पोखरा/दलितमाथि पछिल्लो समय विभेदभन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् । कुनैबेला छोइछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्नेसम्मको क्रियाकलाप गर्न थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरुले दलितहरुले आफ्नो न्यायको लडाइँ एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताए । उनले दलितको समस्या पुरै देशको समस्या भएकोले दलितसँगै गैरदलितहरुले पनि यो मुद्दालाई उत्तिकै संवेदनशील हिसाबले लिनुपर्नेमा जोड दिए ।
त्यस्तै कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताइन् ।
दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरु पार्टी कार्यकर्ता र नेताभन्दा माथि उठेर समुदायको लागि लड्नुपर्ने बेला आएको बताए । उनले आफ्नो लागि आफैंले लडाईं नलड्दा सम्म दलित समुदायले मुक्ति पाउन नसक्ने ठहर गर्दै हालसम्म भएका राजनीतिक आन्दोलन र युद्धहरुले दलितलाई मुक्ति दिने नाममा उपयोग मात्रै गरेको जिकिर गरे ।





