पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २९ गते मंगलबार ल्याउने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्ने भन्दै पत्र पठाएका छन । सोमबार विश्वासको मत लिदै गरेका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने पक्का भएजसरी नीति तथा कार्यक्रम ल्याउन लागेका हुन ।
अहिले मुख्यमन्त्री पाण्डेको साथमा कांग्रेसका २७ सांसद मात्र छन । राप्रपाका २ र स्वतन्त्र सांसद १ जनाले समर्थन गर्ने देखिन्छ । यसले ३० जना पुग्छ । विश्वासको मत पाउन ३१ जना आवस्यक पर्नेमा एकजनाको भने सकस छ । माओवादीको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेमात्र पाण्डेलाई बहुमत पुग्छ । धेरैले देवकोटाले फ्लोर क्रस गर्ने आकलन पनि गरेका छन । यसले पनि विश्वासको मत पाउने पक्का भएकाले पाण्डेले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको अनुमान गरिएको छ । प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।





