बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मनाङेको राजनीति : ६ पटक मन्त्री, तेश्रो वरियता

मनाङेको राजनीति : ६ पटक मन्त्री, तेश्रो वरियता

बार्गेनिङ राजनीतिबाट अगाडि बढेका मनाङे छैटौँपटक मन्त्री बनेसँगै गण्डकी मन्त्रिपरिषदमा तेश्रो वरियतामा अटाएका छन ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८१, बुधबार

पोखरा/‘तपाईहरु ३० सांसद पु¥याएर आउनुहोस, ३१ पु¥याउने जिम्मा मेरो ।’ चाहे कांग्रेस राप्रपा गठबन्धन होस् वा एमाले माओवादी गठबन्धन । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले दुवै गठबन्धनलाई दिने तयारी जवाफ हो यो ।
त्यसकारण दुवै गठबन्धन ३० पु¥याउने राजनीतिमा लाग्छन्, मनाङे चाहिँ ३१ पु¥याएर मन्त्री बन्ने पोलिटिक्समा लाग्छन् ।
गण्डकीमा सबैभन्दा धेरैपटक मन्त्री बन्ने कीर्तिमान पनि उनै मनाङेको नाममा छ । बुधबार छैटौँपटक मन्त्री बन्दैगर्दा एउटा संयोग पनि परेको छ । हिजैका मितिमा अर्थात तीन वर्षअघिको जेठ २९ गते मनाङे तेश्रोपटक मन्त्री बन्न पुगेका थिए । कृष्णचन्द्र नेपाली पोखरेल सरकारभन्दा अगाडि उनी पृथ्वीसुब्बा गुरुङ सरकारमा त्यसअगाडि नै २ पटक मन्त्री बनेका थिए ।
बार्गेनिङ राजनीतिबाट अगाडि बढेका मनाङे छैटौँपटक मन्त्री बनेसँगै गण्डकी मन्त्रिपरिषदमा तेश्रो वरियतामा अटाएका छन । गण्डकीको अप्ठ्यारो गणितीय खेलमा मनाङेले विस्तारै आफूलाई शक्तिशाली बनाउँदै लगेका छन । अन्यथा कुनैबेला न्यून बजेट रहेको युवा तथा खेलकुद मन्त्रालय सम्हालेका मनाङेले प्रदेशसभाको दोश्रो कार्यकालमा भने सुरुवात देखि नै अर्बौँ बजेटको भौतिक पूर्वाधार मन्त्रालयका हक जमाएका छन् र पाएका पनि छन् ।
उनले सरकार जोगाउने विषयमा त्यतिबेला मात्र बोल्छन्, जतिबेला उनी मन्त्री बन्ने कन्फर्म हुन्छ ।छैटौँपटक मन्त्री बनिसकेका मनाङले सपथग्रहण पछि मन्त्रालयमा पदबहाली गरे र निर्धक्क भने, ‘यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ ।’उनी व्यवस्था जोगाउनकै लागि कित्ता बदली गरेका हुन् वा मन्त्री बन्नको लागि, त्यो त उनले नै जानुन । तर, पछिल्लो समयमा मध्यवाधि निर्वाचन खर्चिलो हुने र व्यवस्था जोगाउनुपर्ने तर्कमा उनले जोड दिइरहेका छन ।
‘…त्यसपछि झन् मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि मैले छोडेको हुँ । लामो राजनीति गर्नु भन्दा यही कार्यकाल राम्रो राजनीति गरौँ भन्ने लाग्यो । राम्रोसँग काम गरे आफ्नो जिल्ला त बनिहाल्छ । एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौँ नि । हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र ?,’ उनको भनाई थियो ।
पुराना योजनाको करोडौँ दायित्व, समयमा भुक्तानी नपाउने, ठेकेदारले काम नगरेका लगायतका प्राविधिक कामहरु कार्यान्वयन गर्ने र प्रदेशको सबैभन्दा ठुलो बजेट चलाउने मन्त्रालयमा उनको कार्यसम्पादन कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । तर, मन्त्रालयको समस्याबारे आफू जानकार रहेको दाबी चाहिँ मनाङेको छ । पाँचौपटक मन्त्री बन्दा उनले भनेका थिए, ‘मन्त्रालय जुनै भएपनि केही फरक पर्दैन । यो मन्त्रालयमा बजेट एकदमै धेरै छ, तर एकदमै बदनाम मन्त्रालय छ । ठेकेदार भनेका बिजनेस म्यान हुन । बिजनेस म्यानलाई सबैभन्दा धेरै दुख दिने मन्त्रालय यही रहेछ ।’
उनले यतिमात्र भनेनन, आफू चलाख बनेको पनि खुलाए ।
‘अब म चलाख पनि भएको छु, कुनै पार्टीमा म नछिर्ने । मलाई स्वतन्त्र भएर जिताएका हुन् । पार्टीमा जाँदाबित्तिकै के थाहा भोलि केन्द्रमा केही होला, म त सेफ बसेको छु । हामीले बजेट लैजाने हो, जिल्लाको विकास गर्ने हो,’ उनले भने ।
छैटौँपटक मन्त्री बन्दैगर्दा मनाङे गण्डकीको राजनीतिमा यस्तो मोडमा छन कि, नचाहेर पनि उनलाई लिनुपर्ने बाध्यता छ ।सुरुमा मन्त्री बनाउँदा पृथ्वीसुब्बा गुरुङले जे गरेका थिए, खगराज अधिकारीले पनि त्यही गरेका हुन । कृष्णचन्द्र नेपाली पोखरेलले मनाङेलाई च्याप्दा सुरेन्द्रराज पाण्डेले नचाहेर पनि छुटाउन सक्ने अवस्था छैन ।
प्रदेशसभामा प्रवेश पाउनको लागि झेल्नुपरेको कानुनी झमेला देखि त्यो बिचमा उनले गरेका हातपात, भारतीय गाडी प्रयोगदेखि उनको असंसदीय बोलीले मनाङे जहिले चर्चामा रहे । चर्चाले उनी राजनीतिको केन्द्रमा रहिरहे, मन्त्री बनिरहे ।सुरेन्द्रराज पाण्डे सरकारमा पहिलोपटक चैत ५ गते चौथोपटक मन्त्री बनाउँदा मनाङेले भनेका थिए, ‘अब म ४ वर्ष पोलिटिक्स गर्छु ।’ उनले २० दिन पछाडि नै पोलिटिक्स गर्दै खगराज अधिकारी सरकारमा मन्त्री बने । जेठ १६ गतेसम्म मन्त्री रहेका मनाङे फेरि १४ दिनपछि नै सत्तामा फर्किएका छन । गण्डकीमा सबैभन्दा बढि र धेरैसमय मन्त्री बन्ने रेकर्ड उनको नाममा छ ।
२०७४ मा स्वतन्त्र निर्वाचित
२०७४ को निर्वाचनमा मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार ४१० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए । त्यतिबेला मनाङेलाई पृष्ठभूमिमा एमालेले सहयोग गरेको थियो ।
२०५०÷०५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै मनाङेले हप्ता एवं मासिक असुली गर्न थालेका थिए । धम्क्याउँदै पैसा असुल्दै आएका उनको आपराधिक यात्राको बाधक बने केही समय चक्रे मिलन । राप्रपामा खासै उपलब्धि नभएपछि उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे । २०६८ मा उक्त पार्टीमा प्रवेश गरेका उनी केही समय भूमिगतजस्तै बने ।
ठमेलमा रेस्टुरेन्ट व्यवसायीबाट सलामी (कमिसन) उठाउने मनाङे पटक–पटक पक्राउ पर्दै जेल परेर छुटेका अभियुक्त थिए । अकूत सम्पत्तिमा सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए ।
गुन्डागर्दीसँगै ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालकसमेत बने । राजनीति गरे अपराध छिपाउन सकिन्छ र प्रहरी चंगुलबाट बच्न सकिन्छ भन्ने अभिप्रायले नै उनी विभिन्न दलमा प्रवेश गरे ।२०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेका थिए । जेल बसेर छुटेका उनी त्यसपछि ०६५ साल फागुन र २०७० साल फागुनमा पक्राउ परे । सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका सीडीओले ६ महिना कैद सुनाएपछि पछि अदालतले एक वर्ष कैद सजाय सुनाएको थिए ।
उनी महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेका छन् । २०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका उनी २०७४ असोजमा एकाएक एमालेमा पुगे । तर एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्रबाट सांसद बनेका थिए ।
सांसद बनेपनि उनले तत्काल शपथ खान भने पाएनन् ।पुरानो मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । तर, लामो समय गोप्य राखिएको फैसला पाँच वर्षपछि २०७४ साल माघ २ गते सार्वजनिक भयो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।अन्ततः २०७५ वैशाख ६ गते उनी पक्राउ परे, जतिबेला उनी चुनाव जितर गण्डकी प्रदेश सभाको सांसद बनिसकेका थिए । उनलाई स्वयम्भूको तीनधारा क्षेत्रबाट पक्राउ गरिएको थियो । ०७५ साल पुस ५ गते सर्वोच्चको आदेशमा उनी रिहा भए ।
सर्वोच्चको आदेशमा पुसको पहिलो साता थुनामुक्त भएपछि प्रदेशसभा सचिवालयमा प्रतिनिधिमार्फत पुस ११ गते मनाङेले शपथग्रहणका लागि निवेदन दिएका थिए । १५ माघ ०७५ मा शपथ लिएपछि प्रदेशसभा सदस्य बनेका उनी गण्डकी सरकारको हेरफेरमा पनि तानातानमा परे ।
त्यही प्रकरणमा उनी पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २०७८ वैशाख १६ गते पहिलोपटक मन्त्री बने । तर, नेकपा विभाजनको फुटले एमाले माओवादी ब्युँतिए । नेकपा एकीकृत समाजवादी जन्मियो ।
केन्द्रको बाछिटा प्रदेशमा पनि आइप¥यो । तत्कालीन गुरुङ सरकार अल्पमतमा प¥यो । सरकार जोगिने आशमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुदमन्त्री बनाए । पृथ्वीसुब्बा ठूलो दलका हिसाबले दोस्रो पटक मुख्यमन्त्री बने र मनाङे पनि दोस्रो पटक खेलकुदमन्त्री ।
त्यतिबेलाको निर्णायक राष्ट्रिय जनमोर्चा टुंगोमा पुगेको थिएन । कतापट्टि लाग्ने टुंगो नभएका कारण मनाङे गुरुङकै सरकारमा अल्पमतको मन्त्री बनिरहे ।तर, जनमोर्चाले ओली सरकारको विपक्षमा बस्ने निर्णय ग¥यो । कांग्रेससहितको गठबन्धनको पक्षमा उभियो । त्यसपछि अल्पमतमा परेको सरकारसँग मनाङेपनि टाढिए ।
उनलाई त्यसपछि बनेको कांग्रेस माओवादी गठबन्धनले सहयोग माग्यो । मनाङेले त्यही भने, ‘तिमी ३० लिएर आऊ, ३१ म पु¥याइदिन्छु ।’ माओवादीले समर्थन फिर्ता लिँदा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार संकटमा पर्दा उनले मन्त्री बनाउनुपर्ने शर्त राखे ।
यो गठबन्धनलाई मनाङे नल्याउनुको धरै थिएन । अन्ततः २०७८ जेठ १९ गते कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकार बन्यो र तेस्रो पटक खेलकुदमन्त्री भए । प्रदेशसभाको पहिलो कार्यकालमा तीनपटक मन्त्री बन्ने रेकर्ड उनको नाममा रह्यो ।
फेरि निर्विरोध
अघिल्लो पटक एमालेको समर्थनमा चुनाव जितेका मनाङे मंसिरको चुनावमा निर्विरोध निर्वाचित भएर प्रदेशसभा छिरे । चुनाव जितेलगत्तै ५ दलीय गठबन्धनको सरकार बन्ने र फेरि मन्त्री बन्ने योजनाका साथ मनाङे १९ मंसिरमा नेकपा एकीकृत समाजवादी छिरे । तर, केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्री बन्न एमाले लगायतका दलसँग समीकरण गरेपछि गण्डकीममा खगराज अधिकारी २०७९ पुष २५ गते मुख्यमन्त्री बने ।
खगराज सरकारमै मन्त्री हुने योजनासहित केन्द्रमा जे गठबन्धन भए पनि गण्डकीमा ‘खगराज दाइ’लाई नै समर्थन गर्ने बताए र नियुक्तिमा समर्थन पनि गरे । तर, खगराजले मन्त्री नबनाउने देखेपछि विश्वासको मत भने दिनै गएनन् ।तर, १०५ दिनमा नै खगराज अधिकारीको सरकार ढल्यो । पुरानो कांग्रेससहितको गठबन्धन ब्युँतियो । मनाङे गण्डकीमा चौथो पटक मन्त्री बन्ने सम्भावना खोज्न थाले ।
उनी निर्विरोध निर्वाचित भएतापनि त्यतिबेलाको गठबन्धनमा आबद्ध दल एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । स्वार्थ चाहिँ मन्त्री बन्नु नै थियो । नेकपा एसले केन्द्रको गठबन्धनमा अर्थ राख्ने भएकाले गण्डकीमा मनाङेलाई मन्त्री बनाउन दबाब पनि दिए ।कांग्रेस माओवादीको सहज बहुमत पुगेको हुँदा २०८० वैशाख १४ गते मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले विवादित छविका मनाङेलाई इग्नोर गरिदिए । स्वयं माधवकुमार नेपालले नै भन्दापछि पाण्डेले मानेनन ।
तर, मन्त्री बन्नको लागि मनाङेसँग एक भोट थियो । केन्द्रमा फागुन २१ गतेपछि राजनीतिक उपक्रम फेरिएपछि त्यतिबेला इग्नोर गरेका सुरेन्द्रराज पाण्डेले मनाङेलाई आफ्नो पक्षमा ल्याउन वार्ता गरे, मन्त्री बनाउन तयार भए ।अन्ततः चैत ५ गते भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको रुपमा गण्डकी सरकारमा चौथोपटक मन्त्री बने । पाण्डेको नेतृत्वमा उनी जम्मा २० दिन मात्र मन्त्री बने । सुरेन्द्रराज पाण्डेले अल्पमतमा पर्ने देखेपछि उनले स्वभाविक रुपमा यसअगाडि झैँ कित्ता बदले ।
त्यही बदलिएको कित्ताका कारण चैत २५ मा उनी पाँचौपटक मन्त्री बने । त्यसको दुई महिनामा नै उनी फेरि सुरेन्द्रराज पाण्डे सरकारमा मन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->