पोखरा/ प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राप्रपा उपस्थित नभएपछि गण्डकी प्रदेश सभाको शुक्रबारको बैठक प्रदेश प्रमुखको कार्यालयको मन्त्रीपरिषद् गठन तथा कार्यविभाजन सम्बन्धि पत्र पढेर ५ मिनेटमै स्थगीत भएको छ । सभामुख कृष्णप्रसाद धितालले प्रतिपक्षी बेन्च खाली भएकाले निर्धारित दोस्रो कार्यसूची हटाएर जेठ १५ गते दिउँसो १ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगीत गरे । दिउँसो ३ बजे बैठक बस्ने भनिए पनि ५० मिनेट ढिला सुरु भएर ५ मिनेटमै सकिएको थियो ।
शुक्रबारको बैठकमा प्रदेश सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची तय गरिएको थियो । तर कांग्रेस र राप्रपाका सांसद बैठकमा सहभागी नभएपछि सभामुखले बैठक स्थगीत गरेका हुन । यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठक बस्ने निर्णय गरेको थियो । समितिको बैठकमा एमाले, माओवादी र सरकारको प्रतिनिधित्व थियो । कांग्रेस, राप्रपा र माओवादी संसदीय दलका सदस्य तथा नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा भने सहभागी भएनन् ।
बजेट आउनु भन्दा १५ दिन अगावै सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गर्नुपर्ने व्यवस्था अनुसार आज बैठक बसेको थियो । तर प्रतिपक्षविहीन भएपछि पेश नभएको हो ।
मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतबिरुद्ध कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्बोच्च अदालतमा रिट दायर गरेका र अहिले त्यो बिचाराधीन अवस्थामा छ । मुद्धाको किनारा नलाग्दासम्म प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विहीबारनै विज्ञप्ति निकालेर जानकारी गराएका थिए ।





