पोखरा/ ढुंगा, गिटी, बालुवा तथा नदी र खानीजन्य पदार्थको अनुगमन समिति कास्कीले ३ महिना नदी र खानीजन्य पदार्थको उत्खनन् बन्द गर्ने निर्णय गरेको छ । समितिको बुधवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
ढुंगा, गिटी, बालुवा तथा नदी र खानीजन्य पदार्थको संचालन मापदण्ड २०७७ ले ब्यबस्था गरे अनुसार असार, साउन र भदै महिनामा यस्ता पदार्थको उत्खनन्मा रोक लगाइएको अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए । पौडेलले बिकास निर्माणका काममा बाधा नपुग्ने गरी बिद्यमान कानुन र मापदण्डको पालना गर्नुको बिकल्प नरहेको भन्दै कडाईसाथ निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गरे ।
दर्ता नगरी अबैधरूपले मापदण्डविपरीत संचालित क्रशर उद्योगहरूका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेकाले त्यस्ता उद्योगलाई समेत तत्काल बन्द गर्न पौडेलले आग्रह गरे । उनले सबै पालिकाहरू मार्फत उद्योगहरूले जेठ मसान्तभित्र स्रोत खुलाएर स्टक प्रमाणीकरण गरेका सामाग्री यो अबधिमा बिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने बताए । नियमको पालना गर्ने सबालमा कोही पनि कुनै प्रकारको प्रभाब र दबाबमा नपर्न आग्रह गर्दै अबैध उत्खनन कार्य भएको पाइएमा तत्काल जिल्ला समन्वय, प्रशासन र प्रहरीलाई सूचना दिन पौडेलले आग्रह गरे । ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति कास्कीका उप– प्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देबिजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह– संयोजक भरतमणी पाण्डे, कास्की प्रहरी प्रमुख मोहनकुमार थापा, ससस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा, क्रशर ब्यबसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल, कास्कीस्थित पालिकाका प्रमुख कार्यकारी अधिकृतहरू, अनुगमन समितिका सदस्यहरू सहित विभिन्न सरोकारवाला ब्यक्तिहरू सहभागि थिए । उक्त अवसरमा उनीहरुले ढुंगा, गिटी, बालुवा, नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसार पसार, बिक्रीवितरण र उपभोगमा देखिएका समस्या, चुनौती र निराकरणका सम्बन्धमा धारणा राखेका थिए । अनुगमन समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।





