शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

अदालतको निर्णयप्रति मुख्यमन्त्री अधिकारीको प्रश्न

अदालतको निर्णयप्रति मुख्यमन्त्री अधिकारीको प्रश्न

'निर्णायक मत बराबर भएको बेलामा मात्र प्रयोग गर्ने हो । ६० जना भएको ठाउँमा बराबर हुँदैन भन्ने दुनियाले बुझेको छ'


  • लालप्रसाद शर्मा
  • जेष्ठ १५ २०८१, मंगलबार

पोखरा/ सर्बोच्चको परमादेशबाट पदमुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको आदेशप्रति गुनासो गरेका छन । अदालतको एउटा बेन्चले गरेको निर्णय अर्को बेन्चले खण्डन गर्दा फुल बेन्च आवश्यक पर्ने उनको भनाई छ । सत्रौं गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा मंगलबार आयोजित मुल समारोहमा उनले भने, ‘हिजो डिभिजन बेन्चले नै मलाई वैध बनाएको हो । यो, नियुक्ति ठिक छ भन्यो । अहिले त्यो बेलाको खण्डन गर्न अदालतको प्रक्रियामा पनि फुल बेन्च आवश्यक छ भन्ने मैले बुझेको हो । व्याख्या गर्नेले त्यसलाई खण्डन गर्न अर्को फुलकोर्ट पनि चाहिनुपर्ने हो, कि मैले बुझिन, बुझ्ने कोसिस गर्ने छु ।’

अधिकारीले प्रदेशसभामा ३१ जना भएकाले आफ्नो पक्षमा स्पष्ट बहुमत भएको जीकिर गरे । सभामुखलाई निर्णायक मतदान गर्ने अधिकार संविधानको धारा १८६ ले दिएको तर त्यो निर्णायक मतको निरुपण गर्ने काम, व्याख्या गर्ने जिम्मेवारी सर्वोच्च अदालतले पाए पनि व्याख्या किन गरेन भनेर गुनासो गर्ने ठाउँमा आफु नभएको र गुनासो नगर्ने पनि उनले बताए । आफु राजनीतिकर्मी भएकाले अदालतका निर्णय पालना गर्दै आएको उनले बताए ।

संविधानलाई साधक बनाउनुपर्छ, बाधक बनाउनुहुन्न भन्दै आएको जनाउँदै उनले संविधान बनाउने बेलाको स्वास्थ्य मन्त्री आफु भएकाले राम्ररी थाहा भएको बताए । ‘निर्णायक मत बराबर भएको बेलामा मात्र प्रयोग गर्ने हो ।६० जना भएको ठाउँमा बराबर हुँदैन भन्ने दुनियाले बुझेको छ’ उनले भने । गणतन्त्र दिवसमा आफु यहाँ आइरहँदा, कसैकसैले मलाई कति लिप्सा भएको भन्छन् भनेर प्रष्ट पार्नुपर्ने भन्दै अधिकारीले गणतन्त्रप्रति, संघीयताप्रति, समावेशिताप्रति, सामानुपातिकताप्रति भने लिप्सा रहेको सुनाए ।

‘म यो कुर्सीमा हिजो बसेको हो, आज खाली छ । कुर्ची खाली हुनु हुदैन’ प्रतिपक्षी दलका नेता बस्ने खाली कुर्ची देखाउँदै उनले भने, ‘सपथ ग्रहण नगरुन्जेलसम्म, अर्को मुख्यमन्त्री नआइन्जेलसम्म काम चलाउ मुख्यमन्त्री हुन्छ र अदालतले यो व्याख्या किन गरेन, अहिले पदमुक्त गर्ने र बहाली गर्ने मुख्यमन्त्रीज्यूलाई पनि उसले किन संवोधन गरेन, यो पनि प्रश्नचिह्न भित्रै पर्छ कि पर्दैन ? मैले आफ्नो मनभित्र प्रश्न उठाएको छु ।’

उनले एक महिनापछि फेरि त्यहि परिस्थिति आउँछ कि आउँदैन आफुले नबुझेको बताए । त्यसकारण आफुले यतातिर कटाक्ष गर्न पनि नचाहेको उनले सुनाए । उनले संविधानअनुसार अदालतले नै निर्णय गररे, विश्वासको मत लिने ठाउँमा पुगेर त्यो विश्वासको मतका बारेमा अदालतले निर्णय गर्दा मिलेन भनेको भन्दै गुनासो गरे ।

अदालतप्रति उच्च सम्मान रहेको भन्दै अधिकारीले हरेक आदेशहरु पालना गर्ने गणतन्त्रको यो पक्षमा उभिएको र समान हैसियतका बेन्चहरुले फरक फरक निर्णय गर्दा अराजकता आउँछ कि आउँदैन, मैले बुझ्या छैन भन्दै प्रश्नसमेत गरे ।

कार्यक्रममा प्रदेशप्रमुख डिल्लीराज भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताए । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै चयन गरेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु हाम्रो गणतन्त्रको मूलभूत विशेषता रहेको छ उनले जिकीर गरे ।

सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने भन्दै उनले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्नेगरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गरे ।

गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा पनि उनको थियो ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गणतन्त्रलाई व्यवस्थित गर्न धेरै काम बाँकी रहेको बताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जुन अपेक्षासाथ गणतन्त्र आएको हो त्यसअनुरुप भएनकी भन्दै समाज अराजक ढंगले अघि बढेको बताए ।

कार्यक्रममा प्रमुख प्रतीपक्षी कांग्रेस, राप्रपा र सरकारकै मन्त्री राजीव गुरुङ (दीपक मनाङे) समेत अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->