पोखरा/प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राप्रपा उपस्थित नभए पनि गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार ३ बजे बस्ने भएको छ । केही बेरअघि सम्पन्न कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठक बस्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश सभाको बैठकमा उपस्थित हुने नहुनेबारे आधिकारिक सूचना प्रदेशसभा सचिवालयमा प्राप्त नभएकाले बैठक बस्ने निर्णय गरिएको हो । कार्य व्यवस्था समितिको बैठकमा एमाले, माओवादी र सरकारको प्रतिनिधित्व थियो । कांग्रेस, राप्रपा र माओवादी संसदीय दलका सदस्य तथा नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा भने सहभागी भएनन् ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव प्रेम सुवेदीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची तय भएको छ । प्रतिपक्षी सांसदहरु नआए अर्को बैठक यही जेठ १५ गते दिउँसो १ बजे बस्ने निर्णय पनि समितिले गरेको छ । बजेट पेस हुनुभन्दा १५ दिन अगावै सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गर्नुपर्ने व्यवस्था अनुसार आज बैठक बस्न लागेको हो ।
मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतबिरुद्ध कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्बोच्च अदालतमा रिट दायर गरेका र अहिले त्यो बिचाराधीन अवस्थामा छ । मुद्धाको किनारा नलाग्दासम्म प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विहीबारनै विज्ञप्ति निकालेर जानकारी गराएका थिए ।





