशासन कायम गर्न, भावी योजना बनाउन, नगर विकास र समृद्धिका प्रयासमा सरोकारवाला र सहयोगी हातहरु जुटाउन, हाम्रो कार्य सम्पादनको आम मूल्याङ्कन तथा स्वमूल्याङ्कन गर्न समेत आधार वन्ने विश्वास लिई श्वेतपत्रको जगमा नीति तथा कार्यक्रम अगाडि बढाउने संस्कारको सुरुवात गरेका छौं । स्थानीय सरकारले विरलै मात्र जारी गर्ने गरेको यो श्वेतपत्र धेरैलाई सिकाई हुने कुरामा विश्वस्त छौं ।
–प्राविधिक दृष्टीकोणबाट अनुपयुक्त देखिएको स्थानमा विना रेखाङ्कन, भू–बनोटको ख्याल नगरी आफूखुसी जथाभावी डोजर लगाउने परिपाटीको कारण बर्षातको समयमा बाटो बिग्रने, पहिरो जाने र जनधनको क्षति हुने जस्ता सम्भावित क्षतिको न्यूनिकरण गर्नको लागि बिना अध्ययन नयाँ ट्रयाक खोल्नको लागि डोजर लगाउने परिपाटीको अन्त्य गरेका छौं ।
–नगरको सुन्दरतामा आयाम थप्नको लागि नयाँ घर निर्माण गरी निर्माण सम्पन्न प्रमाण पत्र लिनुभन्दा पहिले घरको चारै तर्फको खाली भागमा प्लाष्टर गरे पश्चात मात्र घर निर्माण सम्पन्न दिने गरी नीतिगत व्यवस्था गरेका छौं ।
–कर्मचारी प्रशासनलाई चुस्त र सेवाग्राहीप्रति उत्तरदायी बनाउने गरी व्यवस्था गरेका छौं । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीका समस्या तत्काल सम्बोधन गर्न सहजिकरण गर्ने, वडा कार्यालयहरुमा प्रविधिमैत्री कर्मचारीको व्यवस्था गर्ने, घटना दर्ता, सामाजिक सुरक्षाजस्ता कार्यलाई अनलाइन प्रणालीमार्फत गर्ने गरेका छौं ।
–नगर क्षेत्रभित्रको परम्परागत निर्वाहमुखी कृषि तथा पशुपालन प्रणालीलाई व्यवसायीकरण, विविधीकरण र यान्त्रिकीकरण गरी कृषिलाई रोजगारीको रुपमा विकास गरी कृषि उत्पादनबाट नगरलाई आत्मनिर्भर बनाउने गरी नीति अगाडि बढाएका छांै ।
–सहकारी संस्थाहरुमा आर्थिक सुशासन कायम गर्न, नगरबासीको वचत तथा निक्षेपलाई सुरक्षित र सुनिश्चित गर्न नगरपालिकाको कार्यक्षेत्रभित्र रहेका सहकारीको सघन अनुगमन, नियमन र क्षमता अभिवृद्धि गर्ने नीति लिई कार्य अगाडि बढाएका छौं ।
–पर्यटन विकासमार्फत बागलुङ नगरको आर्थिक विकासको लागि पर्यटनमैत्री होटल रेष्टुरेन्ट, घरआवास, पर्यटकीय क्षेत्रको पहिचान प्रचार प्रसार र प्रवद्र्धनका कार्यहरु नीतिगत रुपमा व्यवस्था गरी अगाडि बढाएका छौं ।
–नगरबासी प्रतिको जिम्मेवारी बोधको कारण घरदैलोमा सेवा पु¥याउने हेतुले कानुनी तथा नीतिगत व्यवस्था गरी वडा स्तरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा दर्ता तथा नविकरण, व्यक्तिगत घटना दर्ता, माटो परीक्षण, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, उपभोक्ता अनुशिक्षण, टोल विकास संस्था दर्ता कार्यको शुरुवात गरेका छांै ।
–श्वेत पत्र जारी गर्दै गर्दाको अवस्थामा योजना कार्यान्वयनको लागि गठन गरिने उपभोक्ता समितिको लागत सहभागिता रकम न्यूनतम २० प्रतिशत रहेको हुँदा उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनमा परेको समस्यालाई मध्येनजर गरी हाल उक्त व्यवस्थालाई परिमार्जन गरी १० प्रतिशत नगद लागत सहभागिता, टोल विकास संस्थामार्फत योजना कार्यान्वयन गर्दा टोल क्षेत्रभित्रका पाँच लाखभन्दा कमका एकभन्दा बढी योजना एकै पटक सम्झौता गर्न सक्ने गरी व्यवस्था गरेका छौं । यो व्यवस्थाले योजना कार्यान्वयनमा सहजता, सहभागिताको सुनिश्चितता हुनुको साथै साना योजनामा धेरै उपभोक्ता समिति गठन गर्ने झन्झटबाट नगरबासी मुक्त छन् ।
–श्वेतपत्र जारी गर्दासम्म बागलुङ नगरपालिकामा ऐन, नियमावली, निर्देशिका, कार्यविधि गरी जम्मा ५४ वटा कानुन निर्माण भएकोमा कामकाजलाई सरल बनाउनको लागि ३० वटा कानुन थप गरी कुल ८४ पु¥याएका छौं भने ऐन, नियमावली र कार्यविधि गरी ८ वटा समय सापेक्ष हुने गरी संशोधन गरेका छौं ।
–नगरवासीका समस्या, पीडा, मर्का तथा विवादलाई मेलमिलापमार्फत समाधान गर्नको लागि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ (१) र (२) मा दिइएका क्षेत्राधिकारभित्र रही न्यायिक समितिमा दर्ता हुन आउने विवाद तथा उजुरी समाधानको लागि विवादित दुवै पक्षको पायक पर्ने स्थानमा गई दुवै पक्षलाई मेलमिलाप गराई सम्मान गर्ने परिपाटीको विकास गरेका छौ । वडा स्तरमा रहेका विवाद वडाबाट नै समाधान गर्ने गरी आधारभूत तालिममार्फत सामुदायिक मेलमिलापकर्ताहरु तयार गरी सवै वडा कार्यालयहरुमा सामुदायिक मेलमिलाप केन्द्र गठन गरी वडा स्तरबाट नै विवाद समाधानको थालनी गरेका छौं ।
भौतिक पूर्वाधार विकासतर्फ
–श्वेत पत्र जारी गर्दाको अवस्थामा नगरपालिका क्षेत्रभित्र जम्मा पिच सडक ४० कि.मी, ग्रावेल सडक १२ कि.मी र कच्ची सडक २०० कि.मी. रहेकोमा यस अवधिमा पिच ६४ कि.मी., ढलान ३.२७ कि.मी., ग्राभेल सडक ३२ कि.मी., कच्ची सडक २४० कि.मी. सम्पन्न भएको छ भने ७८० मीटर सोलिङ, २४१ मीटर पर्खाल, ७८८ मीटर तारवार र पक्की नाली २.८९ मीटर थप गरेका छौ । यसैगरी पर्यटकीय पैदल मार्गतर्फ २.४७ कि.मी.मध्ये ७८१ मी ढलान गर्ने कार्य सम्पन्न गरी पदवहाल गरे पश्चात हालसम्म नगरपालिका क्षेत्रभित्र कालोपत्रे, ग्राभेल, कच्ची सडक, सडक ढलान, पक्की नाली, टेवा पर्खाल निर्माण, तारवार, पैदलमार्ग लगायतका कार्यहरु उल्लेख्य रुपमा सम्पन्न गरेका छौं ।
–दुई वर्षको यस अवधिमा वडा नं. ४ निरहेमा जेष्ठ नागरिक भवन, वडा नं. ७ मा मूलपानी स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भै सकेको छ । वडा नं. १३ मा नगर अस्पताल, वडा नं. १४ मा स्वास्थ्य चौकी भवन, वडा नं. ७ को वडा कार्यालय भवन र वडा नं. ४ निरहेमा मानवसेवा आश्रम भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सबै वडाका विभिन्न बस्तीमा गरी ५६ वटा सामुदायिक भवन निर्माण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १६ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।

–खानेपानी समस्याको दीर्घकालिन समाधान गर्नको लागि नेवा (NEWASH) संगको सहकार्यमा एक घर एक धारा कार्यक्रमअन्तर्गत रात्माटा खानेपानी योजना, वडा नं. ६ लमगाउँ खानेपानी योजनाको कार्य सम्पन्न भैसकेको छ भने बा.न.पा. वडा नं. १२ को गौडाकोट र मेलबोटमा ग्राभेटी फ्लो (Gravity Flow) खानेपानी आयोजनाको कार्य अगाडि बढेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बागलुङ संगको सहकार्यमा वडा नं. १२ अमलाचौर लिफ्टिङ खानेपानी, वडा नं. ८ लामीचौर लिफ्टिङ्ग खानेपानी र वडा नं. ४ कुंडुले, उपल्लाचौर लिफ्टिङ्ग खानेपानी योजनाको काम अगाडि बढिरहेको छ । यस नगरपालिकाको बजार क्षेत्रमा संचालनमा रहेको साना शहरी खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत दोश्रो शहरी खानेपानी तथा सरसफाई आयोजनाको सहभागिता, स्तरोन्नती, मर्मत सम्भार लगायतका कार्यहरुमा नगरपालिकाको तर्फबाट प्रत्यक्ष लगानी गरी खानेपानीको सहज आपूर्तिको पहल गरिरहेका छौं ।
–यसैगरी ३५०० हेक्टर खेतमा सिंचाई सुविधा सहजीकरण गरेका छौं भने सिंचाई कुलो, पोखरी जस्ता संरचनाहरुको निर्माण कार्य सम्पन्न गरेका छौं । वडा नं. ३, ४, ६, ८, ९, १३ र १४ का विभिन्न खेतवारीमा सिंचाई हुने गरी बजेट मागको पहल गरेका छौं । त्यसैगरी विभिन्न वडामा पाईप उपलब्ध गराई स–साना सिंचाई कार्यमा सहजीकरण गरेका छांै ।
–बागलुङ नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत बा.न.पा. ३ बोक्सेदेखि सिगानाहुँदै दमेक शान्तीपुर सम्मको सडक यस कार्यालयको समन्वयमा सडक डिभिजन कार्यालयमार्फत बर्षातको समयमा सहज यात्रा गर्न सकिने गरी स्तरोन्नती गर्ने कार्यले पुनः निरन्तरता पाईरहेको छ । निरन्तरको पहल पश्चात वडा नं. १, १०, १२, १३, १४ हुँदै पाल्पासम्म निस्कने कालीगण्डकी करिडोरको स्तरोन्नतीको कार्यले तिव्रता पाएको छ भने सो योजनामा कालोपत्रे बाहेकका अन्य संरचना निर्माण कार्य करिब सम्पन्न हुने अवस्थामा पुगेको छ ।
–विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदान सहयोगमा संचालित शहरी शासकीय पूर्वाधार विकास कार्यक्रम (NUGIP) तर्फ बा.न.पा वडा नं. ७ स्थित मूलपानी विद्यालयदेखि तितौरे सम्मको सडक, माझीबस्तीदेखि निरहे सम्मको सडक, वडारचौर डिलदेखि ढोडेनी फोर्से सम्मको सडकको टेन्डर स्वीकृतको प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा केही कानुनी जटिलता उत्पन्न भएकोमा सम्मानित अदालतबाट छिटो अन्तिम किनारा भई कार्यान्वयनमा जाने कुरा अवगत गराउन चाहन्छु । यसैगरी वडा नं. १० र ११ स्थित गलुवा भकुण्डेहुँदै रायडाँडा सम्मको सडकको ढलान तथा कालोपत्रेको कार्य अगाडि बढेको छ । वडा नं. ५ र ६ भान्सा सांधखोला सडक कालोपत्रे तथा ढलानको कार्य सम्पन्न भैसकेको छ । तिरुपती चोकदेखि मालिका पञ्चकोट तितौरे भिमपोखरा सडकको करिब १४ कि.मी. सडक कालोपत्रे भै सुचारु भैसकेको छ । बहुप्रतिक्षित RCIW को सहयोगमा अदालत चौपारीदेखि तित्याङ भकुण्डे रायडाँडाहुँदै दमेक जाने सडकको १७ कि.मि. पक्की सडक निर्माणको कार्य प्रारम्भ भएको छ । सम्बन्धित वडा र स्थानीय समुदाय संगको सहकार्यमा उक्त सडकको निर्माण कार्य समयमै सम्पन्न गर्नको लागि निर्माण कम्पनीसंग निरन्तर संवाद भैरहेकोछ । बा.न.पा. १२ को टाकुरीदेखि जैमिनी नगरपालिकाको सिमाना सम्मको बाँकी खण्ड र सरङ्गीदेखी भैरवस्थान सडकको ढलान तथा कालोपत्रेको कार्य प्रारम्भ भएको छ । यसैगरी मुक्तिनाथ बाबा परिक्रमा सडक अन्तर्गतको गैरीखेतदेखि माईपुञ्नेहुँदै पञ्चकोट सम्मको सडकको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ । वडा नं. २ र ३ का विभिन्न सडकहरुका खाल्डाखुल्डी पुर्ने कार्यका लागि करिब १.८ कि.मि. सडक पुनः कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । सडक वोर्डको कार्यक्रमअन्तर्गत विभिन्न वडामा सडक कालोपत्रे तथा ढलानको कार्य सम्पन्न भएको छ ।
–नगर विकास कोषको ऋण तथा अनुदान सहयोगमा बा.न.पा. वडा नं. ४ मा निर्माण सम्पन्न भएको दावगरा आधुनिक बसपार्क संचालनको लागि दावगरा जग्गा विकास तथा व्यवस्थापन समिति, जग्गादाता र सरोकारवालाबीच भएको पटक पटकको बैठकबाट तत्काल सडक मर्मत सुधार कार्य अगाडि बढाई बसपार्क संचालन गर्ने गरी उद्घाटनको तयारीको अवस्थामा पुगेका छौं । बिसौं वर्षभन्दा बढी समयसम्म जग्गा फिर्ता हुन नसकेका स्थानीय जग्गादाताहरुको जग्गा फिर्ताको प्रक्रिया अगाडि बढाएका छौं ।
–वडा नं. १४ कुकुरगाडे र कुश्मा नगरपालिका जोड्ने कालिगण्डकी नदीमा झो.पू. निर्माणको लागि डि.पि.आर., यसैगरी वडा नं. १३ स्थित कालाखोलामा नदी नियन्त्रण तटबन्ध र वडा नं. १० एकलेसाल गलुवा पहिरोमा डि.पि.आर. बमोजिम बजेट निकासाको चरणमा रहेको, वडा नं. १३ को दम्काफाँट र वडा नं. ३ को बोक्से खाल्टाखेत सिंचाई योजनाको डि.पि.आर. गर्ने कार्य अगाडि बढाएका छौं । त्यसैगरी वडा नं. ८ को स्वास्थ्य चौकी अगाडिको पहिरो, वडा नं. ३ स्थित छहरा पँधेरा पहिरोको डिपिआर सम्पन्न भै बजेट मागको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ । वडा नं. ११ स्थित रामतोला पहिरोमा भू–गर्भ विद्हरुबाट अध्ययन गराई जोखिमयुक्त पहिरो व्यवस्थापनको डि.पि.आर.को आधारमा वजेट विनियोजन भई कार्य अगाडि बढाइएको छ । यसैगरी बा.न.पा. वडा नं. १४ मा एकीकृत बस्ती विकासको लागि योजना निर्माण गरी त्यसको डिपिआर तयारीको लागि तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ ।
सामाजिक विकासतर्फ
–शिक्षा क्षेत्रको विकास राष्ट्रको विकासको जग हो भन्ने कुरालाई हृदयङ्गम गरी बागलुङ नगरक्षेत्रभित्र रहेका विद्यालयहरुको विकास स्तरोन्नती शैक्षिक सुधार, शिक्षक अभावमा पठनपाठन नहुने परिपाटीको अन्त्यको लागि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएका छौं । महिला शिक्षकहरु सुत्केरी बिदामा बस्दा सो अवधिमा सट्टा शिक्षक राख्ने गरी पठनपाठन अवरुद्ध नहुने व्यवस्था मिलाएका छौ । विभिन्न विधामा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउनको लागि कम्प्युटर शिक्षक, खेल शिक्षक नियुक्ति गरी विद्यालयको माग र आवश्यकताको आधारमा घुम्ती शिक्षकको रुपमा विद्यालय पुग्ने गरी व्यवस्था गरेका छौं । विद्यालयमा गरिएका असल अभ्यासहरुलाई अनुकरण गर्नको लागि शिक्षक विद्यार्थी अन्तर विद्यालय भ्रमण कार्यक्रमको सुरुवात गरेका छौं । बालमैत्री अभ्यासअन्तर्गत १४ वटा वडाहरुबाट एक एक विद्यालय छनौट गरी एक बेन्चमा २ जना मात्र विद्यार्थी बस्ने १६७ थान बेन्च डेक्स प्रयोगमा ल्याइसकेका छौं । विद्यार्थीको प्रतिभा पहिचानको लागि एसईईमा ४ जिपिए हासिल गरेका जिल्लाभरिका विद्यार्थीहरु र विएलई (Basic level Examination) मा उत्कृष्ट ४ जिपिए हासिल गरेका नगरपालिका भरिका सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कृत गरेका छौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १५ वटा विद्यालयमा आरसिसि भवन निर्माण कार्य र एक वटा सूचना प्रविधि प्रयोगशाखा निर्माण सम्पन्न गरेका छांै । यसैगरी यस अवधिमा ३ वटा विज्ञान प्रयोगशाला र ४ वटा विद्यालयमा पुस्तकालय स्थापना गरेका छौं । पदमसिंह र गोविन्द अधिकारी छात्रवृत्तिअन्तर्गत स्नातक र उच्च शिक्षामा अध्ययनरत विपन्न र सिमान्तकृत वर्गका ५१ जना विद्यार्थीलाई रु. ५,०००। र रु. १०,०००।– का दरले रकम उपलब्ध हुने व्यवस्था मिलाएका छौं । शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ, यसका लागि विद्यमान संरचनामा केही परिवर्तन गरी साधनस्रोत, जनशक्ति र गुणस्तरका नयाँ सूचकलाई एकीकृत गरी नयाँ आयामबाट शुरुवात गर्नुपर्छ भन्ने तथ्यलाई आत्मसाथ गर्दै शिक्षा क्षेत्रमा ऐतिहासिक निर्णय लिएका छांै । बागलुङ नगरको शिक्षा क्षेत्रको समग्र विकासको लागि १३ औं नगर परिषदको विद्यालय स्थगन, तह मिलान र वैज्ञानिक नक्साङ्कन सम्बन्धी निर्णय बमोजिम शैक्षिक सत्र २०८१ देखि नै लागू हुने गरी सामुदायिक विद्यालयहरुलाई स्थगन र तह मिलान गरेका छांै । शिक्षा क्षेत्रमा केहि परिणाम दिने गरी आवासीय सुविधासहित बिग स्कुल संचालन गर्न नगरपालिकामा उपलब्ध साधन श्रोतले अपुग हुँदा थप साधनश्रोतको व्यवस्था मिलाउन प्रदेश र संघ सरकारमा प्रस्ताव पेश गरेका छौं । बालमैत्री विद्यालय कार्यक्रमअन्तर्गत ४६ वटा विद्यालयमा शौचालय र खानेपानीको मर्मत सम्भार तथा व्यवस्थापन गरी विद्यालयलाई बालमैत्री बनाउने अभियानलाई अगाडि बढाइएका छौं ।
–नवौं राष्ट्रिय तेक्वान्डो खेलअन्तर्गत सिनियर महिला तथा पुरुष राष्ट्रिय आई.टी.एफ.(तेक्वान्दो) प्रतियोगिता यस सुन्दर नगरी बागलुङमा आयोजना व्यवस्थापन गर्ने गरी प्राप्त भएको अवसरलाई सफलतापूर्वक सम्पन्न गरेका छौं । उक्त खेलले बागलुङ नगरपालिकालाई राष्ट्रिय रुपमा चिनाउन सफल भएको कुरामा विश्वस्त छौं । नगरप्रमुखको संयोजकत्वमा खेलकुद आयोजना व्यवस्थापन समिति गठन गरी बागलुङ जिल्लाको भेषभुषा, रहनसहन, सँस्कृति झल्कने गरी दर्जनौ झाकी, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, बजारबासी, खेलप्रेमीसहित हजारौको संख्यामा ¥यालीमा सहभागी हुने गरी उद्घाटन समारोह आयोजना गरिएको थियो । ए.सि.सि. क्रिकेट प्रतियोगितामा बागलुङबाट सहभागी भै खेल विजेता बन्न पुगेका करण केसी र शुभाष कँडेललाई क्रमशः एक लाख र पचास हजार पुरस्कारसहित खेलाडी सम्मान गर्ने परिपाटी बसालेका छौं ।
–नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा विभिन्न विधामा विजेता भएका विद्यार्थीहरुलाई पुरस्कार र जिल्ला स्तरीय प्रतियोगितामा लगातार तीन वर्षसम्म प्रथम स्थान हासिल गरी जिल्ला स्तरीय शिल्ड नगरपालिकाले हात पार्न सफल भै सहभागी विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेका छौं । बागलुङ नगरपालिका वडा नं. २ निवासी सुटिङ विधाकी ओलम्पिक खेलाडी भगवती के.सी.लाई मासिक ५००० का दरले प्रोत्साहन रकम उपलब्ध गराईरहेका छांै ।
–स्वास्थ्य क्षेत्रअन्तर्गत सिगाना स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर, बा.न.पा. ११ रायँडाडाको तमाखुबारीमा शहरी स्वास्थ्य केन्द्रको स्थापना र बा.न.पा. १२ अमलाचौर स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको सुरुवात गरेका छौं । स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको पर्खाइमा रहेका त्यस क्षेत्रका बासिन्दाहरुको लागि स्वास्थ्य सेवाको न्युनतम आवश्यकता पुरा भएको विश्वास लिएका छौं । कोभिड १९ विरुद्धको खोप सेवाको चौथो डोज सम्मको खोप सेवा संचालन गर्न सफल भएका छौं । हात्तिपाइले रोग विरुद्धको आम औषधि वितरण अभियान सञ्चालन गरी ९७ प्रतिशत उपलब्धी हासील गर्न सफल भएका छौं । यिनै उपलब्धीको बीच बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएका छौं । यस अवधिमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमअन्र्तगत १५१ जना गर्भवती महिलाहरुलाई भिडियो एक्स–रे सेवा प्रदान गरिएको छ । स्वास्थ्य कार्यक्रमहरुको स्थलगत अनुशिक्षण सबै वडाका स्वास्थ्य संस्थामा सम्पन्न गरिएको छ । किशोर किशोरीमैत्री स्वास्थ्य संस्था घोषणाका लागि ४ वटा स्वास्थ्य संस्थामा प्रारम्भिक तहको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छौं । नगरबासीको स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्नका लागि घुम्ती सेवामार्फत स्वास्य शिविर संचालन गरेका छांै । बागलुङ काठमाण्डौं समाज र धौलागिरी अस्पतालको सहकार्यमा धौलागिरी अस्पतालमा बृहत स्वास्थ्य शिविर संचालन गरी ७१५ जना व्यक्तिलाई र KMC को प्राविधिक सहयोग तथा मा. डिल्लीराम सुवेदीको अगुवाइमा बा.न.पा. वडा नं. १४ मा स्वास्थ्य शिविर संचालन गरी २२१३ जना व्यक्तिको स्वास्थ्य परीक्षण गर्न सफल भएका छांै भने पोषणमैत्री वडा घोषणा गर्ने कार्य अभियानको रुपमा अगाडि बढाईरहेका छांै । स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि मातहतका स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा मापदण्डको कार्यक्रम सञ्चालन गरिएको छ ।





