पोखरा/देशमा मनसुन भित्रिए पनि बुधबार बिहानैदेखि पोखरा तातेको थियो । एकतमासको घाम लागेपछि गर्मी अस्वभाविक पनि भएन । जेठको टन्टलापुर घाममा कोही किन सेकियोस् ! सकेसम्म छहारी नै रोज्ने हो तर जिल्ला प्रहरी कार्यालय कास्कीको ढोकैमा उभिएका केही मान्छेहरुलाई भने त्यसको पर्वाह थिएन । पसिना पुच्छ्दै,सुकेको घाँटी पानीले भिजाउँदै उनीहरु भित्र–बाहिर गर्नेहरुको अनुहार पढ्दै थिए । लाग्थ्यो, उनीहरु कसैबाट केहीको आशा गर्दैछन् । हुन पनि त्यस्तै रहेछ । उनीहरु सूर्यदर्शन सहकारी पीडितहरु रहेछन् ।
सर्वोच्च अदालतले जेठ २० गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा परेको जाहेरी झिकाउन दिएको आदेशको प्रतिउत्तरमा कास्की प्रहरीले उक्त आदेशमा उल्लेख भएको दर्ता नम्बरको जाहेरी दरखास्त आफ्नो दर्ता किताबमा नदेखिएको र उक्त दर्ता कार्यालयमा नभएको जवाफ दिएपछि उनीहरुको ओठतालु सुकेको छ । उनीहरुमा अब लुटिएको रकम फिर्ता र न्याय पाइँदैन कि भन्ने चिन्ता थपिएको छ ।
प्रहरीले त्यस्तो प्रतिउत्तर पठाएसँगै बुधबार पीडितहरुले कास्कीका प्रहरी प्रमुख मोहन थापालाई भेटेर आफ्नो कुरा सुनाउने र बुझाउने जमर्को गरे । उनीहरुले तत्काल समय पाएनन् । ४ बजेमात्र एसपी आउने जानकारीपछि उनीहरु गेटकै वरपर छिरल्लिए । आफूले खाइनखाइ जम्मा गरेको पैसा बोकेर संचालकहरु कुलेलाम ठोकेपछि मनमा पीर त हुनै नै भयो ! अझ ठूलो पीर त आफूले दिएको उजुरी नै हैन भनेपछि पो परेको थियो त !
त्यही समूहमा रहेकी लक्ष्मी कँडेल भन्दै थिइन्,‘ रवि लामिछानेज्यूले हामीले ५०÷१०० गरेर जम्मा गरेको एक करोड लैजानु भएको छ । खाएकै छैन भने यो प्रमाण छैन किन भन्नुप¥यो । एउटा दुःखी पीडितलाई न्याय दिन सक्नुहुन्न भने, किन छानबिन हुँदैन । किन उहाँले जीबी राईलाई किन ल्याउन सक्नुभएन, आफ्नो गल्ति छैन भने भोलिपल्टै ल्याउनुहुन्थ्यो ।
मेरो छोराको अप्रेसन गर्न दिनको सय रुपैयाँ राखेको छु, म त्यो कागज पनि देखाइदिन्छु । यस्तो दुःखी पीडितको पैसा यत्तिकै खान पाइँदैन । हामी सहकारी पीडिट सधैँ सडकमा हिँड्न सक्दैनौँ, सुन काण्डको पछि छानबिन होस् तर सहकारी पीडितलाई न्याय दिनुप¥यो । म बोल्न नजानि–नजानि पनि भन्छु ।गृहमन्त्रीले कुनै पुलिस प्रशासनलाई सरुवा गरेको छैन भन्नुभएको छ तर हामीले यहाँका मोहन सर ( एसपी) लाई पनि सरुवा गर्न लागेको थाहा पाएका छौँ । हल्ला सुनेको छ ।’
त्यही भीडमा रहेका अर्का एक पीडितले प्रधानमन्त्रीको जेठ २३ गते भएको पोखरा भ्रमणको क्रममा आफूसहित बुढाबुढीमाथि आक्रमण गरेर ज्यादति गरेको गुनासो सुनाए ।
‘प्रहरीले ८० वर्षीय बुढाको सेन्सेटिभ भागमा लाठी हान्नुभएछ । उहाँ अहिले पनि अस्पतालमा हुनुहुन्छ, त्यस्ता बुढामाथि कसरी बल प्रयोग गर्नुपर्छ भन्ने प्रहरीलाई थाहा हुँदैन ? हाम्रा बिरामी निको हुनुभएको छैन, तलमाथि भयो भने प्रहरीले जिम्मा लिनुपर्छ,’ ती पीडित भन्दै थिए,‘ सूर्यदर्शन सहकारीकाले यसरी उजुरी दिनुभा’छ, पूरक निवेदन पनि दिनुभएको छ, हामी अनुसन्धान गर्दैछौँ भनेको भए के बिग्रन्थ्यो र कागजमा लेखेको भएन, तामाको पातामा लेखेर ल्या भन्नुहुन्छ भने पनि हामी ल्याउँछौँ ।’
सर्वोच्च अदालतले आदेशमा ‘जिल्ला प्रहरी कार्यालय कास्कीमा २०८० माघ २२ गते पेस गरेको ठगीसम्बन्धी कसुरको जाहेरी दरखास्त दर्ता नम्बर ०८०–८१–०४२६–१२९ को प्रमाणित प्रतिलिपि’ झिकाउने आदेश गरेको थियो । जिल्ला प्रहरी कार्यालयले त्यो जाहेरी नभएको लेखी पठायो । सूयदर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठका अनुसार सहकारी पीडितहरुले २०८० साल साउनमा १ हजार ३५ जनाको जाहेरीसहित सूर्यदर्शन सहकारीविरुद्ध उजुरी दर्ता गराएका थिए । जिल्ला प्रहरी कार्यालयमा जाहेर भएको सो जाहेरीको दर्ता नम्बर ९८० ‘सी’ वान नम्बर दिइएको थियो । प्रहरीले सो जाहेरी लिएपछि आउने सबै उजुरीहरु त्यही दर्ता नम्बरमा नै जोडिने बताएको थियो । सुरुको उजुरीमा गृहमन्त्री रविको नाम थिएन । तर, पछि पीडितहरुले २०८० माघ २२ मा ४ जना मान्छे र १४ वटा कम्पनीविरुद्ध किटानीसहित पूरक जाहेरी बुझाए । प्रहरीले बढो अफ्ठेरो गरी सो जाहेरी बुझेको पनि श्रेष्ठको भनाइ छ ।

उनले सर्वोच्चले जाहेरी माग्दा किटान गरिएको नम्बर गलत परेको र प्रहरीले पनि सोही अनुसार आफूसँग त्यस्तो दर्ता नभएको उत्तर पठाएपछि अन्यौल सिर्जना भएको बताउँदै सुरुको दर्तामा उल्लेखित नम्बरलाई आधार बनाएर पूरक जाहेरीसम्मका प्रतिलिपी मगाउनुपर्नेमा पनि जोड दिए ।
हामीले जाहेरी बुझाएकै हो । सर्वोच्चबाट मागेको दर्ता नम्बर गलत नै हो । तर, त्यो जाहेरी कतै परेको छैन भनेर आइजीपीले राज्य व्यवस्था तथा सुशासन समितिको कार्यालयमा, प्रधानमन्त्रीले संसदमा र महान्याधिवक्ताले क्लिन चिट दिँदा पनि चुप लागेर बसेका थियौँ, अस्ति २८ गते सर्वोच्चमा महान्याधिवक्ताले दिएको क्लिन चिटविरुद्ध परेको मुद्दाको पेसी थियो । जिल्ला प्रहरी कार्यालयले के पठाउँछ भनेर हेर्न मन थियो र गएका थियौँ । हामीले प्रहरीसँग पनि कस्तो उत्तर पठाउँदै हुनुहुन्छ भनेर जानकारी मागेका थियौँ,’श्रेष्ठले भने,‘तर, उताबाट आएको पत्रलाई नै आधार बनाएर उत्तर पठाइयो । पूरक जाहेरीमा गृहमन्त्रीज्यूको नाम छ । छानबिन हुँदैमा उहाँलाई हत्कडी लाग्ने त हैन होला, दर्ता भएको जानकारी त त्यहाँ पुग्नुप¥यो नि ।’
२५ जना पीडितले हस्ताक्षर र ल्याप्चे लगाइ पेश गरेको पूरक निवेदनको एक नम्बरमा नै रविको नाम उल्लेख छ । सहकारी ऐन र ठगीसम्बन्धी कानूनमा टेकेर दिइएको निवेदनको कसूर गर्ने व्यक्तिको नाम, थर ठेगाना भन्ने शीर्षकमा स्थायी ठेगाना काठमाडौं जिल्ला कामनपा वडा नम्बर ६, वर्ष ४८ को रवि लामिछाने ( गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक,सूर्यदर्शन सहकारीमा खाता नम्बर १०३९०००६६७५७ भएको ) भन्ने किटानी गरिएको छ । यस्तै उनीसँगै पूर्वसंचालक समिति अध्यक्ष ज्ञानबहादुर बमजन, खाता नम्बर ११६–०००३०७१ भएका नेत्रपाणि बास्तोला,नन्दकिशोर पुनका छोरा दीपेश पुन (खाता नम्बर ११६–०००३०७१) विरुद्ध पनि त्यहाँको रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिइएको छ ।
पीडित बचतकर्ताले गोर्खा मिडिया प्रालि काठमाडौं, नेचर हर्व प्रालि काठमाण्डौ, नेचर नेष्ट प्रालि काठमाडांै, वारीसान ईन्फओमेसन टेक्नोलोजी काठमाडौं, स्प्रङउड रियल स्टेट एण्ड हाउजिङ प्रालि काठमाडौं, चोनी क्यापीटल प्रालि काठमाडौ, चेनी क्यापिटल प्रालि काठमाडौं, ग्रीजी स्पुन प्रालि काठमाडौं, गोर्खा ग्रुप इन्भेष्टमेन्ट प्रालि काठमाडांै, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, न्यूरोड काठमाडौं,सानो पाइला बचत तथा ऋण सहकारी वीरगंज, साहारा बहुउदेश्यीय सहकारी चितवन, सुप्रीम बचत तथा ऋण सहकारी बुटवल, जिनी ग्रुप अफ कम्पनी प्रालि काठमाडौं, गोर्खा आयुर्वेदिक प्रालि काठमाडांैविरुद्ध पनि किटानी जाहेरी दिएका छन् ।
संघर्ष समितिका संयोजक श्रेष्ठका अनुसार साँझ भेट हुँदा चाहिँ कास्कीका प्रहरी प्रमुखले सर्वोच्चबाट जस्तो पत्र आयो ,त्यस्तै उत्तर पठाएको र मिति हेरेर साध्य नलाग्ने भएकाले त्यसो गरिएको तथा फेरि माग भएमा सोही अनुसारको उत्तर पठाउने बताएका छन् ।





