बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

पोखरा/ पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३ सय ११ बालबालिकालाई घरमै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार उक्त घोषणा गरेका हुन ।
स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९ सय १३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् ।

यस क्रममा खोपको कुनै पनि मात्रा प्राप्त नगरेका ४ जना र १ सय ३२ जना आंशिक खोप प्राप्त गरेका बालबालिकाहरू समेत नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेश गरी पूर्ण खोप प्रदान गरिएको छ । पोखरा महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु अघि ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो । ८ सय ९० जना स्वास्थ्यकर्मी र ६ सय ५२ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई घरधुरी सर्वेक्षण देखी खोप लगाउने कार्यसम्म परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

घोषणा सभामा नगरप्रमुख आचार्यले बालबालिकाहरूको स्वास्थ्यका लागि खोप आवश्यक रहेको तथ्यलाई मनन गर्न जरुरी रहेको बताए । ‘आफ्ना बालबालिकालाई लगाउनु पर्ने सबै प्रकारका खोपहरू नियमित लगाउने विषयमा सबै जनाकार हुन जरुरी छ,’ आचार्यले भने, ‘खोप केवल औपचारिकता मात्र नभई यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको विषय हो ।’ खोपले बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्ती प्रदान गर्ने र भविष्यमा आउन सक्ने स्वास्थ्य जटिलताबाट जोगाउने उनले बताए ।

पोखरा महानगरपालिका बालबालिकाहरूलाई आवश्यक सबै खोपहरू प्रदान गर्ने कार्यमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।  एक जना बालबालिकालाई १३ प्रकारका खोपहरू प्रदान गर्दा ६० हजार बराबर लगानी हुने गरेको उल्लेख गर्दै उनले यसको महत्वलाई बुझ्न आवश्यक रहेको बताए । उनले खोप लगाउन छुटेका बालबालिकाहरूलाई पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयमसेविकाहरुलाई प्रति बच्चा २ हजार पुरस्कार दिने घोषणा समेत गरे । खोप अभियानका क्रममा अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्‍याएका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको समस्या प्रति आफू जानकार रहेको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पूर्वाधार जत्तिकै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास पनि वास्तविक विकास हुने भन्दै विकास प्रतिको दृष्टिकोणमा व्यापकता आवश्यक रहेको बताए । मानव स्वास्थ्य र संसाधन दुवै सामाजिक विकासका आधार स्तम्भहरू भएको उनको भनाई थियो । सरकारका विभिन्न आवधिक योजनाहरूमा यसलाई महत्वका साथ उल्लेख गरेको पाइए पनि स्रोत र साधनको अभावमा कार्यान्वयनको पाटो कमजोर देखिएको उनले जनाए ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पुर्णखोप सुनिश्चितता स्वास्थ्य सम्बन्धी बालबालिकाहरूको संवैधानिक अधिकारको प्रत्याभूति भएको उल्लेख गरे । महानगरका सबै बालबालिकाहरूलाई खोप प्रदान गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउँदै उनले यसका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए। ।

पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले बालबालिकाहरूलाई खोप लगाउने अभियानमा हातेमालो गर्न आह्वान गरे । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सीना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बाल स्वास्थ्य र खोपको प्रभावकारिताका विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->