पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन । २५६८ औँ बुद्धजयन्ती र किराँत जातीको सांस्कृतिक पर्व उभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले विश्वका महान् पुरुष गौतम बुद्व हाम्रो धर्तीले जन्माएकामा गर्व रहेको भन्दै बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्ने बताएका हुन । ‘बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ । बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै भातृत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ’ उनले भनेका छन ।
बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै उनले बुद्ध दर्शनलाई जीवन दर्शन र मानव सभ्यताका रुपमा बुझ्न हामी सबैले जरुरी उल्लेख गरे । उभौली जस्ता मौलिक सांस्कृतिक चाडपर्वहरूले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोगसमेत गर्ने उनको भनाई छ ।
बुद्धजयन्ती र उभौलीको यो दिनमा भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिन सकियोस् भन्ने शुभकामना उनले व्यक्त गरेका हुन ।





